काठमाडौं, १३ कात्तिक । नीजि क्षेत्रले राजनीतिक दलको घोषणापत्रमा व्यक्त भएका प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्न कठिनाई हुने गरेको बताएका छन् ।
मिडिया इन्टरनेसनलले आज (बुधबार) काठमाडौंमा आयोजना गरिएको अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले दलहरुले अघि सारेका घोषणापत्र जतिसुकै सुन्दर भएपनि कार्यान्वयनमा समस्या रहेको बताए ।
उनले घोषणापत्र अर्थमूखि बनाउन दलहरु सक्षम भएपनि कार्यान्वयनको तहमा उतार्न पछि पर्दै आएको बताए ।
‘दलहरुले घोषणापत्रलाई भोट लिने माध्यम मात्रै बनाउन हुँदैन,’ उनले भने, ‘घोषणापत्रमा समवेश भएका कुराहरुलाई कार्यान्वयन गर्न सके देशको आर्थिक विकास सम्भव छ ।’
होटल संघ नेपालका कानूनी सल्लाहकार गान्धी पण्डितले दलहरु चुनावी मिति नजिकिँदा मात्रै विकासका कुरा गर्ने र अन्य समयमा सुस्ताउने परम्परा रहेको बताए । सोही कारण मुलुकको आर्थिक विकास हुन नसकेको उनले बताए ।
उनले निर्यातजन्य बस्तु उत्पादनका लागि राज्यले लगानीको वातावरण बनाउन नसकेको बताए ।
‘चुनाव आएपछि पूराना घोषणापत्रलाई नयाँ बनाउने गरेको मात्रै हो,’ उनले भने, ‘दलहरुले समय अवधिमा गरिएका कामको विवरण अहिले सम्म पनि दिन सकेका छैनन् ।’ (फाईल तस्विर)
प्रतिक्रिया