काठमाडौंमा ५ हजार कर्मचारी

काठमाडौं, ११ कात्तिक । संविधानसभाको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तीन सय ११ मतदानस्थल र सात सय ४२ केन्द्र निर्धारण गरेको छ । ती मतदानस्थलअन्तर्गतका केन्द्रमा दुई लाख ५९ हजार तीन सय ५२ महिला, दुई लाख ७२ हजार सात सय ३६ पुरुष र १४ जना तेस्रोलिंगी मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृत अच्युत बिष्टले निर्वाचनमा खटिने कर्मचारीले आफूलाई घर पायक पर्ने मतदानस्थलमा खटाउन आग्रह गरिराखेको जानकारी दिए । उनका अनुसार ती मतदान केन्द्रका लागि करिब पाँच हजार कर्मचारी आवश्यक पर्ने र ती कर्मचारीको छनोट कार्य सुरु भइसकेको छ । खटिने कर्मचारीका लागि तालिम कार्य सुरु हुन लागेको समेत जानकारी दिए । यसैगरी, कार्यालयले ती मतदानस्थलका भौतिक अवस्थाका बारेमा निरीक्षणको कार्य सुरु गर्न लागेको उनले बताए । अर्काेतर्फ निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता पालना गर्न यहाँका उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ ।
विभिन्न दल तथा स्वतन्त्र गरी यहाँ ती सय ६७ जना उम्मेदवार चुनावी मैदानमा छन् । कार्यालयले काठमाडौं क्षेत्र नं १ का एकीकृत नेकपा (माओवादी)का उम्मेदवार रेणु दाहालको नयाँ बानेश्वरमा राखिएको ब्यानर निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै उहाँलाई नै हटाउन लगाएको छ ।

प्रतिक्रिया