चुराबाट बनाइएका चराको प्रर्दशनी शुरु

काठमाडौँ, ११ कात्तिक । कलाकार कल्याणी राजोपाध्यायद्वारा सिर्जित ‘चराजाति’ एकल हस्तकला प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)मा आइतवार बाट शुरु भएको छ ।

पाँचदिने सो प्रदर्शनीमा नेपालमा पाइने डाँफे, मुनाल, मयुर, कालिज, बकुल्ला, ढुकुर, माटोकोरे, काँडेभ्याकुर (नेपालमा मात्र पाइने चरा) लगायत ३१ थान कला राखिएका छन् जुन चुराबाट बनाइएका हुन् । तिनको मूल्य रु एक हजार पाँच सयदेखि रु २० हजारसम्म पर्छ । नाफाका कुलपति किरण मानन्धरले प्रदर्शनी उद्घाटन गर्दै चुराबाट बनेको हस्तकला विश्वमै नमुना कला भएको बताए । उनले भने “कलाकारले हस्तकलाको अत्यन्तै उत्कृष्ट कला सिर्जना गर्नुभएको छ, यो जोखिमपूर्ण काम पनि हो, उहाँको योगदानलाई सबैले सम्मान गर्नुपर्छ ।” कलाकार राजोपाध्यायले नेपालमा पाइने कतिपय चरा लोप हुने अवस्थामा पुगिसकेकाले यसको संरक्षणका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । यसैबीच नाफा, लोककला विभाग तथा सामाजिक अध्यययन अनुसन्धान परिषद् (सोरेक)द्वारा संयुक्त रूपमा आयोजना गरिएको महिला हिंसाविरुद्वको चित्रकला कार्यशाला –२०७० सम्पन्न भएको छ ।
उक्त कार्यशालामा २५ महिला कलाकारले चित्रकलाको माध्यमबाट महिला हिंसाविरुद्ध आफ्नो भावना क्यानभासमा उतारेका थिए । नाफा लोककला विभाग प्रमुख प्राज्ञ शारदा चित्रकारले सो कार्यशालामा सिर्जित कलाकृतिमध्येबाट उत्कृष्ट सहभागी कलाकारलाई आफ्नातर्फबाट पुरस्कृत गर्ने जानकारी दिनुभयो । कार्यशालामा सिर्जित कलाकृतिको प्रदर्शनी कात्तिकको अन्तिम हप्तामा हुने बताइएको छ ।

प्रतिक्रिया