काठमाडौं, १० कात्तिक । नेकपा– माओवादी र एमाओवादीबीचको द्वन्द्वका कारण ४ मंसिरको संविधानसभाको निर्वाचन प्रभावित हुने खतरा बढ्दै गएको छ । नेकपा–माओवादीले ठाउँ–ठाउँमा एमाओवादीविरुद्ध आक्रमण र अवरोध जारी राखेको छ । विभिन्न स्थानमा नेकपा–माओवादीले एमाओवादीका कार्यकर्तामाथी सांघातिक आक्रमण जारी राखेका छन् । नेकपा–माओवादीले घोषित रूपमा नै एमाओवादीको चुनावी अभियान प्रभावित बनाउन गतिविधि जारी राखेको छ ।
एमाओवादीले आफ्नो चुनावी अभियान प्रभावित हुँदै गएपछि नेकपा–माओवादीविरुद्ध प्रतिकार गर्ने तयारी गरेको छ । यसै क्रममा एकीकृत नेकपा माओवादीले नेकपा–माओवादीद्वारा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण तथा अवरोध जारी राखिए प्रतिकार गर्ने चेतावनी दिएको छ । नेकपा–माओवादीको गतिविधि र कांग्रेस–एमालेको व्यवहारले एमाओवादीप्रति नियोजित आक्रमण भइरहेको भन्दै उसले प्रतिकार गर्ने चेतावनी दिएको हो । ‘एक दुई ठाउँमा अराजक गतिविधि गरेर जनता तर्साउन वैद्यहरूले खोज्नु भएको देखिन्छ’ एमाओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘कसैले चुनाव नै बिथोल्न खोजे जनता चुप लागेर बस्ने छैनन् ।’ एमाओवादीले शुक्रबार पनि आफूमाथि जाइलाग्नेलाई डटेर प्रतिकार गर्न निर्देशन दिएको थियो । प्रवक्ता सापकोटाले चुनावको मुखमा सरकारको सुरक्षा व्यवस्थामा कमजोरी देखिएको आरोपसमेत लगाएका छन् । उनले अहिले सुरक्षा व्यवस्थापनमा धेरै कमजोरी देखिएको भन्दै सुरक्षा व्यवस्था सुधार गरेर सुरक्षाको प्रत्याभूति दिन सरकारसँग मागसमेत गरेका छन् । यता, एमाओवादीको भातृ युवा संगठन वाइसिएलले पनि आफ्नो पार्टीलाई लक्षित गरेर चुनाव विरोधी गतिविधि तथा सांघातिक हमाला गरेको भन्दै आपत्ति जनाएको छ ।
वाइसिएल कार्यवहाक अध्यक्ष आरसीद्वारा जारी विज्ञप्तिमा एमाओवादीमाथिको आक्रमणले यथास्थितिवाद र प्रतिक्रियावादकै सेवा गर्ने भएको भन्दै त्यस्तो कार्य गरेर जनआक्रोशको सिकार नबन्न चेतावनी दिएको छ । तर, चुनावको विरोध गरिरहेको नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य किरणले भने आफ्नो पार्टीलाई सेना प्रहरीसँग लड्छ, हतियार खोस्छ भनेर बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष वैद्यले आफूहरू साम्राज्यवाद र विस्तारवादका भरौटेहरूको सामु कुनै हालतमा नझुक्ने चेतावनीसमेत दिए । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि आन्दोलन केन्द्रित हुनु स्वभाविक आक्रोश भएको टिप्पणी पनि गरेका छन् । अरूभन्दा अध्यक्ष दाहाल नै नेकपा–माओवादीका विरुद्धमा बढी केन्द्रित भएकाले आन्दोलन पनि अलि बढी उनी केन्द्रित भएको उनको दाबी छ । आफ्नो आन्दोलन राजनीतिक आन्दोलन भएको दाबी गर्दै अध्यक्ष वैद्यले अहिलेको निर्वाचन सक्रिय र सशक्त बहिष्कार गर्नुको विकल्प नभएको जनाए । ‘हाम्रो आन्दोलन राजनीतिक आन्दोलन हो, हामी सेना वा पुलिससँग लड्ने छैनौँ, पार्टीले कुनै सुरक्षाकर्मीको हतियार पनि खोस्दैन’ राजधानी शनिबार आयोजित एक कार्यक्रममा उनले भने, ‘तर नेपाललाई सिक्किमीकरण बनाउन नदिन भने जे गर्न पनि पछि हट्ने छैनौँ ।’
रगतको मूल्य जनताको संविधानमा अभिव्यक्त हुन नसकेको दाबी गर्दै अध्यक्ष वैद्यले गोलमेचसभा र संविधानको अन्तरवस्तुको विषयमा छलफल गर्न पनि नदिइएकाले आफूहरूले मात्र नभई आम जनता पनि यो निर्वाचनको विपक्षमा रहेको बताए । ३३ दलीय मोर्चाको कार्यदल संयोजकसमेत रहेका माओवादी सचिव देव गुरुङले राष्ट्रिय राजनीतिक पार्टीहरूले समय छदै विचार नगरे रामराम भन्ने अवस्था आउने चेतावनी दिए । लेन्डुप दोर्जे चयन गर्ने प्रक्रिया देशभक्त नेपालीहरूले स्वीकार्न नसक्ने भन्दै घोषित निर्वाचन सशक्त बहिष्कार गरेरै छाड्ने उनले जनाए । नेपाल र नेपाली जनताको आवश्यकता भन्दा बाह्य शक्ति केन्द्रको आवश्यकतामा निर्वाचन, नीति र नेतृत्व छनौट हुँदै छ सचिव गुरुङले भने यस्तो प्रक्रियाबाट चुनिएको नेतृत्वबाट संविधान बने पनि नेपालको लागि औचित्यपूर्ण छैन ।
४ मंसिर को निर्वाचन उम्मेदवार सुरक्षाका कारण मात्र होइन पक्ष र विपक्षको भिडन्तका कारण पनि प्रभावित हुने हो कि भन्ने खतरा पैदा भएको छ । नेकपा एमाले गोरखाका कार्यकर्ताहरूले उचित सुरक्षा दिन नसके चुनावमा सहभागी हुन नसक्ने बताइसकेका छन् । देशभरी मुढभेडका घटना बढ्दै गएको बेला सरकारका एक जना मन्त्रीले चुनाव बिथोल्न खोज्नेविरुद्ध प्रतिकारमा उत्रन जनतासँग आग्रह गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले यस्तो धारणा व्यक्त गरेका हुन् । निर्वाचन अभियानमा उचित सुरक्षा दिनुको सट्टा मन्त्री जस्तो जिम्मेवार व्यक्तिले प्रतिकारको भाषा बोल्दा अवस्था थपजटिल बन्न सक्ने खतरा बढ्दै गएको छ ।
प्रतिक्रिया