ब्लड बैंकमा रगत अभाव

Read-Crossकाठमाडौं, १० कात्तिक । चाडबाडको समयमा रगत अभाव हुन थालेपछि ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले आफ्ना स्वयंसेवी रक्तदातालाई रगत दान गर्न आह्वान गरेको छ । दसैँ, तिहार, इद, नेपाल सम्वत् तथा छठ पर्वका समयमा बिरामीले खोजेको समयमा ब्लड बैंक (रक्त सञ्चार केन्द्र) मा समेत रगत अभाव हुन थालेको भन्दै एसोसिएसनले आफ्ना स्वयंसेवी रक्तदातालाई रगत दान गर्न आह्वान गरेको हो । एसोसिएसनअन्तर्गत करिब चार हजारभन्दा बढी स्वयंसेवी रक्तदाता आबद्ध छन् । उपत्यकाभित्र चाडबाडको समयमा बर्सेनि रगत अभाव हुने एसोसिएसनले जनाएको छ । मंसिर ४ मा हुन लागिरहेको संविधानसभा निर्वाचनको दिन नजिकिँदै गर्दा झन् रगत अभाव देखिएको एसोसिएसनद्वारा शनिबार आयोजित कार्यक्रममा जानकारी गराइयो । चाडबाडका बेला रक्तदानका कार्यक्रम कम हुने र भइहालेका रक्त संकलन कार्यक्रमबाट अति कम रगत संकलन हुने गरेको एसोसिएसनले जनाएको छ । दसैँ, इद, तिहार, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदान गर्न बैंकपरिसर प्रदर्शनीमार्गमा शनिबार आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष महेन्द्रविलास जोशीले बिरामीलाई चाहिएको अवस्थामा रगत अभाव हुन नदिन र रक्तदान गर्न आफ्ना स्वयंसेवीलाई आह्वान गरे । चाडबाडअगाडि दैनिक आठ सय युनिटसम्म रगत माग हुने भए पनि ब्लड बैंकले शुक्रबार जम्मा ३३८ युनिट रगत मात्र वितरण गर्न सकेको थियो । शनिबार उपत्यकामा गणेशमानसिंह अध्ययन प्रतिष्ठान, भाटभटेनी व्यवस्थापन समिति, सत्यसाई केन्द्र, ललितपुर युवा समूह, नेपाल रेडक्रस सोसाइटी युवा सर्कल, जागृति मगर विकास समिति, लियो क्लब अफ काठमाडौं र लिटिलस्टेप नेपालजस्ता सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा एसोसिएसनको भ्रातृसंस्था फ्रेन्डस् अफ आरएच ग्रुपका अध्यक्ष जीवन बस्नेतले उपत्यकाभित्र पोजेटिभ तथा नेगेटिभ दुवै समूहका रगतको अभाव भएकाले बिरामीका आफन्तले भनेको समयमा रगत उपलब्ध गराउन सहयोग र सक्रियता देखाउन सबैसँग आग्रह गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ चाबहिलका अध्यक्ष अजय खनालले क्लबको सक्रियतामा ब्लड बैंक स्थापनाकार्य अघि बढिरहेको जानकारी गराएका थिए । उनकाअनुसार त्यसका लागि भारतको लायन्स क्लब अफ दिल्लीले ६० लाख र गैरआवासीय नेपाली संगठनले सहयोग गर्नेछ । कार्यक्रममा ब्लोदानले नेपालका पहिलो रक्तदाता दयावीरसिंह कंसाकारको सम्झनामा सालिक निर्माण गर्न अक्षयकोष स्थापना गर्न लागेको र त्यसका लागि आर्थिक संकलन भइराखेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया