निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन : सापकोटा

काठमाडौं, १० कात्तिक । एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताको भावना र चाहनाविपरीत गएर निर्वाचन बिथोल्ने अधिकार कोही–कसैलाई पनि नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित प्रवक्ता सञ्चारकर्मी भेटका अवसरमा उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले देशव्यापी रूपमा निर्वाचन अभियानविरुद्ध सञ्चालन गरेको गतिविधि गैरकानुनी भएको भन्दै त्यस्तो गतिविधि नगर्न र जनताको अधिकारलाई नछिन्न आग्रह गरे । एमाओवादीविरुद्ध केन्द्रित गरेर बन्द हडताल तथा उम्मेदवारमाथि कुटपिट गर्ने काम सर्वथा गलत भएको भन्दै उनले त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको प्रमुख दायित्व भएकोमा जोड दिए । निर्वाचनमा भाग लिने जनताको अधिकार भएजस्तै निर्वाचनको विपक्षमा रहेकालाई पनि बहिष्कार गर्ने अधिकार छ तर जनताको चाहना र भावनालाई बिथोल्ने अधिकार भने कसैलाई नभएको उनले बताए ।
मुलुक पूर्णरूपमा निर्वाचनको महा अभियानमा केन्द्रित भइसकेको भन्दै प्रवक्ता सापकोटाले अब कुनै पनि तागतले निर्वाचन रोक्न नसक्ने दावी गरे । आफ्नो पार्टीको पक्षमा मुलुकभर जनलहर सिर्जना भएको दाबी गर्दै उनले सोही लहरबाट अत्तालिएका शक्तिले एमाओवादीविरुद्ध गलत प्रचार गरेको आरोप पनि लगाए ।

प्रतिक्रिया