काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले धेरै बोल्ने भन्दा पनि काम गरेर जनतालाई देखाउनु पर्ने बताएका छन् ।
चितवन क्षेत्र नम्बर चारको मंगलपुरमा चुनावी अभियानका क्रममा आज (शुक्रबार) नेपाल प्रेस युनियनले आयोजना गरेको ‘जनतासँग उम्मेदवार’ कार्यक्रममा सभापति कोइरालाले नयाँ संविधान र आर्थिक विकास गरेर देखाउनु पर्ने बताए । ‘धेरै बोलेर मात्रै हुँदैन,’ उनले भने, ‘अब काम गरेर देखाउनु पर्ने बेला भएको छ ।’
नयाँ संविधानका लागि कांग्रेसको बहुमत आवश्यक रहेको सभापति कोइालाको भनाई छ । ‘अघिल्लो पटक वामन्थीहरुले नयाँ संविधान दिन सकेनन्,’ उनले भने, ‘यस पटक कांग्रेसको बहुमत आएमा एकबर्ष भित्र नयाँ संविधान दिन्छौं ।’
उनले देशको विकासका लागि ‘चेक एण्ड व्यालेसन्स’मा शासकीय स्वरुप हुनु पर्ने बताए । एमाओवादी र एमालेले प्रस्ताव गरेको शासकीय स्वरुपले मुलुकमा तानाशाह जन्माउने कोइरालाको आशंका थियो । उनले मुलुकका लागि संसदीय व्यवस्था उत्तम रहेको दोहर्याए ।
६० वर्ष पुगेका नागरिकलाई पेन्सन, चितवनका बोटे जातिलाई माछा मार्ने अधिकार, रामपुरको कृषि क्याम्पसको विवाद अन्त्य, आर्थिक विकास, उन्नत्ति, चितवनलाई पर्यटकीय क्षेत्र बनाउने लगायतका विषयमा आफू सकारात्मक रहेको सभापति कोइरालाले बताए । उनले शिक्षा, स्वास्थ्य, गरिवी निवारण, रोजगारीलगायतका विषयमा पनि कांग्रेसले घोषणा पत्र मार्फत सबैलाई आश्वस्त पार्ने प्रयास गरेको बताए ।
यसैबीच, राष्ट्रिय स्वाभिमान पार्टीका तर्फबाट समानुपातिकमा उम्मेदवार बनेका तिर्थराज रेग्मी कांग्रेसमा प्रवेश गरेका छन् । सभापति कोइरालाले रेग्मीलाई सदस्यता दिएर कांग्रेसमा प्रवेश गराएका हुन् । आजै एमाओवादीका दर्जन बढी स्थानीय नेता तथा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
सभापति कोइराला चुनावी अभियानमा चार नम्बर क्षेत्रमा पुगे पछि उल्लेख्य समर्थकको भिडभडाका लागेको कांग्रेस चितवनले जनाएको छ ।
प्रतिक्रिया