चुनावविरोधी आक्रामक

maobadiकाठमाडौं, ८ कात्तिक । संविधानसभाको दोस्रो निर्वाचन आउन २५ दिन मात्रै बाँकी रहेका बेला देशका विभिन्न ठाउँमा पक्ष र विपक्षीबीच झडपका साथै आक्रमणका घटना बढेका छन् । निर्वाचनको विपक्षमा रहेको नेकपा–माओवादीका कार्यकर्ताले विभिन्न स्थानमा चुनावी कार्यक्रममा अवरोध पुर्‍याएका छन् । अज्ञात समूहद्वारा उम्मेदवारमाथि आक्रमणका घटनाले पनि निरन्तरता पाएको छ ।

यसरी भएका धेरै आक्रमण एमाओवादी नेतामाथि केन्द्रित छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यक्रमलाई लक्ष्य गरी नेकपा–माओवादीले ठाउँ–ठाउँमा अवरोध पुर्‍याएको छ । मोहन वैद्य नेतृत्वको माओवादीले दाहाललाई अवरोध गर्न सुनसरी, धनकुटा र तेह्रथुम बन्द गराएको छ ।
एमाओवादी नेत्री ओनसरी घर्तीमाथि लक्ष्य गर्दै रोल्पामा पनि निर्वाचन कार्यक्रममा अवरोध पुर्‍याइयो । बुधबार साँझ विराटनगर विमानस्थल उत्रिएका दाहाल बिहीबार बिहानैदेखि धरान, धनकुटा हुँदै तेह्रथुमको एक कार्यक्रममा सहभागी बन्न हिँडेका थिए । दाहाल त्यहाँबाट हिँड्ने बित्तिकैदेखि माओवादी कार्यकर्ताले सुनसरी बन्द गराएका थिए ।
धरानको कायक्रम सकाएर हिँडेपछि वैद्य कार्यकर्ताले मूलघाट, धनकुटा प्रवेशमार्ग र कागतेमा रूख ढालेर बाटो अवरोध गरेका थिए । सुरक्षाकर्मीले ढलेका रूख पन्छाएर अवरोध हटाएका थिए । अवरोधको क्रम यत्तिमै रोकिएन । त्यस क्रममा दाहाललाई कालो झन्डा देखाइयो ।
तेह्रथुमको लिंवा खोला, सुर्के र वसन्तपुरमा पनि रूख ढालेर माओवादी कार्यकर्ताले अवरोध गरेका थिए ।
माओवादी आन्दोलनको केन्द्र मानिएको रोल्पाको थवाङमा पनि एमाओवादी र नेकपा–माओवादीबीच ढुंगा हानाहान भएको छ । रोल्पा–१ का प्रत्यक्ष उम्मेदवार ओनसरी घर्तीमगरको नेतृत्वमा थबाङको ठूलो गाउँमै चुनावी सभा गर्न खोजिए पनि नेकपा–माओवादीले यसअघि नै थबाङलाई निषेधित क्षेत्र घोषण्ाँ गरेको थियो । एमाओवादीले थबाङ–७ को मरन्थानामा चुनावी कार्यक्रम सम्पन्न गर्‍यो ।
कार्यक्रम सम्पन्न गरी फर्कर्दै गर्दा ढुंगा हानाहान भएको हो । दोहोरो ढुंगा हानाहानमा परी थबाङ–५ ठूलोगाउँका नेकपा–माओवादीका कार्यकर्ता ५० वर्षीय पूर्णबहादुर रोकामगर र थबाङ–५ कै ४० वर्षीय दमन विक घाइते भएका छन् ।
एमाओवादीले थबाङमा कार्यक्रम गर्न सदरमुकाम लिवांगबाट ८० जना वाइसिएलका कार्यकर्ता लिएर गएको श्रोतले बतायो । सप्तरी–५ मा नेकपा (माले) समाजवादी पार्टीबाट उम्मेदवार बनेका सिंहेश्वर शाहलाई बुधबार राति स्थानीय ४ जना युवाले निर्घात कुटेका छन् । कुटपिटबाट घाइते सिंह अस्पताल भर्ना भएका छन् ।
एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको गाडीमा आगजनी भएको छ । गोरखा–२ र रुपन्देही–४ बाट उम्मेदवारी दिएका भट्टराईको ग १ च ५१५४ नम्बरको गाडीमा रुपन्देही पर्वा–६ मा बिहीबार राति आगजनी गरिएको थियो ।
यता, पाँचथर–२ का लागि पठाइएको संविधानसभासम्बन्धी शिक्षा सामग्री वैद्य माओवादीले नियन्त्रणमा लिएर जलाइदिएका छन् ।
यथास्थितिमा हुने निर्वाचन बहिष्कार गरेरै छाड्ने उद्घोष गरेको माओवादीका कार्यकर्ताले याङ्गनाम गाविसमा एमाओवादीले गर्न लागेको आमसभालाई समेत बिथोलिदिएका छन् ।
एकै दिन १२० पक्राउ
निर्वाचनविरोधी गतिविधि गर्ने नेकपा–माओवादी र लिम्बुवानका १ सय २० जना नेता तथा कार्यकर्ता एकै दिन पक्राउ परेका छन् ।
निर्वाचनविरोधी गतिविधि गरेको अभियोगमा प्रहरीले रसुवाको लहरेपौवामा जिल्ला इन्चार्ज फुर्वा तामाङ, सेक्रेटरी धु्रव खड्का र रमेश खड्कालाई पक्राउ गरेको छ । माओवादी ताम्सालिङले उनीहरूलाई ज्यान मार्ने मुद्धा चलाउन लागेको भन्दै आपत्ति जनाएको छ । नि:सर्त पक्राउ परेकालाई रिहा गर्न माओवादीले माग पनि गरेको छ ।
मोरङ प्रहरीले पनि कोचिला राज्यसमितिका सदस्यसहित ५ जनालाई विराटनगरबाट कालो झन्डासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माओवादी कोचिला राज्य समिति सदस्य कुमार खतिवडा, माओवादी मोरङ जिल्ला सहइन्चार्ज जितेन्द्र महरा, जिल्ला सचिव लोचन धमला, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक बस्नेत र गणेश निरौला रहेको प्रहरीले जनाएको छ ।
रामेछापमा पनि निर्वाचनको बहिष्कारको प्रचार गर्दै हिँड्ने पाँच जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चुनावी बहिष्कारको पोस्टर टाँस्दै हिँडेका ताम्सालिङ राज्य समितिका सदस्य एवं रामेछाप सहसेक्रेटरी इन्द्र श्रेष्ठ, कैलाश थापा, इन्द्र तामाङ छिरिङ, चुडा कार्की र प्रेमबहादुर रम्तेललाई प्रहरीले पक्राउ गरेको हो ।
झापाको दमकबाट पनि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का एक सय ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचनविरोधी मार्चपास गर्ने तयारी भइरहेका बेला प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । बसमा चढेर कार्यक्रमस्थल जाँदै गर्दा बसलाई नियन्त्रणमा लिएर उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबैलाई बिहीबार साँझ रिहाइ गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया