ज्यान जहाँ भए पनि मन नेपालमै छ

jiba_lamichhaneउच्च शिक्षा पूरा गर्ने उद्देश्यले युरोपको वैभवशाली देश रुस गएका जिबा लामिछानेलाई लागेको थिएन कुनै दिन आफू विश्वभरि रहेका नेपालीहरूको छाता संस्था गैरआवासीय नेपाली संघको अध्यक्षको जिम्मेवारी पूरा गर्ने अवसर पाउँला भनेर । मेहनती उनले पाँचौ अधिवेशनबाट निर्वाचित भइ आफ्नो कार्यकाल पूरा गरे । हालै छैटौँ अधिवेशन समाप्त गरी आफ्नो जिम्मेवारी शेष घलेलाई सुम्पेका छन् । जीवनमा सफलता/असफलता मेहनत र इमान्दरीतामा भर पर्छ भन्ने मान्यता राख्ने उनी यति बेला संस्थाको छैटौँ अधिवेशन सम्पन्न गरेर फुर्सदिला बनेका छन् । संस्थाको अध्यक्ष हुँदाको अनुभव र व्यवसायमा भोगेको भोगाइबारे सौर्य दैनिकसँग भएको संवादको संक्षिप्त अंश:
एनआरएनए नेपालको छैटौँ महाधिवेशन एवं विश्व सम्मेलन सम्पन्न गरेँ । संस्थाको अध्यक्षको हैसियतले सम्मेलन व्यवस्थित रूपमा सफल बनाउँदैमा समय बित्यो । दुई वर्षमा हुने अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने हुँदा हरेकप्रकारले मेरो सक्रियता रह्यो । यो अधिवेशनले प्रजातान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्वको चयन गरेको छ । मैले दुई वर्षको कार्यकालबाट बिदा पाएको छु । अबको दिन आफ्नै व्यवसाय र एनआरएनएको प्रगतिका लागि बिताउनेछु ।
दुई वर्षको अवधिमा जे जति सकेँ रामै्र गरेँ । नेतृत्वमा आउनुपूर्व मैले प्रतिवद्धता जनाएको थिएँ कि ‘एनआरएन’ सामाजिक संस्था भएकाले जे गर्ने हो एक्लैले गर्ने होइन, सामूहिक रूपमा गर्छु । योजनामा रहेका जे जे काम गरियो, सामूहिक रूपमा गरियो । अग्रजहरूले सुरु गरेका कामलाई निरन्तरता दिने र नयाँ योजनासहितको काम गरियो । हरेकसंस्थामा स्वभाविकरूपमा नयाँ आउने पदाधिकारीले केही नयाँ योजनासहित उत्साह लिएर आएको हुन्छ । हाम्रो संस्था स्थापित संस्था भएकाले जे गरिन्छ सबैको विचार र भूमिकामा गरिन्छ । मैले मात्र चमत्कारिक रूपमा केही गर्ने होइन । व्यक्तिगत रूपमा मसँग भएका केही योजना पूरा गर्ने प्रयत्न गरेँ ।
संस्थाले आफ्नो स्थापनाकै समयमा भनेको थियो, नेपालमा सामूहिक लगानी गर्नु पर्छ भनेर, यो संस्थाको अवधारणा हो । आफू जन्मेको भूमिमा जे गर्न सकिन्छ सामूहिक योजना बनाएर गरौँ भन्ने सबैको भावना भएर पनि हामीले त्यो योजना पूरा गर्न सकेका थिएनौँ । संस्थाको मान्यता सामूहिक काम गर्ने हुँदाहुँदै र हामीले चाहेर पनि विभिन्न कारणले सबै योजना पूरा गर्न नसकिएको हो । पछिल्लो समयमा नेपालमा काम गर्नका लागि ‘एनआरएनए इन्भेस्टमेन्ट कम्पनी’ खोल्यौँ । कम्पनीले विश्वभरि छरिएर रहेका नेपालीलाई आग्रह गर्‍यौँ– जो जहाँ छ आफूले आर्जन गरेको पुँजीको सानो भाग आफ्नो जन्मभूमिमा उत्पादनको कुनै क्षेत्रमा लगानी गरौँ भनेर । हाम्रो उद्देश्य सामूहिक लगानी गर्ने हो । नेपालमा सामूहिक लगानी गर्दा पँुजीको सुरक्षा हुनुका साथै विदेशमा बस्ने हरेकनेपालीले गर्व गर्ने वातावरण बनोस्, मैले पनि यो देशका लागि केही गर्न सकेँ भनेर । आफू जन्मेको देशका लागि केही गरेँ भन्ने सबैलाई होस् भनेर अभियान थालेका छौँ । बिस्तारै त्यसले सफलताको गति लिएको छ ।
सामूहिक लगानी र नेपालमा केही गरौँ भन्ने भावनाको परिणाम हो लमजुङमा खोलिएको २७ मेगावाटको हाइड्रोपावर । त्यो हाम्रो सुरुवात मात्र हो । ठूलो योजना होइन । राष्ट्रनिर्माणमा गैरआवासीय नेपालीले लगानी गर्ने धेरै सम्भावना छ । लमजुङको त्यो हाइड्रोपावरले पनि प्रमाणित गर्छ कि राष्ट्रनिर्माणमा गैरआवासीय नेपालीहरूको चाहना कति रहेछ भनेर । हरेक नयाँ कामको सुरुवात गर्न कठिन हुन्छ तर सुरु भएको कामलाई निरन्तरता दिन सजिलो हुन्छ । यो हाम्रो सुरुवात र भविष्यको निरन्तरता पनि हो । भर्खरै आएको नयाँ नेतृत्वका लागि कामको सुरुवात हो र नयाँ नेतृत्वले काममा निरन्तरताका साथै अझै यस्ता धेरै काम गर्नेमा म विश्वस्त छु । गैरआवासीय नेपाली संघ सामाजिक संस्था भएकाले यसले सामाजिक काममा सहयोगको हात बढाउँदै छ । विभिन्न स्थानमा विद्यालय, खानेपानीलगायत काममा केही सहयोगको प्रयास गरेको छ । सामाजिक काम संस्थाको निरन्तरता हो ।
संस्थाले सुरुका दिनमा धेरै संघर्ष गर्नुपर्‍यो । गैरआवासीय नेपालीहरूको परिभाषामा धेरै प्रश्न उठ्यो । हामीले नेपालमा ऐन बनाएर संस्थाको परिभाषा गर्न माग गरेका थियौँ । यतिबेला त्यो काम पूरा भयो । अहिले ऐनमा नै संशोधन गरेर परिभाषा गरिएको छ । यो एक प्रकारले हाम्रो सफलता हो साथै गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीको सवालमा पनि सम्बोधन भएको छ । गैरआवासीय नेपालीको लगानीले बैदेसिक लगानीेको मान्यता पाएको छ । सुरु देखि नै हाम्रो माग यही थियो । विदेशको कमाइबाट आउने लगानीलाई बैदेसिक लगानी भन्नु पर्छ भन्ने । त्यसलाई मान्यता दिएको छ । अर्को महत्त्वपूर्ण कुरा हो विदेशमा बस्ने नेपालीले पनि नेपालमा नेपालीसरह लगानी गर्न पाउनु पर्छ भन्ने, साथै नेपाली नागरिकताको निरन्तरता पनि हाम्रो माग छ । नेपालको नागरिकता ऐनमा उल्लेख छ– कुनै पनि नेपालीले विदेशी नागरिकता लिएको अवस्थामा उसको नेपाली नागरिकताको हक स्वत: समाप्त हुने । हामी त्यो ऐनमा पुनर्विचार होस् भन्ने चाहन्छौँ । कुनै नेपालीले आफ्नो इच्छाले नेपाली नागरिकताको हक न त्यागेसम्म उसको नागरिक हक कायम हुनुपर्छ । नागरिक हक त्याग गर्न कसैलाई बाध्यकारी बनाइनु हुँदैन । यतिबेला हामीलाई लागेको छ, गतवर्ष नेपालको संविधान बनेको भए नागरिकतासम्बन्धी उक्त ऐन संशोधन भएर हाम्रो माग नयाँ संविधानमा समावेश हुने थियो । तर संविधान नै बनेन ।
हाम्रो संस्था विधिवत् रूपमा नेपालमा दर्ता हुनु पर्छ भन्ने हाम्रो माग थियो । स्थापनाकालदेखि नै विश्वका धेरै मुलुकमा दर्ता भएको संस्था नेपालमा दर्ता हुन सकेको थिएन । यसमा केही प्राविधिक समस्या देखिएका थिए । हाम्रो विधान र नेपालको कानुनले व्यवस्था गरेको गैरआवासीय नेपाली संघको परिभाषामा फरक थियो । हाम्रो विधानले छ महिनाभन्दा बढी विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली मानेको थियो । तर, सरकारी ऐनमा सार्क मुलुकबाहेकको देशमा कम्तीमा दुई वर्ष बसेकालाई मात्र गैरआवासीय नेपाली मान्ने उल्लेख छ । सरकारी ऐन र हाम्रो विधानमा भएको फरक परिभाषाको कारण दर्तामा अवरोध भएको थियो, अहिले त्यो समस्या सुल्झिएको छ । साथै हाम्रो संस्था पनि दर्ता भएको छ । हाम्रो संस्थालाई हेर्ने नेपालका सबै पार्टी, सञ्चारमाध्यम, सरकार एवं सबै क्षेत्रको सकारात्मक धारणा छ । यसैकारणले हामीले हाम्रो विधानमा नेपालको ऐनअनुसार संशोधन गरेपछि अहिले संस्थाले दर्ता हुन पायो । सबैको साथ भएमा हामी केही गर्न सक्नेमा आसावादी छौँ ।
बेलाबेला हामीलाई यो वा त्यो पार्टीको आस्था र विचारको नजिक छ भन्ने आरोप लाग्छ । त्यो भ्रम मात्र हो, संस्था स्थापनाकै बेला प्रतिवद्धता गरेका थियौँ संस्था विशुद्ध सामाजिक संस्था हो भनेर । स्थापना गर्दाको हाम्रो प्रतिबद्धता आज पनि उत्तिकै अटल छ । विचारको कुरा गर्ने हो भने हरेक नेपालीलाई कुनै न कुनै पार्टीको नजिक हुन वा कसैको विचार सिद्धान्तबाट प्रभावित हुन छुट छ । हामी कसैलाई विचारबाट अलग रहन दबवाब दिदैनौँ । मेजर पार्टीका जनसंगठन विश्वका धेरै मुलुकमा छन् । कुनै न कुनै पार्टीमा सबै लागेका छन् तर, यो संस्था सबै विचार, धर्म, संस्कृतिमा आस्था राख्नेको हो । जो आए पनि स्वयंसेवकको रूपमा सेवा गर्ने संस्था हो । समयसँगै संस्था स्थापित भएको छ । संस्थामा सदस्य संख्या र सबैको आकर्षण बढेको छ । विचार, सोचाइमा परिवर्तन आएका कारण पनि यस्ता कुरा आएका हुन् जस्तो लाग्छ । यतिबेला विदेशमा बस्ने नेपालीको स्थापित र सबैतिर सञ्जाल भएको विश्वासिलो संस्था बनेको छ, एनआरएनए । सदस्यको संख्या बढेकाले सबैको विचार एउटै नहुन सक्छ । आफ्नो उद्देश्यले आउने र विचार राख्ने पनि हुन सक्छन् । जे जस्ता विवादित कुरा आउन खोजे पनि यो सबैको साझा संस्थाको रूपमा अगाडि बढाउन हामी सधैँ सक्रिय रहने छौँ । यतिबेला हाम्रो ६५ वटा क्रियाशील शाखा छन् ।
संस्थाको जिम्मेवारी सम्हाल्दा मैले भनेको थिएँ जे गर्छु देखिने गरी गर्नेछु । दुई वर्षमा के गरेँ, म आफैँले भन्नु पर्दैन मूल्यांकन अरूले गर्दा उचित हुन्छ । जो जो नेतृत्वमा आएका छौँ सबैले दुई वर्षको कार्यकालमा एउटा सामाजिक काम गर्नै पर्छ भनेका थियौँ । त्यही प्रतिबद्धताअनुसार शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता क्षेत्रमा लगानी गरेका छौँ । सबै नेपाली भएका कारण नेपालीका लागि केही गरौँ भन्ने भावनाले प्रेरित छौँ । आफू जन्मेको भूमिका लागि केही गर्नुपर्छ भन्ने भावना सबै गैरआवासीय नेपालीमा छ । जे जति गर्न खोजेका छौँ, त्यसमा अपेक्षाकृत सफलता पाएका छौँ ।
पछिल्लो समय गौतम बुद्धको जन्मभूमिप्रति भ्रम फैलाउने प्रयत्न भयो । हामीले त्यसको विरुद्धमा अभियान चलायौँ । नेदरल्यान्डको हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायलयमा भगवान ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने प्रमाणसहित लेखेको गौतम बुद्धको मूर्ति लगेर राख्यौँ । त्यो न्यायलयले कुनै दुई देशबीच सीमा वा अरू विषयमा विवाद भएमा विवाद टुंग्याउने काम गर्छ । हाम्रो रगतमा नेपालीपन छ जहाँ भए पनि हामी नेपालीलाई नेपालको आस्था वा अस्मितामा कसैले आँैला उठाउँदा मन दुख्छ । त्यही दुखाइ पोख्ने काम गर्‍यौँ । दुई वर्षको कार्यकालमा जति गर्न सकियो त्यति गरियो । दु:ख मान्नु पर्नेगरी मेरो कार्यकाल बितेन । जे गर्न सकियो, ठीकै गरियो ।
समयको गतिसँगै नेतृत्वमा आउन खोज्नेको संख्या बढ्न थालेको छ । यसलाई मैले सकारात्मक रूपमा लिएको छु । यति ठूलो संस्थामा काम गर्छु भनेर अघि सर्नुलाई राम्रो मान्नुपर्छ । सुरुको दिनमा जस्तो समस्या अहिले छैन । अहिले सदस्यहरू बढेका छन् । काम गर्ने जोस र जाँगर भएकाहरू धेरै छन् । त्यसले पनि सबैको आकर्षण विश्वास बढेको छ भन्ने मलाई लाग्छ । तर, नेतृत्वमा आउनेहरूले अवसर र जिम्मेवारी दुवै बुझेर आउनुपर्छ । जिम्मेवारी पाउनुभन्दा पनि त्यसलाई कुशलतापूर्वक निर्वाह गर्नु ठूलो कुरा हो । संस्था ठूलो भएकाले जिम्मेवारी पनि बढेको छ, सबै गम्भीर भएर संस्था चलाउनुपर्छ ।
आम नेपालीलाई लाग्छ हामी विदेशमा बसेर धन आर्जन गर्ने व्यापारी हौँ । विदेशमा हामीले के कति संघर्ष गरेका छौँ, हामीहरूलाई नै थाहा छ । हामीले विदेशमा धन मात्र कमाएका छैनौँ चुनौति पनि धेरै झेलेका छौँ । अरूको देशमा काम गर्नु आफ्नो देशमा गरेजस्तो सजिलो छैन । म एक्लैले भन्दा पनि समूहमा काम गरियो । नेपालमा काम गर्दा यहाँको राजनीतिक दलहरू, औद्योगिक व्यवसायी साथीहरू र सञ्चारमाध्यमको राम्रो सहयोग रह्यो, जुन म कहिल्यै भुल्न सक्दिन ।
मलाई दु:ख लागेको विषय मेरो कार्यकालमा संस्थामा केही विवाद देखियो । कतै संस्था नै विभाजन हुने हो कि भन्नेसम्मको अवस्था आयो । तर, पुराना र वर्तमानमा जिम्मेवार साथीहरूको पहलमा सबै सम्हाल्न सकियो । सबैको संंयमताले संस्था अगाडि बढेको छ । अहिले पनि ठूलो लगानी गर्न सक्ने हैसियत हामीले बनाउन सकेका छैनौँ । हामी सम्पन्न भएर होइन, मात्र आफू जन्मेको मुलुकका लागि केही गर्नुपर्छ भन्ने भावनाले लगानीको प्रयत्न गरेका हौँ । ज्यान जहाँ भए पनि मन यहीँ छ भनेर देखाउन मात्र चाहेका हौँ ।
विदेशमा काम गरेका हामी नेपालमा केही गरौँ भनेर आएका छौँ । यहाँभन्दा विदेशमा काम गर्न सजिलो छ । बन्द, हडतालजस्ता कुराको समस्या उता व्यहोर्नु पर्दैन । जे हुन्छ ‘रुल अफ ल’ को आधारमा हुन्छ । कानुनअनुरूप गरेको काममा कसैको व्यक्तिगत आकांक्षले रोकिनु वा झमेला व्यहोर्नु पर्दैन । नेपालमा जे काम गर्न गए पनि सम्बन्धित कर्मचारीको रूची, आकांक्ष र उसलाई खुसी पारेको भरमा काम हुन्छ । विदेशमा कसैको भन्सुन वा सोर्स फोर्सको आवश्यकता पर्दैन । विदेशमा बजारको सम्भावना पनि बढी छ । बजार ठूलो छ सँगै सम्भावना पनि धेरै छन् । नेपालमा ढिला सुस्ती र कर्मचारीको मनोमानी छ । राजनीतिक अस्थिरताले ठूलो चुनौति व्यहोर्नु पर्छ । नेपालमा काम गर्दाको सकारात्मक पाटो पनि छ । आफ्नै देशमा काम गर्दा आउने समस्या आफ्नै ढंगले समाधान गर्न सकिन्छ । नियम कानुन सबै बुझेका छौँ । आफ्नै भाषामा बहस गर्न सकिन्छ । जे गरे पनि आफ्नै देशमा गरेको छु भन्ने सन्तुष्टी हुन्छ । अरूका देशमा जे गरे पनि हामी सानो देशका नागरिक हौँ भन्ने हीन भावना मनमा रहिरहन्छ । विकसीत देशका मानिससँग प्रतिस्पर्धा गर्न गाह्रो छ । नेपालमा काम गर्दा पैसाले किन्न नपाउने गर्व र सन्तुष्टी पाइन्छ ।
नेपालको गाउँमा योजना लिएर जाँदा सहयोगभन्दा असहयोग बढी पाएका छौँ । नेपाली उखानमा सुनको अण्डा दिने कुखुरालाई अण्डा पार्ने बेलासम्म पर्खन नसक्ने नेपाली स्वभाव छ । अण्डा कुर्नुभन्दा कुखुरा नै काटेर खाउँ भन्ने भावना बढी छ । योजना ल्याएको छ, कति ऋण गरेर ल्याएको होला, सहयोग गरौँ र त्यसबाट पाइने सुविधा उपयोग गरौँ भन्ने भावना थोरै छ । चन्दा सहयोगजस्ता कुरा गरेर तर्साउने प्रवृत्तिले हामी आतंकित छौँ । विदेशबाट आएका यिनीहरूको पैसा कसरी झार्ने भन्नेमा धेरैको ध्यान देखिन्छ, यस्तो प्रवृत्ति अब अन्त हुनपर्छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया