‘२०२० सम्म सबै नागरिकलाई चर्पी’

काठमाडौं, ७ कात्तिक । काठमाडौंमा सुरु भएको पाचौँ दक्षिण एसियाली सरसफाइ सम्मेलन (साकोसान)मा सहभागी प्रतिनिधिहरूले सम्बन्धित दक्षिण एसियाली राष्ट्रका सरकार समक्ष विशेष प्राथमिकताका साथ हाल विद्यमान सरसफाइको समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् । सम्मेलनमा दक्षिण एसियाली राष्ट्रका करोडौँ विपन्न र सरसफाइ सेवाविहीन नागरिकको प्रतिनिधित्व गरी समुदायका अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूले सम्बन्धित राष्ट्रका सरकारसमक्ष खुला दिसा गर्ने प्रचलनको अन्त्य गरी सबै नागरिकलाई चर्पीको सेवा पुर्‍याउन माग गरेका छन् । सरसफाइ प्रवद्र्धन तथा खुला दिसामुक्त समाजका लागि चर्पी निर्माण गर्ने अभियानमा सहकार्य तथा हातेमालो गर्न पनि प्रतिनिधिहरूले प्रतिबद्धता ब्यक्त गरेका छन् । सन् २०११ मा श्रीलंकामा सम्पन्न चौँथो साकोसानमा गरिएका प्रतिबद्धता लागू गरी सरसफाइ प्रवद्र्धन गर्न पनि सरकार समक्ष माग गरिएको छ ।

सम्मेलनमा संयुक्त राष्ट्रसंघ तथा चौँथो साकोसानको प्रतिबद्धताअनुरुप सरसफाइलाई नागरिक अधिकारका रूपमा स्थापित गर्न जोड दिएको छ । त्यसैगरी सन् २०२० सम्ममा दक्षिण एसियाका सबै देशका नागरिकलाई चर्पीको सुविधा पुर्‍याउन प्रभावकारी योजना तथा कार्यक्रम तर्जुमा गरी पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ । समयसीमासहितको योजना तथा कार्यक्रमका साथै अनुगमन तथा मूल्यांकन योजना पनि तर्जुमा गर्न जोड दिइएको छ । विपन्न, असहाय, ज्येष्ठ नागरिक, अपांगता भएका र सुविधाविहीन समुदायमा पनि चर्पीको सुविधा पुर्‍याउन सम्मेलनमा जोड दिइएको छ । विगतका साकोसानको प्रतिवद्धताअनुरुप सबै विद्यालयहरूको भौतिक संरचनाको डिजाइन तथा योजनामा उपयुक्त चर्पीको समावेश गर्न, यसको नियमित सञ्चालन तथा मर्मत सम्भार गर्न बजेटको व्यवस्था गर्न तथा नियमित अनुगमन र रिपोर्टिङको व्यवस्था गर्न पनि माग गरिएको छ ।
यसअघिको चौँथो साकोसानमा उच्च प्रतिबद्धता ब्यक्त गरिए पनि दक्षिण एसिया क्षेत्रमा अझै पनि अरबौँ जनता सरसफाइ सुविधाबाट वञ्चित छन् । दक्षिण एसियाका सबै देशले बढ्दो सहरीकरणको चुनौती सामना गर्नुपरेको छ । यस्ता चुनौती सामना गर्नका लागि नीति, प्रविधि, शिक्षा तथा लगानीसहितको एकीकृत योजना तर्जुमा हुनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया