दुवै क्षेत्र जित्ने एमालेको दाबी

दैलेख, ७ कात्तिक । ४ मंसिरमा हुन गइरहेको आसन्न संविधानसभाको चुनावमा एमाले, कांग्रेस र एमाओवादी पार्टीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

दैलेखमा दुईवटा निर्वाचन क्षेत्र रहेकामा अघिल्लो संविधानसभा निर्वाचनमा एउटा क्षेत्रमा एमालेले विजयी भएको थियो भने यसपालि भने एमालेले यहाँका दुवै क्षेत्रमा विजयी हासिल गर्ने अभियानमा होमिएको छ । दसैँ अगावै एमालेका नेता कार्यकर्ताहरू चुनावी प्रचारमा लागेर जिल्लाको पहिलो शक्ति बन्ने कसरतमा लागेका छन् । पद र पैसाको प्रलोभन देखाउँदै एमाओवादी गाउँ पसेकाले त्यसबाट सचेत रहन एमालेले आफ्ना अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइरहेको छ ।
०६४ को संविधानसभामा क्षेत्र नम्बर १ मा एमाले झिनोमत अन्तरले कांग्रेससँग पराजित हुनुपरेको थियो भने दुईमा विजयी हासिल गर्न सफल भएको थियो । यसपटक दुवै क्षेत्रमा जित हात पार्ने रणनीतिमा एमाले जुटेको छ । विगतमा भन्दा यसपटक कार्यकर्ता परिचालनमा विशेष ध्यान दिने एमालेको तयारी छ । दैलेखका दुवै क्षेत्रमा एमाले राम्रो रहेको कार्यवाहक प्रचार विभाग प्रमुख लोमन शर्मा बताउँछन् । उनी भन्छन्, ‘चुनावी रणनीतिलाई बुद्धिमताका साथ उपयोग गर्न सके एमालेलाई दुवै क्षेत्रमा जित्न गाह्रो छैन ।’ एमाओवादीले आफ्नो नेता तेजबहादुर चन्दलाई उम्मेदवार गराए पनि खासै क्षति नहुने एमाले निष्कर्ष छ ।
क्षेत्र नम्बर १ मा कांग्रेसले पूर्वराज्यमन्त्री गणेशबहादुर खड्का, एमालेले जिल्ला अध्यक्ष अम्मरबहादुर थापा, एमाओवादीले पूर्वएमाले नेता तेजबहादुर चन्द, राप्रपा नेपालले पूर्वजिविस सभापति भक्तबहादुर शाही, राजमोले जिल्ला अध्यक्ष मयाराम अधिकारी, नेमकिपाले जगत वली र अखण्ड नेपालले चन्द्रबहादुर बुढालाई उम्मेदवार बनाएको छ । कांग्रेसका खड्काविरुद्ध अर्का नेता नरसिंह मल्लले बागी उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीले यसपटक कांग्रेसलाई धेरै क्षति पुग्ने र एमाओवादी प्रतिीपर्धामा समेत आउन नसक्ने भएकाले क्षेत्र नम्बर १ मा एमालेको जित सुनिश्चित रहेको विश्लेषण हुन थालेको छ । अखण्ड नेपालका उम्मेदवारहरू कांग्रेसका पूर्वनेता भएकाले कांग्रेसकै मत काट्ने अनुमान छ ।
क्षेत्र नं. २ मा कांग्रेसले पूर्वजिविस सभापति हिमबहादुर शाही, एमालेले प्रतिनिधि परिषद् सदस्य लक्ष्मीप्रसाद पोखरेल, एमाओवादीले केन्द्रीय सदस्य थीरबहादुर कार्की, नेमकिपाले पूर्वसभासद् जग्यबहादुर शाही, जनमोर्चाले भरत शाही, राप्रपा नेपालले सुरतजंग शाही र अखण्ड नेपालले रामप्रसाद जैसीलाई उम्मेदवार बनाएका छन् । राप्रपा नेपाल र अखण्ड नेपालका उम्मेदवारले हालै कांग्रेस परित्याग गरेका हुन् । उनीहरूको उम्मेदवारीले सबैभन्दा बढी क्षति कांग्रेसलाई नै पुग्ने देखिन्छ । एमाओवादीले द्वन्द्वकालीन छाप मेटाउन नसकेको र संगठन पनि बलियो नभएकाले एमालेलाई यस क्षेत्रमा पनि अग्रता लिन सहज छ । एमाले उम्मेदवार पोखरेलप्रति प्रतिस्पर्धी पार्टीका नेता कार्यकर्ताहरूको समेत सहानुभूति भएको पाइन्छ ।

प्रतिक्रिया