खलङ्गा : बैतडीको उत्तरपूर्वी कोटिला–२ मा मतदाताको संख्या पाँच मात्रै रहेको छ । कुल एक हजार ६ सय ४ मतदाता रहेको कोटिलाको वडा नं २ मा भने तीन महिला र दुई पुरुष मात्र मतदाता छन् ।
जिल्ला निर्वाचन कार्यालय बैतडीले उक्त वडाबाट बसाईं सारेर अन्य वडामा गएकाले पाँच जना मात्रै मतदाता बाँकी रहेको जनाएको छ । वडा नं. २ का ती पाँचै मतदाताका लागि कोटिला गाविस भवनमा मतदान केन्द्र तोकिएको छ ।
उनीहरूमध्ये धनबहादुर साउद र नारुली साउद पतिपत्नी हुन् । त्यस्तै अन्यमा कलसा लुहार, काली ऐर र सोबे साउद रहेका छन् । उक्त वडामा रहेका मतदाता २२ देखि ४२ वर्षका रहेका छन् ।
कोटिलाको वडा नं ६ मा सबैभन्दा बढी ३ सय ५६ मतदाता छन् । बैतडीको शर्माली गाविसमा सबैभन्दा बढी ३ हजार २ सय २७ मतदाता रहेका छन् । बैतडीको दुईवटै निर्वाचन क्षेत्रमा कुल एक लाख १६ हजार ११ मतदातामध्ये ६० हजार ८ सय ७१ महिला र ५५ हजार १ सय ४० पुरुष छन् ।
यसअघिको निर्वाचनमा बैतडीमा एक लाख ७१ हजार २ सय १२ मतदाता रहेकामा फोटोसहितको नामावली संकलनमा ५५ हजार २ सय ०१ मतदाता घटेका हुन् । (सौस)
प्रतिक्रिया