निकुञ्जमा आधुनिक प्रविधि परिचालन गरिने

चितवन, ७ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा आधुनिक प्रविधि परिचालन गर्ने तयारी गरेको छ ।

मानवरहित विमानदेखि तालिम प्राप्त कुकुर वन्यजन्तु संरक्षणका लागि परिचालन गर्ने तयारी भइरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षदेखि निकुञ्ज क्षेत्रमा मानवरहित विमान र तालिम प्राप्त कुकुर परिचालन गरिने छ । यसअघि निकुञ्ज क्षेत्रमा मानवरहित विमान परिचालनका लागि परीक्षण गरिसकिएको उनले बताए ।
निकुञ्ज क्षेत्रमा हुने चोरी सिकार नियन्त्रणमा मानवरहित विमान र तालिम प्राप्त कुकुरले ठूलो भूमिका खेल्ने निकुञ्ज प्रशासनको विश्वास छ । मानवरहित विमानले मानव विना नै निकुञ्ज क्षेत्रभित्र भइरहेका विभिन्न गतिविधिको विषयमा सूचना दिने छ भने तालिम प्राप्त कुकुरले वन्यजन्तु चोरी सिकार भइरहेका क्षेत्र र त्यसमा संलग्न भएका व्यक्तिहरू पक्राउ गर्न मदत पुर्‍याउने छ ।
यसैगरी निकुञ्ज सुरक्षाका लागि सेनाहरूको पोष्ट थप गर्नेसमेत निकुञ्जले तयारी गरेको छ । हाल चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ५० वटा पोस्ट रहेका छन् । प्रमुख संरक्षण अधिकृत कुँवरका अनुसार यसै आर्थिक वर्षदेखि दुइवटा पोस्ट थप गर्ने तयारी भइरहेको छ । हाल निकुञ्जले वन्यजन्तु संरक्षणका लागि सेनाद्वारा पैदल गस्ती, साइकल गस्ती, छड्के गस्ती गर्दै आएको छ ।

प्रतिक्रिया