दुई मधेसको प्रस्ताव

काठमाडौं : अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीले दुई प्रदेशीय मधेस प्रस्तावसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक घोषणा पत्रमा मधेसमा थरुहट र मधेस गरी दुई प्रदेश स्थापना गर्ने प्रतिवद्धता जनाएको छ ।
३० बुँदे घोषणा पत्रमा आगामी संविधानसभाबाट सिमान्तकृत, शोषित, पीडित, उपेक्षित तथा विभेदमा परेका दलित, मुस्लिम, पिछडावर्गको अग्रअधिकारलाई स्थापित गराउने जनाएको छ । घोषणा पत्रमा एकल संक्रमणीय पद्दतिको माध्यमबाट निर्वाचित आलंकारिक राष्ट्रपति र संघीय तल्लो सदनमा बहुमत प्राप्त दलका नेतालाई कार्यकारी प्रधानमन्त्री बनाउने उल्लेख छ ।
यस्तै प्रदेशमा आलंकारिक प्रदेश प्रमुख तथा कार्यकारी मुख्यमन्त्री रहने गरी प्रादेशिक संसद दुई सदनात्मक रहने, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवअधिकार तथा जनताका मौलिक हकलाई पूर्णत: सम्मान गर्दै संस्थागत गर्ने उद्देश्य घोषणा पत्रमा उल्लेख छ । (सौस)

प्रतिक्रिया