खोजखबर

महिला विकासका लागि पञ्चवर्षीय रणनीतिक योजना

सौर्य अनलाइन २०७० असोज २५ गते १:२२ मा प्रकाशित

नेपालगन्ज, २५ असोज । महिला समुदायले भोग्नुपरेका समस्यालाई एकद्वार प्रणालीबाट समाधान गर्न ‘महिलाको पञ्चवर्षीय रणनीतिक योजना’ तर्जुमा गरिएको छ ।

योजना तर्जुमाका लागि सरोकारवाला निकायबीच अन्तक्र्रिया गरी आएको सुझावलाईसमेत समावेश गरी योजनालाई अन्तिम रूप दिने गृहकार्य भइरहेको महिला विकास अधिकृत शोभा शाहले बताइन् ।
जिल्ला विकास समिति, नेपालगञ्ज नगरपालिका, सेभ द चिल्ड्रेन, प्लान नेपाल, सिविन नेपाल, युनिसेफ, महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समिति साझेदार निकायका रूपमा रहेको सो रणनीतिक योजना जिल्ला परिषद्बाट पारित गराई कार्यान्वयन तहमा लगिनेछ ।
यस जिल्लाका महिलाले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षअन्तर्गत भोग्नुपरेका समस्या समाधानका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले विगतमा अलग—अलग कार्यक्रम सञ्चालन गरे तापनि प्रभावकारी उपलव्धि हासिल नभएपछि एकीकृत रणनीतिक योजना सञ्चालन गर्न अन्य सरोकारवाला पनि सहमत देखिएका छन् ।
उक्त रणनीतिक योजनाका लागि जिल्लाका ११ गाविस, नेपालगन्ज नगरपालिकाका ४ वडाका समुदाय, विभिन्न १५ महिला समूह र २४ जना नेतृत्वकर्तासँग गरिएको छलफल तथा अध्ययन, अनुसन्धानपछि तयार पारिएको प्रतिवेदनले जिल्लामा बाल विवाह, अनमेल विवाह, कम उमेरमा विवाह, दाइजोप्रथा, छोरीप्रतिको भेदभाव, शिक्षामा बालिकाको पर्याप्त पहँुच नहुनु, सामाजिक सुरक्षा नहुनु, महिलाप्रतिको परम्परागत धारणा तथा दृष्टिकोण, आर्थिक पछौटेपन तथा रूढीवादी सांस्कृतिक परम्परा महिला विकासको प्रमुख बाधकका रूपमा रहेको देखाएको छ ।
महिला तथा बालबालिका कार्यालयले अगुवाइ गर्ने सो पञ्चवर्षीय योजनाका लागि जिल्ला विकास समिति, नेपालगन्ज नगरपालिका कार्यालयलगायत योजनामा प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायले पनि सहयोग उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय