गोलीले घाइते एमाले उम्मेदवार आलमको मृत्यु

Mahammud Aalamकाठमाडौं, २४ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नेपाल मुस्लिम इत्तेहादका केन्द्रीय अध्यक्ष एवम् पार्टीको तर्फबाट बारा क्षेत्र नं ४ का प्रत्यक्षतर्फका उम्मेदवार महमुद आलमको निधन भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका आलमलाई यही असोज १८ गते चुनाव प्रचार–प्रसारकै सिलसिलामा बारा जिल्लाको परवानीपुरमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका आलमलाई आफन्तजन र पार्टीको पहलमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याई सघन उपचार कक्षमा राखेर बचाउने प्रयास गरिएको थियो । चिकित्सकहरूले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरे पनि उपचार संभव नभएको हो । बिहीवार दिउँसो २ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । आलमको शवलाई एमाले मुख्यालय बल्खुमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । स्व.आलमका श्रीमती र तीन छोरा छन् ।
आलम एक अथक योद्धा : खनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आलम नेपालको कम्युनिष्ट आन्दोलनका एक अथक योद्धा भएको बताएका छन् । पार्टीको तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष खनालले नेपाली जनताको लोकतान्त्रिक आन्दोलनमा आफूलाई आजीवन समर्पित गरिरहेका आलमको मृत्युले पार्टीमा अपुरणीय क्षती पुगेको उल्लेख गरेका छन् ।
‘नेपाली मुश्लिम समुदायलाई चेतनशील बनाउन तथा मुश्लिम एवं समस्त तराईवासी जनताको हकअधिकारको संघर्षमा वहााको विशेष योगदान रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वहााले नेपालको समग्र कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई हाम्रो पार्टी उच्च कदर गर्दछ ।’ खनालले विज्ञप्तिमा आलमको निधनबाट पार्टीले एक जुझारु र योग्य नेता गुमाएको पनि उल्लेख गरेका छन् ।
‘नेपालमा बढ्दै गैरहेको राजनीतिक हत्याको श्रृंखलाबाट हाम्रो पार्टी क्षुब्ध भएको छ,’ ‘विज्ञप्तिमा भनिएको छ, ‘नेपालका विभिन्न क्षेत्रमा कार्यरत राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई किन कुन शक्तिले एकपछि अर्को गरी हत्या गर्ने गरेको छ भन्ने विषयलाई गहिरोगरी अध्ययन गर्नुपर्ने निश्कर्षमा हाम्रो पार्टी पुगेको छ ।’
विज्ञप्तिमा सरकारलाई आलमका हत्यारा पत्ता लगाई यथाशीघ्र न्यायको कठघरामा उभ्याउन जोडदार माग गरिएको छ । ‘हाम्रो पार्टी कमरेड आलमका हत्याराहरुलाई जुनसुकै हालतमा पनि कानूनको कठघरामा उभ्याउने र कडाभन्दा कडा सजाय दिलाएरै छाड्ने दृढ प्रतिज्ञा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । पार्टीले आलमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
आलमको राजनीतिक यात्रा
विसं २०२० मा पर्साको लहावर थकरीमा जन्मिएका आलमले बाराको लिपनीमालमा रहेको मावली घरमा रहेर एमालेको सक्रिय राजनीति गरेका थिए । २०४२ सालमा वीरगञ्जको खाद्य उद्योगमा कार्यरत हुँदा मजदुर नेताका रूपमा नेकपा एमालेको राजनीति सुरु गरेका आलम २०५४ मा एमालेको बारा जिल्ला सदस्य भएका थिए । ०६१ सालमा वीरगञ्जमा सम्पन्न महाधिवेशनबाट नेपाल मुस्लिम इत्तेहादका अध्यक्ष बनेका आलम बुटवलमा सम्पन्न एमालेको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । उनी एमालेभित्रका इमान्दार, तल्लो तहबाट उठ्न सफल एवं वर्गीय चेत उच्च भएका नेताका रूपमा परिचित छन् ।

प्रतिक्रिया