परीक्षा प्रणाली र उठेका सवाल

janardan_paudel_aavasकुनै पनि विश्वविद्यालय र परिषदको शिक्षाको गुणस्तर मापन गर्ने माध्यम भनेको त्यहाँबाट सन्चालित परीक्षा प्रणाली र तिनका नतिजा हुन । नतिजालाइ भन्दा पनि परीक्षा प्रणालीमै सबैको आँखा पुग्ने गरेको पाइन्छ । नेपालमा झन्डै नौवटा भन्दा बढि विश्वविद्यालय खुलिसकेका छन । एसएलसी बोर्ड,उच्च माध्यामिक शिक्षा परिषद एवं प्राविधीक बिषय अध्ययन गराउने तर्फ सिटीइभीटी आदि सन्चालनमा छन । ति मध्ये केहिको परीक्षा प्रणाली राम्रो मानिएता पनि अधिकांशको राम्रो मानिएको छैन । सबैका केहि न केहि त्रुटि सुन्नमा आइरहन्छन । केहि विश्वविद्यालयले १३ महिनामा पनि एउटा बर्षको नतिजा ननिकाल्ने अनि केहिले चाहि ३ महिना भित्रै नतिजा निकाल्न्ो गरेका छन् । यसबाट नेपालमा असमान परीक्षा प्रणाली विद्यमान छ भनेर भन्न सकिन्छ । जसले गर्दा समग्रमा नेपालको विश्वविद्यालय लगायतका शैक्षिक ंसस्थाहरुको परीक्षा प्रणालीमै प्रश्न चिन्ह खडा भएको छ । तपाइ हामि मध्ये धेरैलाइ पत्यार नलाग्न पनि सक्छ । हाम्रो देशमा केहि यस्ता विश्वविद्यालय पनि छन कि जहाँबाट पास भएका विद्यार्थीको रोजागारी दिने संस्थाले मार्कसीटको अंकको गणना अन्तवार्तामा गर्दैनन । सकेसम्म त प्रायले ति विश्वविद्यालयका उत्पादनलाइ लिन चाहन्नन । यदि वाध्यता वस लिइ हालेपनि तिनीहरुले पाएको अंक भने अन्तवार्तामा जोडिन्न । अन्तवार्ता दिन आउनेलाइ नै भन्ने गर्छन कि । तिमीले चोरेर ल्याएको नम्वर देखाउन पर्दैन । खालि कहि कतै काम गरेको छ छैन वा सम्वन्धित विषयको के कति अनुभव छ भनेर मात्र सोधिन्छ । विश्वविद्यालयको मुल्यांकन लाइ यसरि हेरिनुमा मुख्य कारण अव्यवस्थित र अमर्यादित परीक्षा प्रणाली नै हो । गत सालको एसएलसी परीक्षामा तराइका केहि केन्द्रमा गेस र गाइड राखेर परीक्षा दिन लगाइएका खवर पत्रपत्रिका र टेलिभिजनले प्रसारण गरेका थिए । त्यस्तै खालको परीक्षा प्रणाली भएका विश्वविद्यालय पनि नेपालमा सन्चालनमा रहेका छन । तसर्थ यदि शिक्षाको गुणस्तर र मार्कसीटको वैद्यता कायम गर्ने हो भने परीक्षा प्रणाली व्यवस्थित बनाउन खाचो भएको छ । एउटा उच्चशिक्षा हासिल गरिसकेको व्यक्तिलाइ राजगारीको शिलशिलामा जादा उसको मार्कसीटकै बारेमा प्रश्न चिन्ह लगाइन्छ भने उसले दिनरात मेहेनत गरेर पढेको भएतापनि त्यसके अर्थ के रह्यो त ? दुइ चार जना विग्रीएका लाइ लगाम लगाउन नसकि पुरै प्रणालीलाइ नै खराब बनाएर छाड्दा यस्तै नियती भोग्नुपर्ने हुन्छ । जसका कारण विश्वविद्यालय तथा परिषदहरु बदनाम बन्दै गएका छन । शिक्षाको क्षेत्रमा योभन्दा लज्जास्पद घटना अरु के नै मान्न सकिन्छ र ।
प्रसंग यहाँ ल्याउनुका कारण अहिले धमाधम सन्चालन भइरहेको सिटीइभिटीको प्रमाणपत्र तह,डिप्लोमा र टि एस्एलसीका परीक्षाका बारेमा आइरहेका समाचारहरुको सम्वन्धमा । सिटीइभिटीको एकाध घटनाहरु बाहेक परीक्षा प्रणालीमा हाल सम्म कुनै खोट लगाउने ठाउ देखिएको छैन । तर यसपटक सिटीइभीटीको विद्यार्थीहरु पनि यति धेरै गैर जिम्मेवार र अनियन्त्रित भएर उत्रेका छन कि चिट चोर्न पाएन भनेर शिक्षकलाइ हातपात गर्ने , कलेजको भौतिक सामान तोडफोड गर्ने लगायतका काम गर्न तम्तयार देखिन्छन । जसका लागि बिभिन्न हथकन्डाहरु गरिरहेका समाचारहरु दिनहुजसो आइरहेका छन । हालै सप्तरी र राजविराजका घटना बाट सिटीइभीटीका विद्यार्थीहरुले सिटीइभीटीकै बदनाम गर्ने कार्य गरिरहेका छन । जहाँ परीक्षामा चिट चोर्न नपाएर शिक्षकहरुलाइ हातपात गर्ने ,आगजनी गर्ने ,परीक्षा बहिस्कार गर्ने लगायतका घटना विद्यार्थीहरुले घटाएका छन । बास्तवमा शिक्षा क्षेत्रमा यो भन्दा ठूलो विडम्वनाको कुरा के नै हुन सक्छ र । सहज,सौहार्दपूर्ण र मर्यादित परीक्षा दिने वातावरण बनाउने काम विद्यार्थी ,शिक्षक,कर्मचारी र केन्द्रमा खटिएका प्रमुख परीक्षाका कर्मचारीको हो । तर त्यसो हुनसकिरहेको छैन ,अराजकता दिनानुदिन बढ्दै छ । यहि क्रममा केहि विद्यार्थीले काठमाडौकै एउटा केन्द्रमा शिक्षक र सिटीइभिटीका पदाधिकारी माथि सांघातिक हमला गरेको कुरा पनि सुन्नमा आएको छ । एउटा विद्यार्थीलाइ ज्ञान दिने गुरुलाइ विद्यार्थीहरु मिलेर निर्घात कुटपिट गर्ने भनेको कहा सम्म मानविय व्यवहार होला त ? यसले भोलिका दिनमा विद्यार्थी र शिक्षकको सम्वन्ध कस्तो होला ? यस्ता विद्यार्थीबाट मुलुकले के अपेक्षा गर्न सक्ला ?यस्तो अवस्थामा शिक्षकको मनोबल कस्तो होला ? तर यस्ता घटनाहरु घटे भन्दैमा के विद्यार्थीलाइ चिट चोर्न दिने त ? अन्यथा बाटो छेकेर पिट्छु भन्ने ति अमानविय व्यवहार भएका विद्यार्थीहरुलाइ कस्तो कानुनि कारवाही हुन्छ ? अवका दिनमा हेर्न बाकि छ । त्यस्ता खाले विद्यार्थीले सजाय पाउनुपर्छ । यदि त्यस्ता विद्यार्थीलाइ दन्ड सजाय दिन सकिएन भने भोलिका दिनमा मर्यादित ढंगले परीक्षा सन्चालन गर्ने केन्द्र शायदै भेटिएलान । परीक्षा हलमा अमर्यादित ढंगले व्यवहार देखाउने त्यस्ता विद्यार्थीहरु माथि कडाभन्दा कडा सजाय दिनुपर्दछ । यसमा कुनै राजनैतीक पुर्वाग्रह हेरिनु हुन्न । यदि सबै कुरामा राजनीति लागु गर्ने हो भने भोलि यो देशले कस्ता जनशक्ति उत्पादन गर्दछ त ? त्यसैले अनियमितता गर्ने विद्यार्थीको कारवाहिको दायरालाइ त झन फराकिलो बनाउदै लानु आवश्यक छ त्यसका लागि चाहे शिक्षा ऐनमै संशोधन किन गर्न नपरोस । अमर्यादित ढंगले परीक्षा सन्चालन गर्ने केन्द्रलाइ कारवाहि गर्ने अनि मर्यादित र व्यवस्थित ढंगले परीक्षा सन्चालन गर्नेलाइ पुरस्कार दिने व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ । यदि अन्तराष्ट्रीय स्तरमै हाम्रो शिक्षा प्रणालीको विश्वसनियता कायम गर्ने हो भने तत्कालै नेपालका सम्पर्ण विश्वविद्यालय एव परिषदका परीक्षा प्रणालीमा सुधार गर्नु पर्ने जरुरी छ । अन्यथा हालकै अनुसार जसोतसो परीक्षा चलाउदै जाने हो भने विद्याथीले चिट चोर्न पनि छोड्दैनन शिक्षकले नियन्त्रण पनि गर्न सक्दैनन ।
परीक्षा दुइ किसीमको हुन्छ । एउटा सैद्घान्तिक र अर्को प्रयोगात्मक परीक्षा । बिशेष गरि प्राविधीक बिषयका परीक्षाहरु प्रयोगात्मक हुने गरेका छन । बिशेष प्राविधीक बिषयका विद्यार्थीलाइ त अझ बढि कडा गरेर परीक्षा लिनुपर्दछ । ताकि प्राविधीक बिषयका विद्यार्थीले मैले चिट चोरेर पास गर्छु भन्ने आट नै गर्न नसकोस । यसको अर्थ फेरि अन्यलाइ चिट चोराएर पास गराए पनि हुन्छ भन्ने नलागोस । प्राविधीक विषयको कुरा गर्दा यो बिषय उतिर्ण गर्ने वितिक्कै तत्काल कार्यथलोमा गइ काम गर्न पर्ने हुदा यो बिषय बढि संवेदनशिल बिषय हो । जस्तो उदाहरणको लागि एउटा चिट चोरेर पास गरेका इन्जिनियरले बनाएको घर भवन पुल कस्तो होला त ? कल्पना पनि गर्न सकिन्न । स्वास्थ्य क्षेत्रका प्राविधीक मध्येमा पनि डाक्टर, नर्स,हेल्थ असिष्टेन्ट, रेडियोग्राफर अनि फार्मेसी लगायतमा अध्ययन गर्ने विद्यार्थीमा चीट चोर्ने मनोवृती बढ्दैगएको पाइन्छ । हालको सिटीइभीटीको घटना त्यसैका ज्वलन्त उदाहरण हुन । के एउटा चिट चोरेर पास गरेको फार्मेसिष्टले बिरामीलाइ डाक्टरले लेखेको सहि औषधि देला त ? के एउटा चिट चोरेर पास गरेको रेडियोग्राफर र ल्याव टेक्निसियन ले बिरामीको परीक्षण सहि ढंगले गर्ला त ? अनि एउटा चिट चोरेर पास गरेको नर्सले बिरामीको उपचारमा सहि तरिकाले जुटला त ?

प्रतिक्रिया