धनगढी, २४ असोज । संविधानसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् ।
मतदानका लागि ४१ दिन बाँकी रहँदा उम्मेदवारहरू घरदैलो, चियापान, निर्वाचन समिति गठन तथा शुभकामना आदानप्रदानमा व्यस्त देखिएका छन् ।
कैलालीका ६ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फबाट एक सय ५२ ले उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फ धेरै दलले उम्मेदवारी दिए पनि जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमा एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ ।
क्षेत्र नम्बर ३ मा भने नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) र एनेकपा माओवादीबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
यसपटक नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका कारण कैलालीको चुनावी पारो निकै बढेको छ । त्यसैगरी, एनेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लेखराज भट्ट पुरानै क्षेत्र(क्षेत्र नम्बर ५) उम्मेदवार बनेका छन् । पूर्वप्रधानमन्त्री देउवा २०६४ सालको निर्वाचनमा डडेल्धुरा र कञ्चनपुरको क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।
कांग्रेसबाट दीर्घराज भाट र नारायणदत्त मिश्र अघिल्लो संविधानसभा निर्वाचनमा पनि उम्मेदवार थिए । पूर्वजिल्ला सभापतिसमेत रहेका भाट पुन: क्षेत्र नम्बर पाँचबाट उम्मेदवार बनेका छन् भने अघिल्लो चुनावमा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मिश्रले यसपटक क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट यसपटक क्षेत्र नम्बर १ मा डा. रणबहादुर रावल, २ मा कमल शाह र ४ मा खेम चौधरीले उम्मेदवारी दिएका छन् ।
यसपटक एनेकपा माओवादीबाट पनि चार क्षेत्रमा नयाँ अनुहार छन् । एनेकपा माओवादीबाट क्षेत्र नम्बर १, २, ३ र ४ मा क्रमश: फूलराम डगौंरा, भीमबहादुर कडायत, शेरबहादुर चौधरी र गौरीशंकर चौधरीले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ५ मा भट्ट र ६ बाट लीला भण्डारीलाई पुन: उम्मेदवार बनाइएको छ । भट्ट र भण्डारी २०६४ सालको निर्वाचनमा विजयी भएका थिए ।
नेकपा एमालेबाट भने पाँच क्षेत्रमा नयाँ अनुहार छन् । जिल्लाको क्षेत्र नम्बर २ मा मात्र मोहनसिंह राठौर पुन: उम्मेदवार बनेका छन् । एमालेबाट क्षेत्र नम्बर ४ पार्टी अध्यक्ष दीर्घ सोडारी उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर १ मा प्रेम साउँद, ३ मा चन्द्रीकाप्रसाद चौधरी, ५ मा पद्मसिंह सिंगाल र ६ मा महेश्वर पाठक नयाँ अनुहार हुन् । पूर्वसांसद तथा एमाले सेती अञ्चल सचिव पाठक २०५१ सालको मध्यावधि निर्वाचनमा विजयी भएका थिए ।
कैलाली क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका वरिष्ठ नेता देउवा, एकीकृत नेकपा माओवादीकी भण्डारी र एमालेका पाठकबीच नै मुख्य प्रतिस्पर्धा रहने देखिएको छ । भण्डारी अघिल्लो संविधानसभा निर्वाचनमा विजयी भएकी थिइन् ।
क्षेत्र नम्बर ५ मा एमाओवादीका भट्ट, कांग्रेसका दीर्घराज भाट तथा एमालेका सिंगालबीच प्रतिस्पर्धा रहने देखिएको छ । अघिल्लो निर्वाचनमा भट्टले भाटलाई चार हजार तीन सय ४१ मत अन्तरले पराजित गरेका थिए ।
जिल्लाको क्षेत्र नम्बर ४ मा तीन पार्टीका उम्मेदवार नयाँ छन् । सो क्षेत्रबाट एमालेका जिल्ला अध्यक्ष सोडारी, कांग्रेसका खेम चौधरी र एनेकपा माओवादीका गौरीशंकर चौधरीबीच नै मुख्य प्रतिस्पर्धा रहने देखिएको छ ।
क्षेत्र नम्बर ३ मा कांग्रेसका मिश्र, एमाओवादीका शेरबहादुर चौधरी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०४८, ०५१ र ०५६ मा कांग्रेसबाट विजयी भएका रामजनम २०६४ को निर्वाचनमा फोरमबाट समानुपातिकतर्फबाट सभासद बनेका थिए ।
प्रतिक्रिया