दसैँ केन्द्रित चुनावी माहोल

NP-Rijalनेपाली जनताको घर आँगनमा सबैभन्दा ठूलो पर्व बडादसैँ र शुभ–दीपावली भित्रिन लागेका छन् । यसपालिको दसैँ हुने खानेका लागि सहज किसिमको हुने भए पनि नहुनेका लागि महँगो हुने भए पनि सधैँका वर्षझैँ ऋण खोजेर भए पनि बडादसैँ भव्यताका साथ मनाउने तयारीमा छन् । केही समयदेखि डलरको मूल्यमा भएको तीव्र उतारचढाव र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको भएको उतारचढावले गर्दा नेपाली अर्थतन्त्रमा तीव्र रूपमा मूल्यवृद्धि भएको छ । त्यो मूल्यवृद्धिले न्यून आय भएका नेपालीका लागि सामान्य लत्ताकपडा तथा खानेकुराको खरिद गर्न पनि धेरै चुनौतीपूर्ण बन्दै गएको छ । मूल्यवृद्धिको पीडालाई एकातिर थाती राखेर दुई ठूला चाड बडादसैँ र शुभ–दीपावलीलगत्तै आउने संविधानसभाको दोस्रो निर्वाचनले आमजनतामा केही आशंका किरण छाउने काम गरेको छ ।
मंसिर ४ मा हुने संविधानसभाको निर्वाचन दुई ठूला चाड बडादसैँ र शुभ–दीपावली साथै छठ, र इदलगत्तै हुने कारण त्यसले नयाँ ऊर्जा लिने कुराको आकलन गर्न सकिन्छ । चुनावको दिन आफ्नो गृह जिल्लामा आएर आफ्ना उमेदवारलाई मत हाल्नुपर्ने हुन्छ । त्यो एक देशभक्त नागरिकको प्रमुख कर्तव्य हो । निर्वाचन बहिष्कार गर्ने वा निर्वाचनका जुनसुकै किसिमका गतिविधिमा पनि सामेल नहुने व्यक्तिहरू पनि राजनीतिक बहसभन्दा टाडा रहन सक्दैनन् । उनीहरू पनि चुनावको प्रभावको बारेमा सुचिचित हुन्छन् भने निर्वाचनका नकारात्मक पक्षबारेमा बहस गर्न सामेल हुन्छन् । कुन राजनीतिक दलको प्रभाव बलियो छ ? कुन उमेदवारको स्थिति आफ्नो गृह क्षेत्रमा कस्तो किसिमको छ ? त्यसबारेमा आमजनताबीचमा आकलन हुन थालेको छ ।
नेपालीहरू अरू समयमा आफ्नो कर्मक्षेत्रमा नै बस्न रूचाए पनि बडादसैँको रमझम सुरु भएपछि भने आफ्नो गृहजिल्ला जाने गर्छन् । कामको सिलसिलामा देशको राजधानी तथा अन्य सहरमा काम गर्न गएका नेपाली स्वदेश फर्कने क्रम सुरु भएको छ । अन्य समयमा राजधानीमा मात्र सीमित हुने राजनीतिक बहस तथा माहोल तातिने गथ्र्याे भने यसपालि निर्वाचनको पूर्वसन्ध्यामा दश लाखभन्दा बढी जनता राजधानी छाडी आफ्नो गृहजिल्लामा दसैँ मनाउन आउँदै छन् । त्यो दश लाख जनताको जमातसँगै राजनीतिक चर्चा र परिचर्चा पनि प्रत्र्येक जिल्लाका गाउँहरूमा सहज रूपमा पुग्ने देखिन्छ ।
स्वदेशमा मात्र नभएर धेरै नेपाली जनता विदेशमा पनि कार्यरत छन् । धेरै जनता छिमेकी देश भारतमा कार्यरत छन् । निर्वाचनको माहोल बन्दै जाँदा उनीहरू स्वदेश आउने गर्छन् । यसपालि उनीहरू दसैँ मनाउनका लागि पनि आउने कारण चुनावी माहोल तातिए जस्तो नदेखिन पनि सक्छ । तर, यसपालिको जनताको प्रवाहचाहिँ वास्तविक रूपमा नै चुनाव केन्द्रित हुने भएको छ । उमेदवारको मनोनयन दर्तासँगै उमेदवारहरू आफ्ना कार्यकर्ताहरू परिचालन गर्नका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने हुन्छ । तर, यसपालि राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई राजधानी तथा अन्य क्षेत्रबाट सम्बन्धित निर्वाचन क्षेत्रमा पठाउनुपर्ने अवस्था छैन । उनीहरू आफ्नो गाउँमा स्वाभाविक रूपमा जाने कारण राजनीतिक बहस पनि स्वफूर्त रूपमा तातिने देखिन्छ ।
बडादसैँको समय भनेको केही फुर्सदिलो समय हो । सरकारी कार्यालय बिदा हुने, विद्यार्थीको पठनपाठन पनि स्थगित हुने, कृषकका लागि बालीनाली लगाउने र उठाउने चटारो पनि नहुने कारण उनीहरूको धेरैभन्दा धेरै समय चुनावी चर्चा र परिचर्चामा नै बित्न जाने देखिन्छ । दसैँमा आफन्तको घरमा टीका थाप्न जाँदा होस या गाउँघरमा धेरै समयपछि भेट भएका इष्टमित्रबीच रमाइला गफभन्दा पनि राजनीतिक दलको करेज र उनीहरूको प्रभावकारिताको आकलन गर्नमा नै बित्ने देखिन्छ । त्यो राजनीतिक दलहरूका लागि फाइदाकारी पक्ष हो ।
विगतमा लामो समयसम्म अन्योलपूर्ण अवस्थाको सामना गरेका आमजनताका लागि यसपालिको संविधानसभाको निर्वाचन एक नयाँ आशाको पाटोको रूपमा देखापरेको छ । पहिलो संविधानसभाले देशमा स्पष्ट निकासको बाटो देखाउन सकेन । राजनीतिक दलहरूले जनतामा जुन किसिमको आशाको सञ्चार प्रवाह गरेका थिए त्यो सञ्चार माटोमा मिल्न पुगेको छ । त्यसलाई पुन: उजागर गर्नका लागि दलहरूले निकैठूलो कसरत गर्नु आवश्यक छ । जनतामा मीठामीठा आस्वाशनहरू दिने तर समस्या समाधान गर्न नसक्ने खालको संस्कार धेरैपल्ट नेताहरूमा दोहोरिएको कारण आमजनतालाई आफ्नो पोल्टामा पार्नका लागि गाउँसम्म जाने एक प्रभावकारी अवसर दसैँले सिर्जना गरेको छ ।
हरेक गाउँमा विभिन्न राजनीतिक विचारधारा भएका मानिसको बसोबास हुन्छ । ती विचारधारा भएका मानिस निर्वाचन हुनुभन्दा झन्डै ३५ दिन अगावै भेट हुने भएका छन् । राजधानीमा बसेर एक वर्षपछाडि मात्र गाउँ आएको मान्छेले स्थानीय जनतासँग आफ्ना कुराहरू साटासाट गर्न पाउँछन् । ठूला राजनीतिक दल आफ्नो पक्षमा प्रत्यक्षतर्फ कति र समानुपातिकतर्फ कति मत आउन सक्छ भने आकलन गरे जस्तै स्थानीयस्तरमा आमजनताले कुन दलको पक्षमा कति जनमत जान सक्नेछ त्यसबारेमा आवश्यक छलफल गर्न सक्नेछन् । लामो समयसम्म टाडा बसेका जनताबीच भिन्न परिवेशको राजनीतिक विचारधाराले विकसित गरेको राजनीतिक चिन्तन तथा राजनीतिक दलहरूप्रतिको आस्थाले अन्य व्यक्तिलाई प्रभावित पार्ने गर्छन् भने उनीहरू पनि अन्य विचारधारा भएका मानिसबाट प्रभावित हुन्छन् । अर्थात् यस्तो समयमा धेरैभन्दा धेरै राजनीतिक भावनाको प्रभाह हुने गरेको पाइन्छ ।
अर्कोतिर, दसैँको समयमा मानिसको घुलमिल ज्यादा आफन्तसँग हुन्छ । त्यसकारण उनीहरूको नयाँ चिन्तनले आफन्तहरूमा राजनीतिक सचेतना प्रभाह गर्न सक्ने छ । विगत ६ वर्षको दौरनामा आम मानिसमा पनि आफूले आस्था राख्ने राजनीतिक दलहरू प्रति केही न केही राजनीतिक वितिष्णा पैदा भएको पाइन्छ । पञ्चायत कालमा बहुदलीय प्रजातन्त्रको लागि आन्दोलन गरेका जनताले प्रजान्तत्रको स्थापना भएपछि पनि राजनीतिक दलहरूले निराशा मात्र दिए पनि बाह्रवर्षे माओवादी जनयुद्धमा आँखा चिम्म पारेर होमिएका थिए । त्यो आन्दोलनले जनतामा नयाँ आशाको सिर्जना गरेको थयो । तर विगत ८ वर्षको दौरानमा त्यो आशा पनि निराशाामा परिणत भयो । पहिलो संविधानसभाको निर्वाचनमा दलका मीठा सपनाहरूप्रति आमजनताले हाँमा हाँ मिलाएका थिए । तर, सत्ताका लागि मात्र कुर्सीको लडाइँ खेपेका नेताहरू सहमति र राष्ट्रियताको पक्षमा आवाज उठाउनुभन्दा पनि पार्टीगत स्वार्थमा होमिए । त्यो कुराको राम्रोसँग आकलन गरेका जनताले आफ्नो विचार खुला रूपमा आफन्तसँग राख्न सक्ने कारण पनि दसैँको समयमा प्रभावकारी रूपमा राजनीतिक धारणाका सञ्चार हुने देखिन्छ । बडादसैँको शुभकामनाको साटासाटसँगै आमजनतामा योग्य उमेदवारको चयन गर्न सक्ने शक्ति दुर्गा भवानीले प्रदान गर्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया