अब एमालेले बन्द र शैक्षिक हडताल नगर्ने

ललितपुर: एमाले केन्द्रीय सदस्य गंगालाल तुलाधरले एमालेले संविधानसभा निर्वाचनको घोषणापत्रमै नेपाल बन्द र शैक्षिक हडताल नगर्ने प्रतिबद्धता ल्याउन लागेको बताएका छन् ।
सिविन नेपालद्वारा मंगलबार आयोजित राजनीतिक दलका घोषणापत्र र बालअधिकारका सन्दर्भ विषयक अन्तरक्रिया कार्यक्रममा उनले एमालेले ०६४ मा ल्याएको घोषणापत्रमा बालमैत्री शिक्षण सिकाइ गर्ने उल्लेख गरिएको बताए । उनले घोषणापत्रमै सबै विद्यालयमा छात्रा शौचालय कार्यक्रम ल्याएकोसमेत जानकारी गराए ।
एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले अभिभावकले आफ्नो बालबालिकाको राम्रो शिक्षाको चाहना हुँदाहुँदै पनि गरिबी बाधक बनेकाले आर्थिक उपार्जनका कार्यक्रममा सबै केन्द्रित हुनुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले बालबालिकाको आधारभूत अधिकार शिक्षामा लगानी बढाउने र वृत्ति विकासका लागि थप योजना ल्याउने आफ्नो पार्टीको घोषणापत्रमै उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राप्रपाका प्रवक्ता ठाकुरप्रसाद शर्माले विद्यालय पोसाकसहित जुलुसमा हिँडाउने प्रचारमा दौडाउने दल र बालबालिकाको दुरुपयोग गर्ने सबैलाई एकै नजरमा हेर्नु नहुने विचार व्यक्त गरे ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र मिश्र, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सचिव रवीन्द्र ठाकुर, सिविन नेपालका अध्यक्ष माधव प्रधानले आसन्न संविधानसभा निर्वाचन र निर्वाचनपछि बन्ने संविधानमा बालअधिकारका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले ०५२ देखि ११ वर्ष चलेको सशस्त्र द्वन्द्वले बालबालिकाको बाँच्न पाउने, विकास र सहभागिताको अधिकार कुण्ठित गरेसँगै राजनीतिक अस्थिरताले अहिलेसम्म उचित वातावरण बन्न नसकेको गुनासो गरे ।
उनले बालबालिकाको वर्तमान र भविष्य सुरक्षित र सुनिश्चित गर्न प्रत्येक घरपरिवार, समुदाय र सरकार गम्भीर बन्न नसकेकाप्रति दु:ख व्यक्त गरे । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ), सिविन नेपाल र राष्ट्रिय योजना आयोगले संयुक्त रूपमा हालै गरेको एक सर्वेक्षणअनुसार नेपालमा एक वर्षमुनिका सबै बालबालिकालाई दिइने खोप झन्डै १५ प्रतिशतले नपाएका, ४१ प्रतिशत बालबालिका कुपोषित रहेकाप्रति एक हजारमा ५४ जना बालबालिका र प्रतिहजारमा ३४ जना शिशु अवस्थामै ज्यान गुमाउने गरेका तथ्यांक छ । (सौस)

प्रतिक्रिया