रूपान्तरणमा समन्वयवादी प्रवृत्ति

Shiba-raj-Bhandariपहिले हाम्रो देश हिन्दूराष्ट्र थियो । अहिले हामी धर्मनिरपेक्ष राष्ट्रमा परिवर्तन भएका छौँ । हिन्दू अधिराज्य भए पनि सबै धर्मावलम्बीलाई मिलाएको दाबी गर्नेहरू सहिष्ण्ताको पाठ पढाउँथे र धार्मिक सहिष्ण्ताको आदर्श ओकलिन्थ्यो । राजा हिन्दू, बहुसंख्यक पनि हिन्दू नै । हिन्दूको चाडपर्व विशेषमा सरकारी तबरबाटै प्रोत्साहित दिइन्थ्यो । धर्म परिवर्तनका कडा कानुन थिए । मुलुकी ऐनमा अदालको महल भन्ने छुट्टै महल नै थियो । ऐन, कानुन पनि धेरैजसो हिन्दू धर्मबाटै प्रभावित थिए । वास्तवमा धार्मिक सहिष्ण्ता भुलभुलैया मात्र थियो । तर, पनि विभिन्न धार्मिक परम्परालाई बिरालो छोपी श्रद्धा गर्ने परम्पराको बिडोको रूपमा मानिएको थियो । त्यसको प्रभाव वर्तमानसम्म कायमै छ । तिनै चाडपर्वमध्येको दसैँ अहिले हाम्रासामु उपस्थित छ । दसैँ मनाउन घर फर्कने, भेटघाट गर्ने, राम्रो नयाँ लगाउने र खाने यो पर्वले कैयौँ नेपालीलाई दशाकै रूपमा चरितार्थ गराउँछ किभने मनोविज्ञानले सधैँ ग्रस्त बनाइरहेको पाइन्छ । हिन्दू राज्यका आदर्शलाई अगाडि सार्ने क्रममा असत्यमाथि सत्यको विजय भनी राग अलापे पनि गरिखाने र मेहनती जनतालाई कहिल्यै पनि यो पर्वले छुन सकेन । आदिम अवस्थामा तमाम श्रमजीवि वर्गलाई झुक्याउन रचिएका यस्ता कथनलाई शोसी खान पल्केका फटाहाहरूले बनाएका किंवदन्तीहरू न त जनताका कल्याणमा भए न त समाजका परेका बानी वा सूत्र बन्न सके । फगत निराशा, कुण्ठा र परनिर्भरताको भुलभुलैयामा कथित दैवी शक्तितका कित्ता विभाजन गराउन पुगे । हिन्दूबाहेक अन्य धर्मावलम्बीहरू एउटै समाजमा रहँदा पार्ने प्रभावबाहेक दसैँसँग लिनु–दिनुको साइनो गाँसिने कुरै भएन । हिन्दूका केही पन्थबाहेक र जबर्जस्ती हिन्दू प्रभावमा परेका बाहेक दसैँ मनाउने हिन्दूका हकमा पनि दसैँ विशेषगरी हुनेखाने र जसरी पनि कमाउने तथा खर्च गर्ने वर्गले भव्यताका साथ मनाउने यो पर्व पछिल्ला दिनमा आएर अझ निराशाहरू थपिँदै गएका छन् ।
विशेषगरी सामाजिक पर्वहरू मान्ने र मनाउनेमा न हाँसको चाल छ न बकुल्लाको । नितान्त दैवी शक्तिसँग जोडिएको यो पर्व भौतिकवादीहरूले समेत चाहेर नचाहेर पनि केही न केही रूपमा मनाएको देखिन्छ । जसका कारणले मान्छेलाई दिशाभ्रमित हुने र उपलब्धिविहीन यस्ता पर्वहरूले कालान्तरसम्म निरन्तरता पाउने देखिन्छ । अत: मुखले धर्मलाई अफिमको संज्ञा दिने तर व्यवहारमा पूर्णरूपमा निषेध नगर्ने हो भने करणी र कथनी फरक पर्ने हुँदा जनताले विश्वास गर्दैनन् । हो, यस्ता पर्व वा चाडको हजारौँ वर्षदेखि हाम्रो साइनो गाँसिएको हुँदा छोड्न कठिनाइ पर्छ । त्यसैले राजनीतिक परिवर्तन जति छिटो गर्न सकिन्छ, सांस्कृतिक परिवर्तन त्यति सरल र सहज हुँदैन । तैपनि सुधार वा परिवर्तनको छनक आफैँबाट देखाउन र गच्छेअनुसारको भूमिकामा रहको अगुवाबाट अग्रसरता बढी हुनु आवश्यक पर्छ । नवीन सोच र परिवर्तनका लागि केही अप्ठ्यारो पर्ने भए पनि त्यसमा केही जोखिम उठाउनै पर्छ ।
समाज रूपान्तरणको आशा र भरोसा गरेका मूर्धन्य व्यक्तित्वहरूले कसरी दसैँ मनाउलान् ? के–के गर्लान् भनी जिज्ञासा हुनुलाई अन्यथा मानिँदैन । त्यस्ता व्यक्तित्वहरूको निजी मामिला भए पनि जनताहरूले चियोचर्चा गर्दा विगत वषको तुलनामा भनाइअनुसार गराइयो, फरक नपर्ला भनी सकारात्मक सोच राख्न सकिन्छ । कसैलाई बाबुको बाध्यता, कसैलाई सासूको बाध्यता र कसैलाई आमाको बाध्यता भन्दै टीकाटालो भयो भने जनता के सोच्लान् ? यसबारेमा एउटा उपयुक्त सोच बनाउँदा राम्रो हुने हो । ग्रामीणबस्ती अनिकालले ग्रस्त छ, औषधिमूलो नपाएकाहरूको दु:ख–दर्दले भावुकता बढाउला । सहर, बजारमा बस्ने सदावहार एउटा वर्ग र भुइँफुट्टावर्गले जेन तेन दसैँ राम्रैसँग मनाउलान् । नयाँ भाइभारदारहरू कथित कुलिनवर्गीय र तिनका आसेपासे, श्रीपेचबिनाका भुरेटाकुरेहरू तथा नयाँ सामन्तहरू त्यस्तै उच्च पदस्थ नोकरशाह एवं विभिन्न राजदूतावासका हुन्डीबाट रमाएकाहरू र थोरै मात्र आफ्नै बलबुताको कमाइबाट बाँचेका सीमितवर्गबाहेकले दसैँलाई दशाको रूपमा लिने गरेका छन् । ‘खाउँ भने कान्छाबुबाको अनुहार नखाउँm भने दिनभरिको सिकार’ आमजनताका लागि दसैँले यही भनाइरहेको छ । लामो सरकारी बिदा र १५ दिने दसैँ जात्रामा कतिले सास्ती पाउँछन्, कतिले कष्ट पाउँछन् ? यही नियतिभित्र दसैँ मनाउने नाममा आथिर्क सहयोगका निवेदनहरू सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा विशेषगरी गृह र अर्थमन्त्रालयका मन्त्रीज्यूको निजी सचिवालयदेखि ठूलाठूला प्रोजेक्ट संस्थाहरूमा तोक, आदेशका लागि घुमाइँदै होलान् । जसरी हिजो मन्डलेतन्त्र बचाउने भाकामा निवेदन लेखिन्थे, त्यसरी नै आज नयाँ नेपाल बनाउने भाकामा निवेदनका व्यहोरामा बान्की परेका होलान् । दसैँतिहारका सेरोफेरोमा वाषिर्क बजेट स्वाहा हुने पुरानै प्रवृत्ति दोहोरिने नियतिले अनिकाल र औषधिमूलो नपाएर छटपटिएका नेपालीको अवस्थामा कुनै परिवर्तन देखिँदैन । सिर्फ एउटा छट्टुको सट्टा अर्को छट्टुको दिन फिरेको अवस्थामा हाम्रा अनुत्पादक चाडपर्व हट्नुको सट्टा बोझ मात्र बढ्नेछ । मन, वचन, कर्मले हामी आफैँ सुध्रनुपर्छ र सरल तरिकाले उपार्जन गर्ने बानी छाडेर भड्किलो रवाफ देखाउँदै जाने र सोअनुसार खर्च बढ्दै गयो भने सम्पन्न परिवारको बिग्रेको छोरोजस्तो बोझ मात्र हुनेछ र हाम्रा चाडपर्व पनि टार्नैपर्ने बाध्यताबाहेक केही हुने छैनन् ।यसैसँग परम्परागत चाडपर्वलाई हेर्ने दृष्ट्रिकोण, संस्कृति र सांस्कृतिक रूपान्तरणको प्रश्न पनि स्वाभाविकरूपले टड्कारो रूपमा जोडिएको छ । यो प्रश्नको उत्तर खोज्न नेपालमा खासगरि प्रगतिशील सांस्कृतिक रूपान्तरणका पक्षपातिहरू विगत ६ दशकभन्दा बढी समयदेखि क्रियाशील छन् । तथापि व्यवहारिक रूपमा अझ यो प्रश्नमा केही अन्योल जारी छ । नेपालको प्रगतिशील सांस्कृतिक रूपान्तरणको सन्दर्भमा देखिने समन्वयवादी चिन्तनले यी अन्योललाई थप गरेको छ । संस्कृति र सांस्कृतिक रूपान्तरणको प्रश्नको प्रारम्भ संस्कृति के हो र यो कहाँबाट सुरु हुन्छ भन्नेबारे अझै पनि धेरैको बुझाइ एकांकी वा भ्रमपूर्ण छ । नेपालको प्रगतिशील वामपन्थी आन्दोलनमा यस विषयमा कहिले अतिवादी र कहिले समन्वयवादी चिन्तन हावी हुँदै आएको छ । नेपालमा प्रगतिशील सांस्कृतिक आन्दोलन प्रारम्भ भएको साठी वर्षपछि पनि यही गलत प्रवृत्तिले हामीलाई झन्डै घुम्दैफिर्दै रुम्जाटारको स्थितिमा पुर्‍याउने खतरा उत्पन्न गरेको छ र यसले कतिपय सांस्कृतिक प्रश्नमा हामी थप ओरालो त लाग्दै छैनौँ भन्ने आशंकासमेत उत्पन्न गराइरहेको छ । राजनीतिक रूपमा अहिले पनि स्वाभाविक रूपले समस्याहरू छँदै छन् तथापि खासगरि जनयुद्ध र जनआन्दोलनको बलमा मुलुकमा युगान्तकारी परिवर्तन वा रूपान्तरण भएका छन् ।
यति विशाल उपलब्धिपछि प्रगतिशील राजनीतिक आन्दोलनको एउटा अभिन्न अंग प्रगतिशील सांस्कृतिक रूपान्तरणको क्षेत्रमा पनि सोहीअनुसारको प्रगति हुनुपर्ने थियो । तर, त्यसविपरीत नेपालको प्रगतिशील वामपन्थी आन्दोलनमा अहिले प्रतिध्रुवीय संस्कृतिलाई तुष्टिकरण गर्ने समन्वयवादी संस्कृति कायमै रहेको छ । चाडपर्व पूजाआजालगायतका क्षेत्रमा समन्वयवादी वर्णशंकर प्रवृत्तिले हाम्रो सांस्कृतिक रूपान्तरणको आन्दोलनलाई गम्भीर अवरोध सिर्जना गरेको छ । यसले सिद्धान्त र व्यवहार दुवैमा अन्योल थप्ने काम गरेको छ । आजभन्दा साठी वर्ष अघिको कठोर सामन्ती बन्द समाजमा जातिपाती, जातभातलगायतका क्षेत्रमा विद्रोह गरेर सुरु भएको प्रगतिशील सांस्कृतिक आन्दोलन ओरालो त लागेको होइन ? भन्ने परिदृष्य देखापरेका छन् । विरोध र विद्रोहको साटो मानिदिए के हुन्छ ? चलिआएको चलन हो भन्ने समन्वयवादी प्रवृत्ति बढ्दै छ र त्यो प्रवृत्ति मुलुकका वामपन्थी शक्तिमा समेत देखा पर्नु चिन्ताको विषय हो ।

प्रतिक्रिया