शान्ति–सुरक्षाको प्रत्याभूति देऊ

संविधानसभा निर्वाचनका लागि नाम दर्ता गरेको २४ घन्टा बित्न नपाउँदै एमाले बारा क्षेत्र नं. ४ का उम्मेदवार महमुद आलममाथि गोली प्रहार भयो । उनलाई भारतीय नम्बर प्लेट भएको मोटर साइकलमा आएका व्यक्तिले गोली हानेर फरार भएको बताइयो । तराई त्यसमा पनि मध्य तराईमा शान्ति सुरक्षाको अवस्था राम्रो छैन । त्यस क्षेत्रमा हत्या–हिंसा, लुटपाट, डकैती सबै भइरहेको छ । राज्यको उपस्थिति न्यून देखिन्छ । अपहरण, फिरौती र हत्या सामान्य घटना लाग्न थालेका छन् । त्यस क्षेत्रको स्थिति २० वर्षअघिको लालुयादवको विहारालई सम्झाउने खालको छ । सर्वसाधारण जनता पीडित छन् । विभिन्नखाले अपराधिक समूह गठन गरेर राजनीतिक आवरणमा हत्या, हिंसा, अपहरण गर्नेहरूलाई कारबाही गर्न सकिरहेको अवस्था छैन । राष्ट्रिय पार्टीको नेता, सभासद् पदको उम्मेदवार र सामाजिक कार्यकर्तामाथि दिउँसै गोली प्रहार गरिन्छ भने अन्य सर्वसाधारणको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । मध्य तराई र पूर्वी पहाडलाई शान्ति सुरक्षाको हिसाबले अति संवेदनशील मानिए पनि सरकारले तदनुरूप व्यवस्था गर्न सकेको छैन । जसले गर्दा उम्मेदवारहरू नै गोलीको निशानामा पर्न थालेका छन् । यदि यो अवस्था अन्यत्र पनि फैलिन थाल्यो भने मुलुकको स्थिति के होला सोच्नुपर्ने भएको छ ।
राष्ट्र, लोकतन्त्र, संविधान र जनता विरोधी अपराधिक समूहले मध्य तराईलाई अखाडाका रूपमा प्रयोग गरेका छन् । भारतसँगको खुला सिमानाको फाइदा उठाएर अपराधीहरू एकले अर्को देशमा आश्रय लिने गरेका छन् । एउटा देशमा अपराध गरेर अर्को देशमा लुक्न त्यस्ता अपराधीलाई सजिलो भएको छ । दुवै देशका सुरक्षा निकायले समन्वय गरेर अपराधीहरूको खोजबिन गरेर पक्राउ गर्न नसक्ने हो भने स्थिति भयावह बन्दै जाने देखिन्छ । महमुद आलममाथि भएको घटनाको जिम्मेवारी लिन तराईका अपराधीहरू तँछाडमछाड गर्दै छन् । २० वर्षअघि विहारमा पनि यस्तै हुने गरेको इतिहास छ । विहारका अपराधीहरूलाई तह लगाउन भारत सरकारलाई निकै मुस्किल पर्‍यो । लालु यादवको शासन सकिएपछि भने त्यहाँका अपराधी समूह र व्यक्तिलाई छानीछानी कारबाही गरियो र धरासाही बनाइयो । अहिले विहारको वातावरण सहज बन्दै गएको छ । त्यसकै तुषको रूपमा रहेका अपराधीहरू नेपाली भूमिमा आएर अपराध गर्ने वा नेपाली नै त्यो कर्ममा लागेको अवस्था छ । यो अवस्थालाई निमिट्यान्न पार्न पनि दुई देशका सुरक्षा निकायबीच समन्वयकारी भूमिकाको आवश्यकता पर्छ । नेपालका अपारधीहरूले भारतीय भूमि प्रयोग गरिरहेका छन् । ती अपराधीलाई भारतीय सुरक्षा निकायले पक्राउ गर्न सक्तैनन् भन्ने छैन । नेपालभित्र काठमाडौं, पोखरा नेपालगञ्जलगायतका स्थानमा आएर भारतीय अपारधीलाई पक्राउ गर्न सक्ने भारतीय सुरक्षा निकायले आफ्नै देशमा बसेर अपारध कर्म गरिरहेकालाई पक्राउ गर्न सक्तैन भन्ने हँुदैन । यसका लागि नेपाल सरकारले भारत सरकारलाई विशेष अनुरोध गर्नुपर्छ । नेपाली नेता र सरकारले अन्य विभिन्नखाले सन्धि, सम्झौता र सहमति गर्न सक्छन् भने अपराधीहरू पक्राउ गर्नका लागि किन अनुरोध नगर्ने ? यहाँ महमुद आलम मात्र होइन कसैको पनि जीवन सुरक्षित छैन । तसर्थ, यस्ता अपराधिक घटना रोक्ने, शान्ति, सुरक्षा स्थापित गर्ने र संविधानसभाको निर्वाचनलाई भयरहित बनाउनेतर्फ ध्यान दिनुपर्छ । सरकार र चार राजनीतिक दलले संविधानसभाको निर्वाचनलाई जीवन मरणको प्रश्न बनाई रहेको अवस्थामा उम्मेदवारमाथि नै गोली प्रहार हुनु राम्रो लक्षण होइन । यसले सबै उम्मदेवार र मतदातको मनोबल गिराउने काम गर्छ । अपराधी जोसुकै भए पनि तिनीहरूलाई पक्राउ गरेर कारबाही नगर्ने हो भने शान्ति सुरक्षाको सवालमा गम्भीर प्रश्न उठ्ने छ । तसर्थ, कुनै पनि हालतमा अपराधीलाई पक्राउ गरेर कारबाहीमा ल्याउनुपर्छ ।

प्रतिक्रिया