राणाको अन्तर्वार्ताले सेना दबाबमा

Gaurab Shamsher jabaraकाठमाडौं, २१ असोज । नेपाली सेनाले प्रधानसेनापति गौरवशमशेर राणाले भारत भ्रमणका क्रममा कुनै पनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिएको दाबी गरेको छ । नेपाल र छिमेकी मुलुकहरू भारत तथा चीनको सुरक्षासँग सम्बन्धित विषयमा भारतीय सञ्चारमाध्यममा प्रकाशित प्रधानसेनापति राणाको अन्तर्वार्तालाई लिएर चर्को आलोचना भएपछि सेनाले त्यसको खण्डन गरेको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार विज्ञप्तिमार्फत विभिन्न सञ्चारमाध्यममा नेपाल र छिमेकी मुलुकहरूको सुरक्षासँग सम्बन्धित विषयमा टीकाटिप्पणी गर्दै अन्तर्वार्ता दिएको भन्ने समाचार भ्रामक भएको जनाएको छ । ‘साताव्यापी भ्रमणका क्रममा प्रधानसेनापति राणाले सञ्चार जगत्लाई कुनै किसिमको औपचारिक अन्तर्वार्ता नदिएको हुँदा उक्त टीकाटिप्पणी आफैँमा अप्रासंगिक तबरले संप्रेषण गरेको देखिन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।
राणाले भारत भ्रमणका क्रममा भारतीय पत्रिका टाइम्स अफ इन्डियालाई अन्तर्वार्ता दिँदै चिनियाँ सेना भारतीय भूमिमा घुस्न नसक्ने बताएका थिए । उनले अन्तर्वार्तामा भारतीय सेना चीनसँग लड्न सक्षम रहे पनि भारतसँग राजनीतिक इच्छाशक्तिको अभाव रहेको बताएका थिए । उनको उक्त अभिव्यक्तिप्रति नेपाल र भारतमा चर्को विरोध भएको छ ।
सैनिक जनसम्र्पक निर्देशनालयले जारी गरेको विज्ञप्तिमा नेपाली सेना एक पेसेवर, अराजनीतिक र संविधानले प्रदत्त गरेका अधिकार क्षेत्रभित्र रही नागरिक सर्वाेच्चतालाई सम्मान गर्ने संस्था भएको पनि उल्लेख छ । ‘नेपाली सेना वा नेपाली सेनाको नेतृत्वले त्यस प्रकृतिको गैरजिम्मेवारीपूर्ण टीकाटिप्पणी गर्ने सम्भावना नै नरहेको र त्यस प्रकृतिको टीकाटिप्पणी सैनिक नेतृत्वबाट नभएको यथार्थ सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
टाइम्स अफ इन्डियाले राणासँग विशेष अन्तर्वार्ता भन्दै भारत र चीनबीच युद्ध भइहाले नेपालले असंग्लनताको नीतिअनुसार कुनै पनि मुलुकको पक्ष नलिने राणाको भनाइ प्रकाशमा ल्याएको थियो । अन्तर्वार्तामा सेनापति राणाले नेपाल सधैँ असंग्लनताको नीतिमा अडिग रहने बताएका थिए ।
चीन भारतमा घुस्न नसक्ने राणाको अभिव्यक्तिलाई भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले पनि विरोध गरेका छन् । बहालवाला सेनापतिले राजनीतिक टिप्पणी गर्न नमिल्ने स्पष्ट पार्दै मेहताले राणाको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
केही समयअघि चिनियाँ जनमुक्ति सेना भारतको लद्दाक र अरुणाञ्चल प्रदेशमा घुसेको खबर भारतीय सञ्चारमाध्यममा आएको थियो । चिनियाँ सेना लद्दाकमा घुसेको भन्ने रिपोर्टलाई राणाले आफ्नो अन्तर्वार्तामा असम्भव भएको उल्लेख गरेका थिए ।
चिनियाँ जनमुक्ति सेना भारत मात्र नभई नेपालमा पनि घुस्न नसक्ने राणाको दाबी थियो । ‘चीन भारतमा घुस्न सक्दैनन्, न त नेपालमा नै, पिएलए भारतमा घुस्नुपर्ने कुनै कारण छैन,’ टाइम्स अफ इन्डियासँगको विशेष अन्तर्वार्तामा राणाले भनेका छन् । उनले हिमालय वा इन्डो गंगेटिक समथल क्षेत्रमा समेत चीन घुस्न नसक्ने दाबी गरेका थिए ।
उनले चीन आफैँ समस्यामा रहेको अन्तर्वार्तामा औँल्याएका थिए । ‘चीन तिब्बती मुद्दामै अल्झिरहेको छ, जिङज्याङ प्रान्तमा पृथकतावादी आन्दोलन छ, यस्तो अवस्था पिएलए भारत वा नेपालमा छिर्ने कुरा थेग्न सक्दैन,’ उनले भनेका थिए ।
राणाको अभिव्यक्ति सार्वजनिक भएलगत्तै त्यसप्रति नेपालकै सुरक्षाविद्हरूले पनि आपत्ति जनाएका थिए । उनीहरूले प्रधानसेनापति राणाको अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमा कटुता उत्पन्न हुनसक्ने भन्दै राणाले आफ्नो दायरा बिर्सन नहुने सुझावसमेत दिएका थिए ।
सुरक्षाविद् डा. दीपकप्रकाश भट्टले प्रधानसेनापतिले अर्को देशको सुरक्षा मुद्दासँग जोडिएको विषयमाथि बोल्नु जायज नभएको टिप्पणी गरेका थिए । सेनापतिले नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको विषयमा मात्र बोल्न मिल्ने भट्टको भनाइ थियो । ‘भारत, चीनलगायत देशसँग जोडिएको विषयबारे नेपालको सेनापतिले बोल्न मिल्दैन,’ उनले भनेका थिए, ‘झन् भारतीय राजनीतिज्ञबारे भारतीय सेनापतिले नबोलेको कुरा नेपालको सेनापतिले किन बोल्नु ?’
राणा एक साता लामो भारत भ्रमण पूरा गरेर १९ असोजमा स्वदेश फर्किएका थिए ।

कारबाही गर्नुपर्‍यो : माओवादी मोर्चा
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले प्रधानसेनापति गौरवशमशेर राणामाथि कारबाहीको माग गरेको छ । भारत भ्रमणमा रहेका बेला प्रधानसेनापति राणाले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको निष्कर्ष निकाल्दै उनलाई कारबाही गर्न मोर्चाले आइतबार सरकारसँग माग गरेको हो ।
आइतबार बसेको मोर्चाको बैठकले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिने राणालाई कारबाही गर्न माग गरिएको बैठकपछि ३३ कार्यदलका संयोजक देव गुरुङले जानकारी दिए । ‘राज्यको महत्त्वपूर्ण निकायमा बसेको जिम्मेवार व्यक्तिले कूटनीति मर्यादा नाघेर बोल्नु हुन्थ्यो या हुँदैनथ्यो, यो विषयमा सरकारले छानबिन गर्नुपर्छ,’ नेता गुरुङले भने, ‘कूटनीतिक मर्यादा नाघेको भए प्रधानसेनापतिलाई कारबाही गर्नुपर्छ ।’

प्रतिक्रिया