नीर शाहलाई “अभिनय शिरोमणि” उपाधि

Neer-Shahaनेपाल चलचित्र प्राविधिक संघले वरिष्ठ अभिनेता नीर शाहलाई अभिनय शिरोमणि घोषणा गरेको छ । मलेसियामा आयोजना हुने छैटौँ  नेफ्टा अवार्डका लागि संघले उत्कृष्ट तीन मनोनयन सार्वजनिक गर्दै शाहलाई अभिनय शिरोमणि घोषणा गरेको हो । लामो समयदेखि चलचित्रमा अभिनय गर्दै आएका शाहले अभिनय शिरोमणिको पदवी आफ्ना लागि निकै गह्रुंगो भएको प्रतिक्रिया दिए । संघले मलेसियामा शाहको भव्य सम्मान हुने जनाएको छ । अघिल्लोपटक नायक हमाललाई महानायकको उपाधि दिइएको थियो ।
शुक्रबार ३१ विधामा बाँडिने अवार्डमा उत्कृष्ट ५ मनोनयनबाट उत्कृष्ट ३ छानेको हो । मलेसियामा धेरै फिल्मकर्मी लान नसकिने अवस्था रहेकाले प्राविधिक संघले टप ५ बाट टप ३ निकालेको हो । प्राविधिक संघका अध्यक्ष मनोज केसीले सम्बन्धित विधाका उत्कृष्ट फिल्मकर्मीलाई टप–३ मा निकालेको बताए । उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक विधामा भने टप–५ नै राखिएको छ ।
३१ विधामा बाँडिने यस अवार्डको नोमिनेसनमा परेका उत्कृष्ट ३ मा परेकाहरूमध्ये उत्कृष्ट एक एसएमएसका आधारमा छनोट गरिने अध्यक्ष केसीले स्पष्ट पारे । यस्तै, उनले उत्कृष्ट पाँचमा रहेका अभिनेता र अभिनेत्रीमध्येबाट एसएमएसकै आधारमा ‘पपुलर एक्टर अफ द इयर’ पनि घोषणा गरिने जानकारी दिए ।
०६८ देखि ०६९ सालको भदौसम्म प्रदर्शनमा आएका चलचित्रलाई अवार्डका लागि समेटिएको थियो । उत्कृष्ट छनोटका लागि निर्णायकमा भरत शाक्य, विजयरत्न तुलाधार, जावेद शाह, प्रभाकर शर्मा र सुनील थापा थिए । उनीहरूले चलचित्र अवलोकन गरेर उत्कृष्ट पाँचको छनोट गरेका थिए । नेºटा अवार्ड पहिलोपटक विदेशमा आयोजना हुन लागेको हो । (सौस)

प्रतिक्रिया