चार करोडको लागतमा आयोजना सुरु

विराटनगर, २० असोज । ग्रामीण सडकमार्फत हरेक गाविसलाई जिल्ला सदरमुकाम विराटनगरसँग जोड्ने उद्देश्यले जिल्ला विकास समिति मोरङले बेलायती अन्तर्राष्ट्रिय विकास नियोग

(डिएफआइडी)को सहयोगमा मोरङ जिल्लामा एकैपटक २८ वटा सडक निर्माणको आयोजना सुरु गरेको छ ।
ग्रामीण क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउन तथा सवारी साधनलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यका साथ रु ४ करोडको लागतमा डिएफआइडीले सडक निर्माणका आयोजना सुरु गरेको हो । डिएफआइडीले निर्माण गर्दै आएका सडकबारे जानकारी गराउने उद्देश्यले विराटनगरमा आयोजना गरिएको ग्रामीण यातायात पूर्वाधार क्षेत्र मर्मत सम्भार परीक्षण वार्षिक समीक्षा गोष्ठीमा सोको जानकारी गराइएको हो ।
सो परियोजनाअन्तर्गत ४८ किलोमिटर ग्राभेल तथा आठ किलोमिटर कालोपत्रे सडक निर्माण गरिने कार्य रहेकामा ९० प्रतिशत काम पूरा भइसकेको जिल्ला विकास समितिका डिभिजन इन्जिनियर समर खनालले बताए ।
सो आयोजनाअन्तर्गत अहिले मोरङको केराबारी, बेलबारी, लेटाङ, कटहरी, डाँगीहाट, सोराभागलगायतका गाविसमा सडक निर्माण कार्य सञ्चालित छन् । २८ वटा सडक योजनामध्ये ११ वटा योजनाको काम दसैँ अगाडि सम्पन्न गरिने र बाँकी योजना दसैँपछि सुरु गरिने डिएफआइडीका इन्जिनियर रामबाबु पौडेलले बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सडक निर्माण कार्यलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । उनीहरूले यस्ता कार्यक्रमलाई राजनीतिकरण नगरी दक्षिणीभेगमा समेत पुर्‍याउनु पर्नेमा जोड दिए । लामोसमयदेखि बन्न नसकेका सडकहरूको स्तरोन्नति तथा कालोपत्रे हुन थालेपछि उत्तरी मोरङका बासिन्दा उत्साहित भएका छन् । सडक बनेर घर आँगनमै सार्वजनिक सवारी साधन आउने भएपछि ग्रामीण क्षेत्रमा बासिन्दा उत्साहित भएका हुन् ।

प्रतिक्रिया