महिनावारी हुदा विद्यालय प्रवेशमा रोक

chhaupadiबाजुरा, २० असोज । विद्यालयमा अध्ययनरत छात्रा महिनावारी भएका बेला पठनपाठनबाट वञ्चित हुने गरेका छन् । महिला शिक्षिकासमेत यस अवधिमा विद्यालय भवनमा प्रवेश गर्न पाउँदैनन् ।

जुकोट–७ जुकुमा रहेको शम्भुसुनन्दा माध्यमिक विद्यालयमा देउताको मन्दिर भएकाले त्यहाँ अध्ययनरत छात्रा महिनावारी भएका बेला विद्यालय भवनमा प्रवेश गर्न पाउँदैनन् । विद्यालय भवन रहेको क्षेत्रभित्र स्थानीय समुदायले पूजाआजा गर्दै आएको खोन्दाइ देउताको मन्दिर छ । महिनावारीको अवधिमा भवनमा प्रवेश गर्दा देउता बिग्रिने मान्यता भएकाले विद्यालयमा अध्ययनरत छात्रा भवनमा प्रवेश गर्न नपाएर पठनपाठनबाट वञ्चित हुने गरेका छन् । छाउपडी प्रथाको रूढीवादी मान्यताले यस विद्यालयमा गहिरो प्रभाव पारेको छ ।
यसअवधिमा धेरैजसो छात्रा विद्यालय नै आउँदैनन् । विद्यालयमा आएकालाई पनि भवनबाहिरै राख्ने गरिएको छ । घाम लागेको दिन महिनावारी भएका छात्रालाई विद्यालय हाताबाहिर अलग्गै राखेर पढाइ सञ्चालन गर्ने गरिएको शिक्षकहरूले बताए । यसरी बाहिर राखेर पढाउँदा निक्कै असजिलो हुने गरेको उनीहरूको भनाइ छ । भवनबाहिर राखेर पढाउँदा वर्षा हुनेबित्तिकै बिदा गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक तुलाराज रोकायाले बताए ।     महिनावारी भएका बेला छात्राको पढाइ अवरुद्ध हुने गरेको छ,’ विद्यालयका शिक्षक बलराम जोशीले भने ‘परम्परादेखि चलिआएको नियम तोड्न सकिएको छैन् ।’ शिक्षिकासमेत महिनावारीका बेला विद्यालय भवनभित्र प्रवेश गर्दैनन् ।
यस विद्यालयमा तीन जना शिक्षिका कार्यरत छन् । उनीहरूलाई समेत महिनावारी भएका बेला असजिलो हुने गरेको छ । ‘भवनभित्र प्रवेश गर्नु हँदैन भन्ने मान्यता भएकाले  असजिलो छ,’ शिक्षिक दुर्गेश्वरी शाहले भनिन्, ‘परम्परादेखि कायम रहेको मान्यतालाई हामीले पनि तोड्न सकेका छैनौँ ।’ विद्यालयमा शिक्षण गर्दै आएका महिलाहरू बिजा रोकाया र रीता रोकायासमेत महिनावारी भएका बेला यस्तै समस्या पर्छन् । ‘यस अवधिमा मनमनै आफूहरू अपमानित भएको अनुभूति हुने भए पनि सामाजिक परम्पराभन्दा बाहिर जान सकिएको छैन,’ उनले बताइन् । यसबेला छात्राहरू आफैँ पनि विद्यालय भवनमा प्रवेश गर्न जिद्दी गर्दैनन् । ‘देउता रिसाएर आफूलाई नराम्रो हुने विश्वासमा हामी शिक्षिका र छात्राहरू छन्’, शिक्षिका दुर्गेश्वरीले भनिन् ।
सात वर्षअघि यस ठाउँमा उक्त विद्यालय भवन सारिएको थियो । यसअघि विद्यालय भवन रहेको स्थानमा पहिरो गएपछि अन्यत्र ठाउँ नपाएर खोन्दाइ देउताको मन्दिर रहेको स्थानमा विद्यालय भवन निर्माण गर्न आफूहरू बाध्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर रोकायाले बताए । विद्यालय क्षेत्रभित्र देउताको मन्दिर भएकाले महिनावारी भएका महिलाहरू त्यहाँ प्रवेश गर्दा छुई भएर देउता रिसाउने मान्यता भएकाले समुदायका कसैले पनि उक्त मान्यतालाई तोड्न नसकेकोको अध्यक्ष रोकाया बताए ।
विद्यालयमा ५ सय ४० विद्यार्थी अध्ययनरत छन् । ६ कक्षा माथिका छात्राहरू महिनावारी हुने गरेकाले उनीहरूको पढाइ प्रभावित हुने गरेको शिक्षक जोशीले बताए । यो समस्या समाधान भनेको विद्यालयलाई अर्को स्थानमा सार्नुको विकल्प नभएको शिक्षकहरू बताउँछन् । अहिलेकै अवस्थामा महिनावारीका बेला कुनै पनि महिलाहरूले भवनभित्र प्रवेश गर्न सक्ने आँट देखाउन्नन्, विद्यालका अध्यक्ष रोकायाले भने ।
जिल्लामा सरकारी तथा गैरसरकारी संघसस्थाहरूले वर्षौदेखि छाउपडी प्रथाविरुद्ध अभियान चलाइरहेका भए पनि शिक्षण सस्थाहरूमै यस्तो अवस्था कायम हुनुले जिल्लामा छाउपडी प्रथाको अवस्था झल्किने अधिकारकर्मी बताउँछन् ।

प्रतिक्रिया