सहानुभूति होइन सम्मान देऊ

समाजमा ठूलो हिस्साका रूपमा रहेका ज्येष्ठ नागरिकप्रति नेपालमा पनि चासो जाग्न थालेको छ । समाज निर्माणमा महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरेका ज्येष्ठ नागरिकप्रति राज्यले चासो नदिँदा ज्येष्ठहरूले अपमानित हुने क्रम बढ्दै गएको थियो । समय र प्रविधिको प्रवाहमा प्रवाहित हुन नसक्ने ज्येष्ठहरूमाथि गरिने व्यवहार साँच्चै कटु र आलोच्य रहँदै आएको छ । अहिले आएर ज्येष्ठहरूप्रतिको धारणामा परिवर्तन ल्याउन विभिन्न कार्यक्रम गर्न थालेको पाइन्छ । यो निकै खुसीको कुरा हो । गत मंगलबार ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइयो । २३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसमार सरकारका तर्फबाट पनि विभिन्न आश्वासन दिने काम भयो । ती आश्वासनलाई तत्काल व्यवहारमा उतार्न सके धेरै राम्रो हुने थियो । तर, अहिले नै व्यवहारमा उतार्न नसके पनि यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान गर्नुपर्छ भन्ने धारणाको विकास हुँदै जाने देखिन्छ । यो पनि ठूलै उपलब्धि हो । वास्तवमा ज्येष्ठ नागरिक समाजका गहना हुन् । राज्यले पनि ज्येष्ठहरूलाई सम्मान गर्ने भनेको छ । तर, व्यवहारमा त्यस्तो देखिएको छैन । यो दु:खद पक्ष हो । अब ज्येष्ठ नागरिकको हकहितको संरक्षण गर्ने दायित्व राज्यले लिनुपर्छ । समाजको एउटा ठूलो हिस्सा अपमानित हुनु हँुदैन ।
ज्येष्ठ नागरिकका सावलमा कतिपय कानुनहरूको अभाव छ । भएका कानुन पनि सरकारले कार्यान्वयन गर्न सकेको पाइँदैन । जसले गर्दा ती सम्मानित व्यक्तिप्रति समाजमा एक खालको असहयोगी भावना बढेको हो । अपुरा र अधुरा कानुनलाई पूरा गर्ने साथै अपुग कानुन निर्माण गर्ने र कार्यान्वयन गर्ने तदारुकता सरकारले देखाउनुपर्छ । ०५१ सालमा बनेको एमाले सरकार अर्थात् मनमोहन अधिकरीको प्रधानमन्त्रीत्वकालमा ज्येष्ठ नागरिकले थोरै भए पनि राहत पाएका थिए । त्यसबेला ज्येष्ठ नागरिकप्रति अब राज्यले केही गर्छ भन्ने सोचको विकास भएको थियो । तर, त्यसपछि अन्य खालका कार्यक्रम ज्येष्ठ नागरिकका हकमा आएनन् । सबै सरकारका पालामा आवश्वासन दिने काम भयो, पूरा कुनै गरिएन । वास्तवमा ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारले मानव सभ्यताको परिचय दिन्छ । पूर्वीय समाज असहयोगी बन्दै गएको पाइन्छ । जसले गर्दा ज्येष्ठहरू अपहेलित हुन बाध्य हुँदै छन् । राज्य, समाज र घरपरिवारबाटै अपहेलित भएपछि उनीहरू जाने ठाउँ रहँदैन । यसले समाजमा एउटा असहिष्णु परम्पराको थालनी गराउँछ भने विकृति पनि निम्त्याउँछ । घरपरिवारबाट अपहेलित हुने, समाज र राज्यले वास्ता नगर्ने साथै शरीरले पनि साथ छाड्दै जान थालेपछि ज्येष्ठहरू बाँच्न सक्दैनन् । तसर्थ समाजमा राम्रो सन्देश जाने र ज्येष्ठहरूप्रति सहयोग गर्न सक्ने वातावरण निर्माण गर्ने कार्यक्रम सरकारले ल्याउनुपर्छ । जसलाई समाजले आत्मसात् तथा स्वीकार गर्न सकोस् । यसले मात्र ज्येष्ठ नागकिरप्रति गरिने व्यवहारमा परिवर्तन ल्याउन सक्छ ।
कतिपय ज्येष्ठ नागरिक वास्तवमै असहाय छन् । उनीहरूको पालनपोषण गर्ने कोही नहुन सक्छ । कतिपयले चाहेर पनि गरिबीका कारण उल्लेख्य सहयोग गर्न नसकेको देखिन्छ । तर, अधिकांश ज्येष्ठहरू मध्यवर्गका रहेको पाइन्छ । र, उनीहरूलाई आफ्नै सन्तानले तिरस्कार गरेका कारण पीडा भोग्नुपरेको देखिन्छ । यदि, सम्पत्तिमा ज्येष्ठहरूको अधिकार सुरक्षित गरिने हो भने उनीहरूलाई ठाडै घरनिकाला गर्न सक्ने थिएनन् । आफ्नै सन्तालने आफ्नै बाबु–आमालाई घरनिकाला गर्नु जस्तो असामाजिक अनैतिक र लज्जाजनक कार्य अरू हुनै सक्दैन । त्यस्ता व्यक्ति समाजकै अपराधी हुन् । यस्तो कार्य गर्नेलाई कडा दण्ड सजायको व्यवस्था गर्नुपर्छ अथवा टोल छिमेकीले पनि त्यस्ता घृणित व्यक्तिलाई बहिष्कार गर्ने र आफ्नै बाबुआमालाई वृद्ध अवस्थामा दु:ख दिनेलाई हटक गर्ने चलनको विकास गर्नुपर्छ । सम्पत्ति छ, छोराछोरी छन् तर वृद्धाश्रम खोजेर बाबुआमाले बस्नुपर्छ भने त्यो सम्पत्ति जफत गरेर वृद्धवृद्धाको हक भोग कायम गरिदिनुपर्छ । यसले बाबुआमाभन्दा पनि सम्पत्ति मात्र चाहने सन्तानलाई सही मार्गमा ल्याउनेछ । यदि, सरकार कडा रूपमा प्रस्तुत नहुने हो ज्येष्ठहरू अपहेलित हुने क्रम बढ्दै जानेछ । यसलाई रोक्न दिवसले मात्र सम्भव छैन ।

प्रतिक्रिया