कैलालीमा तामझाम

Sher Bd Deuba 1धनगढी, १८ असोज । कैलालीका राजनीतिक दलहरूले जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा मुख्य, साना र क्षेत्रीय दलहरूले बाजागाजासहित क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराए छन् ।

कैलालीको क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेस वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र ५ बाट एमाओवादीका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस वरिष्ठ नेता देउवाका प्रतिस्पर्धीका रूपमा एमाओवादीकी केन्द्रीय सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री लीला भण्डारी र नेकपा (एमाले) का सेती अञ्चल सचिव तथा पूर्वसांसद महेश्वर पाठकले कैलाली क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
एमाओवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भीमबहादुर कडायत र नेकपा एमालेका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरले कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिए ।
एमाओवादीको तर्फबाट क्षेत्र नम्बर १ मा फूलराम चौधरी, ३ मा शेरबहादुर चौधरी, ४ मा गौरीशंकर चौधरीले उम्मेदवारी दर्ता गराए । नेपाली कांग्रेसको तर्फबाट क्षेत्र १ मा डा. रणबहादुर रावल, २ मा कमल शाह, ३ मा नारायण मिश्र, ४ मा खेम चौधरी र ५ लेखराज भट्टले उम्मेदवारी दिए ।
नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर १ मा प्रेम साउद, ३ मा चन्द्रिकाप्रसाद चौधरी, ४ मा कैलाली अध्यक्ष दीर्घ सोडारी र ५ मा पदमसिंह सिङाल उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ३ वाट पूर्वमन्त्री तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता रामजनम चौधरीले पनि उम्मेदवारी दिए ।
धनगढीको पूर्वी क्षेत्रमा नेकपा–माओवादीको चुनावविरोधी गठबन्धनले चुनावको विरोधमा प्रदर्शन गरिरहेका बेला दलहरूले विभिन्न ठाउँबाट बाजागाजासहित क्षेत्रीय निर्वाचन कार्यालय पुगेका थिए । चुनावको विरोधमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले बाटोमै रोकेको थियो । नेकपा (एमाले) ले कैलाली क्षेत्र नम्बर ३ मा चन्द्रिकाप्रसाद चौधरीलाई उम्मेदवारी दिएको भन्दै रतन रेग्मीको पक्षले पार्टी कार्यालय र धनगढीमा प्रदर्शन गरेको थियो । रेग्मीलाई क्षेत्र, जिल्ला र अञ्चलले एक्लो उम्मेदवारका रूपमा सिफारिस गरेको भए पनि केन्द्रले चौधरीलाई उम्मेदवार बनाएर पठाएको थियो ।
कैलालीमा क्षेत्र नम्बर १ मा २४, कैलाली क्षेत्र नम्बर २ र ३ मा २३/२३, क्षेत्र नम्बर ४ मा ३०, क्षेत्र नम्बर ५ मा २५ र ६ मा ३३ गरेर १५८ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा मधेसवादी दल, स्थानीय अखण्ड सुदूरपश्चिम पार्टीसमेत छ ।

प्रतिक्रिया