मोरङमा धेरैको दाबी

Upendra-Yadavविराटनगर, १८ असोज । नेपालको राजनीतिमा महत्त्वपूर्ण प्रभाव राख्दै आएको मोरङ जिल्लामा आसन्न संविधानसभा निर्वाचनका लागि दुई सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र गरी दुई सय ७५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये २८ जना स्वतन्त्र सभासद् रहेका छन् । नेपालको केन्द्रीय राजनीतिमा प्रभाव पार्ने सबैभन्दा धेरै उम्मेदवार पनि मोरङमै रहेका छन् । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव क्षेत्र नम्बर ५ मा उम्मेदवार भएका छन् । यसैगरी, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छादार क्षेत्र नम्बर सातमा तथा एमाओवादीका प्रभावशाली नेता वर्षमान पुन क्षेत्र नम्बर ९ मा उम्मेदवार बनेका छन् । मोरङको निर्वाचनले मधेसका मुद्दालाई थप म्यान्डेट प्रदान गर्ने दाबी फोरमले गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ क्षेत्र नम्बर १ बाट कुल २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये दुई जना स्वतन्त्र र २ जना महिला उम्मेदवार रहेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ३ मा कुल ३२ जना महिलामध्ये एक जना स्वतन्त्र र चार जना महिला, क्षेत्र नम्बर ४ मा कुल २८ मध्ये दुई स्वतन्त्र र तीन महिला, क्षेत्र नम्बर ५ मा कुल ४० मध्ये आठ जना स्वतन्त्र र एक महिला उम्मेदवार रहेका छन् । त्यस्तै, क्षेत्र नम्बर ६ मा कुल ४० मध्ये ६ स्वतन्त्र र ७ महिला क्षेत्र नम्बर ७ मा कुल ४१ मध्ये चार स्वतन्त्र र दुई महिला, क्षेत्र नम्बर ८ मा कुल १८ मध्ये एक स्वतन्त्र र ६ महिला तथा क्षेत्र नम्बर ९ मा कुल २२ मध्ये दुई स्वतन्त्र र दुई महिलाले उम्मेदवार दर्ता गराएका छन् ।
यसपटक प्रमुख राजनीतिक दलहरूले अधिकांश क्षेत्रमा नयाँ अनुहारका उम्मेदवार बनाएका छन् । एमाओवादीले क्षेत्र नम्बर ९ बाट स्थायी कमिटी सदस्य वर्षमान पुन, क्षेत्र नम्बर ८ बाट पूर्वराज्यमन्त्री गोपी अछामी र क्षेत्र नम्बर ४ बाट शिवकुमार मण्डलबाहेक नयाँ अनुहारका उम्मेदवारको मनोनयन दर्ता गराएको छ । क्षेत्रनम्बर १ मा गणेश उप्रेती सुशील, दुईमा कुमारप्रसाद पौडेल, ३ मा खेमराज भट्टराई, ५ मा बालेश्वर कामत, ६ मा भर्खरै नेपाली कांग्रेसबाट प्रवेश गरेका बाबुराजा ओझा र ७ मा गोपाल कटुवाललाई उम्मेदवार बनाएको छ । सबैभन्दा धेरै केन्द्रीय नेता उठाउनेमा कांग्रेस रहेको छ । कांग्रेसले क्षेत्र नम्बर १ मा आमोदप्रसाद उपाध्याय, ६ मा महेश आचार्य र ७ मा डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । ९ मा डिगबहादुर लिम्बुबाहेक अन्यलाई पहिलोपटक उम्मेदवार बनाएको छ । कांग्रेसले २ मा शेखर थापा, ३ मा दिलीप गच्छदार, ४ मा गयानन्द मण्डल, ५ मा अमृत अर्याल र ८ मा रमेशजंग रायमाझीलाई उम्मेदवार बनाएको छ । एमालेले क्षेत्र नम्बर ३ मा गुरु बरालबाहेक अन्य सबै क्षेत्रमा नयाँ उम्मेदवार बनाएको छ । उसले १ मा ऋषिकेश पोखरेल, २ मा चण्डीप्रसाद राई, ४ मा ज्ञानेश्वर राजवंशी, ५ मा रामलाल शाह, ६ मा महेश भट्टराई, ७ मा यशोदा अधिकारी, ८ मा चन्द्रबहादुर गुरुङ र ९ मा घनश्याम खतिवडालाई उम्मेदवार बनाएको छ ।
मोरङको राजनीतिमा मधेसी जनअधिकार फोरम नेपालले अध्यक्ष उपेन्द्र यादवलाई मोरङ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाएको छ । यस क्षेत्रमा गत निर्वाचनमा यादवले अत्यधिक मतले चुनाव जितेका थिए । यसैगरी, क्षेत्र नम्बर ६ मा पनि फोरकमा उम्मेदवार बलियो मानिन्छन् । फोरम लोकतान्त्रिकले क्षेत्र नम्बर ७ बाट अध्यक्ष विजयकुमार गच्छदार, क्षेत्र नम्बर ३ बाट सत्यनारायण भगत र ६ बाट पूर्वडिआइजी भक्तिनाथ माझीलाई उम्मेदवार बनाएको छ । भगत बिहीबार मात्र नेपाली कांग्रेसबाट औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् । संघीय समाजवादी पार्टीले क्षेत्र नम्बर २ बाट भुराज राईलगायतलाई उम्मेदवार बनाएको छ । सद्भावना पार्टीले क्षेत्र नम्बर ४ बाट पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डललाई उम्मेदवार उठाएको छ ।
बिहीबार निर्वाचनका कार्यालयले बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनयन दर्ता गराउन भने पनि प्रमुख राजनीतिक दलहरू दिउँसो मात्र पुगेका थिए । एमाओवादी दिउँसो १ बजेतिर, कांग्रेस साढे एक, एमाले दुई बजेतिर मात्र निर्वाचन कार्यलय पुगेको थियो । फोरम नेपाल पौने एक बजे र फोरम लोकतान्त्रिक भने दिउँसो ३ बजेतिर मात्र पुगेको थियो । तर, साना दल तथा स्वतन्त्र उम्मेदवारहरू भने बिहानैदेखि निर्वाचन कार्यालय पुगेका थिए भने केही उम्मेदवारी दर्ता गर्ने समय सकिएपछि पनि आएका थिए ।

प्रतिक्रिया