फिल्म साउथ एसिया २०१३ आजदेखि

film-festiva-aaकाठमाडौं, १७ असोज । दक्षिण एसियाकै चर्चित फिलिम महोत्सवको नवौँ संस्करण बनेर ‘फिल्म साउथ एसिया २०१३’ बिहिबारदेखि राजधानीमा सुरु हुँदै छ । कुमारी हलमा आयोजना हुने महोत्सव ३ देखि ६ अक्टुबरमा सञ्चालन हुनेछ । चार दिने महोत्सवमा विभिन्न १० देशका ५५ वटा वृत्तचित्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । प्रस्तुत हुनेमध्ये ३४ वटा वृत्तचित्र प्रतिस्पर्धामा समेत रहने छन् ।

फिल्म साउथ–एसिया हरेक दुई वर्षको अन्तरालमा आयोजना गरिन्छ । यसको प्रारम्भ सन् १९९७ मा भएको थियो । यो वर्ष पनि फिल्म साउथ–एसियामा नयाँ र प्रयोगात्मक वृतचित्र तथा नन् फिक्सन् चलचित्र देखाइने र महोत्सव अवधिभर बृत्तचित्रका बारे अन्तक्र्रिया हुने आयोजकले जानकारी गराए ।
दक्षिण एसियाभरिबाट महोत्सवमा प्रतिस्पर्धाका लागि तीन सय ८२ वृत्तचित्रको आवेदन परे पनि ३४ वटा मात्र छानिएको फिल्म साउथ एसियाका अध्यक्ष कनकमणि दिक्षितले जनाए । उनका अनुसार पाकिस्तानी महिलामाथिको एसिड आक्रमणको विषयमा समिर्न ओबेद चिनोई र डानियल जङले बनाएको ‘सेभिङ फेस’ पनि समावेश छ । जसले एकेडेमी अवार्ड २०१२ मा उत्कृष्ट वृत्तचित्र पुरस्कारको उपाधि जितेको थियो । भारतको नेसनल फिल्म अवार्डमा बेस्ट हिस्टोरिकल रिकन्स्ट्रक्सन पुरस्कार हात पारेको ‘सेलुलोइड म्यान’ पनि महोत्सवमा देखाइनेछ ।
दृष्टिविहीनको चेस खेलबारे इयन म्याकडोनाल्डद्वारा निर्देशित ‘अल्गोरिदम्स’, साहसी पत्रकारिताका लागि प्रशंसा पाएको केलम मक्रेको ‘नो फायर जोन’ र यस वर्षको सनडान्स फिल्म फेस्टिभलमा छानिएको डिलन मोहन ग्रेको ‘फायर इन द ब्लड’ पनि प्रतिस्पर्धी रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा दुईवटा विशेष चलचित्रका प्याकेज पनि रहेको बताइएको छ । अहमदावादस्थित नेसनल इन्स्टिच्युट अफ डिजाइनको ‘अल्पविराम’ प्याकेज र अफगानिस्तानप्रति समर्पित प्याकेज देखाउन लागिएको हो । अफगानिस्तान प्याकेजमा स्वतन्त्र पत्रकार तरण खान प्रस्तुत हुनेछन् ।
यस उत्सवको प्रमुख निर्णायक भारतका विख्यात कला सम्पादक तथा संस्कृति पत्रकार प्राध्यापक सदानन्द मेनन रहने भएका छन् । मेनन्सँगै बंगलादेशका वरिष्ठ फोटोग्रफर, चलचित्रकर्मी, लेखक, क्युरेटर एवं अधिकारकर्मी सहिदुल आलम र सेन्टर फर एसियन अमेरिकन मिडियाकी जनसञ्चार निर्देशक सपना शाक्य रहेकी छिन् ।
अध्यक्ष दिक्षितले उत्सवबारे भने, ‘वृतचित्र निर्माणका क्रममा उतारचढाव आउने गर्छ । निर्माणलाई वित्तीय सहयोगको कमीले प्रभाव पनि पार्नसक्छ,’ उनले थपे, ‘कहिले–काहीँ तय गरिएको विषयमा विभिन्न प्रभाव पर्दछ जसले सिर्जनशीलतालाई सुकाइदिने डर हुन्छ ।’
उनले सिर्जनात्मकता साँघुरो राजनीतिक धरातलमा फस्टाउन नसके पनि कहिले–काहीँ खुला समाजले पनि कामका लागि चाहिने ऊर्जा घटाउने विचार व्यक्त गरे । फिल्म साउथ एसियाको मुख्य उदेश्य दक्षिण एसियालाई फिल्मद्वारा विश्वसामु प्रतिनिधित्व गराई सशक्त रूपमा प्रस्तुत गर्नु हो । साथै यस्ता वृत्तचित्रलाई स्थानीयस्तरमा परिवर्तनको अभियानका लागि पनि लिने गरिएको छ । (प्रशिक्षार्थी पत्रकार)

प्रतिक्रिया