पार्टीको विसंगति समयसँगै हराएर जानेछ

Ramnani-Pokharelविसं. २०२५ देखि वामपन्थी आन्दोलनमा लागेका पूर्वका किसान नेता राममणि पोख्रेल आज पनि जिल्ला तहको नेताका रूपमा क्रियाशील छन् । उनीसँगै वाम राजनीतिमा लागेका धेरैले सत्ता र शक्तिको स्वाद चाखिसके । उनी भने त्यस्ता अवसरकै वरिपरिसम्म पनि जान पाएका छैनन् । राजनीतिमा लाग्दा नैतिकताको गतिलो पाठ सिकेका पोख्रेलका लागि अवसर र शक्ति सधँै गौण बन्यो । पार्टीभित्र सधैँ नेताको आदेशको पालना गरेर बिताएका उनलाई पार्टीले केही दिएन भनेर गुनासो पनि छैन । केही पाउँला भन्ने लोभ नराखी तत्कालीन मालेमा आबद्ध भएका उनलाई अहिले पनि राजनीति गरे बापत केही पाउने लोभ छैन । ४ मंसिर चारमा हुने दोस्रो संविधानसभा निर्वाचनका लागि एमाले उदयपुर जिल्ला कमिटीले उनको नाम समानुपातिकमा सिफारिस गरेको छ । समय र मौकामा पार्टी र जनताले उचित मूल्यांकन गर्नेमा पोख्रेल विश्वस्त छन् । कसरी बोल्छ उनको अनुभव ? त्यसकै एक लेखाजोखा :
समयको बग्दो क्रममा ०२५–०२६ साल ताका मुलुकको पूर्वी भेगमा वामपन्थी राजनीतिको निकै चर्चा र प्रभाव थियो । किसान मजदुर र सर्वहाराहरूको मुक्ति कम्युनिस्टहरूबाट मात्र सम्भव हुने त्यतिबेलै राममणिले पनि सुने । उनी उदयपुरका सामान्य किसान । उनलाई पनि क्रान्तिकारी कुराले प्रभाव पार्‍यो । गाउँमा हुने सामन्त, जमिन्दारहरूले गर्ने सधैँको थिचोमिचोबाट मुक्त भइन्छ भने किन कम्युनिस्टमा नलाग्ने ? उनलाई यस्तो लाग्न थाल्यो । जनताको हित गर्ने पार्टीमा भनेर उनी तत्कालीन नेकपा माले पार्टीमा संलग्न भए । विस्तारै झापा आन्दोलनले उनलाई अझ सशक्त बनायो । कम्युुनिस्ट भए बापत अरू नेतासँगै तत्कालीन पञ्चायती दमनको पटक–पटक सिकार भए उनी । तथापि, विचार र आदर्शले परिपक्व भएका उनलाई कसैको दमनले केही फरक पारेन । उतिबेला सत्ताबाट आउने लोभलालचको प्रस्ताव उनका सामु नआएको पनि हैन । सत्ताका अगाडि झुक्नुभन्दा बरू जेल र यातना रोजे उनले । आमुल परिवर्तनको लक्ष्य बोकेका पोख्रेल कयौँपटक प्रहरीको हिरासतमा बसे । पछिल्लो समय ०६२–०६३ को आन्दोलनमा सक्रिय सहभागी हुँदा उनी प्रहरीको दमनले घाइतेसमेत भए ।
उनीसँगै राजनीतिमा लागेका र उनले राजनीतिमा संगठित गराएका व्यक्ति आज पार्टीको महत्त्वपूर्ण ठाउँमा पुगेको बताछन् उनी, ‘आजसम्म मैले पार्टीसँग केही मागिन र केही पाउँला भनेर कम्युनिस्ट भएको पनि होइन ।’
जति बेला पार्टी बुझेर राजनीतिमा लागे उनले सुनेका थिए रे, ‘कम्युनिस्ट हुनु भनेको देश र जनताका लागि परिआए आफैँलाई गुमाउन तयार हुनु पर्छ ।’ लुकिछिपी हुने पार्टीको भेला र प्रशिक्षणमा यस्तै कुरा सिकाउँथे रे उनका गुरू कमरेडहरूले । लुकिछिपी सिकेका उतीबेलाको त्यो आदर्श आज पनि उनले भुलेका छैनन् । राममणि भन्छन्, ‘सुरुमा जे सिकियो, त्यो मस्तिस्कमा छाप बनेर बसेको छ । बिर्सन सकिँदैन ।’
पूर्वीपहाड र तराईमा उनले पार्टीका धेरै संगठन बनाए । पार्टीले दिएको जिम्मेवारीलाई शिरोधार्य गर्नु पर्छ भनेर कहिल्यै कतै नाइनास्ती गरेनन् । युवा अवस्थाको जोस र समाजमा रहेका गलत राजनीतिक परिस्थिति परिवर्तनका लागि उनी आफँैलाई बिर्सिएर राजनीतिमा होमिए । तर, हिजोआज समयसँगै जनताका लागि काम गर्ने ठाउँ फरक भएको उनलाई लाग्छ । हिजो लुकेर जनताका बीचमा काम गथ्र्यौँ, आज पार्टी खुला भएको छ । भूमिगत राजनीति गर्दा पार्टी संसदमा जाला, आफ्ना साथीहरू सांसद वा मन्त्री बन्लान भन्ने उनलाई मात्र हैन, उनका पार्टीका कसैलाई लागेको थिएन । आज समयले जनताको काम गर्ने ठाउँ र परिस्थिति फेरिएकोले उनलाई पनि ति जिम्मेवारी पूरा गर्न पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ ।
नेपालका कम्युनिस्ट पार्टीहरूले जसरी जनताको आकंक्षा पूरा गर्नुपर्ने हो त्यति गर्न नसकेको उनलाई लाग्छ । पार्टीहरू सिद्धान्तमुखीभन्दा पनि अर्थमुखी हुँदै गएको उनको बुझाइ छ । सर्वहारा र निमुखाका लागि काम गर्ने पार्टीहरू विस्तारै त्यो बाटोबाट विमुख भए जस्तो उनको ठम्याइ छ । हिजो एउटै वर्ग र समाजबाट आएका साथीहरू कोही महलमा कोही झुपडीमा देख्दा उनले सुनेको वर्गविहीन समाज आदर्शमा मात्र सीमित हो कि भन्ने लाग्दैछ उनलाई । समाजवाद स्थापना गर्न वर्गसंघर्ष गर्नुपर्छ भनेर धेरै भाषण र प्रशिक्षण सुने । उतीबेला उनी पनि त्यही वर्गविहीन समाज स्थापना होला भनेर होमिएका थिए । यति बेला कहिले काहीँ उनलाई ईश्र्या पनि नलाग्ने हैन । आफ्नै पार्टीभित्रको वर्ग विभेदी व्यवहार देखेर । एउटै उद्देश्य लिएरसँगै समय विताएका मान्छेको जीवनशैली र व्यवहारमा आएको परिवर्तन उनलाई पटक्कै सहज लाग्दैन । उनले आफ्ना ती नेतामा यस्तो परिवर्तन आउला भनेर कहिल्यै कल्पनासम्म गरेनन् । तर, राममणिको आँखाअगाडि तीनै कल्पना नगरेका धेरै दृश्य दिनहुँ घुमिरहन्छन् ।
पार्टीको नेताको हैसियतले उनी भन्छन्, ‘एमाले समाज विकासको रूपान्तरणमा रहेकाले पार्टीभित्र को आयो को गयो भन्ने कुराले कुनै अर्थ राख्दैन ।’ अहिलेको खुला राजनीतिमा एउटा पार्टीबाट अर्को पार्टीमा आउने जाने गर्नु सामान्य भएको उनको तर्क छ । एमालेमा आउने जानेको लहर चलिरहने उनलाई लाग्छ । पार्टी एकप्रकारको विश्वविद्यालय भएकाले नयाँ आउने र चित्त नबुझेका जाने क्रम नरोकिने उनले बताए, ‘टिक्न सक्ने बस्छन् नसक्ने जान्छन् । राजनीतिमा विचारले बाध्ने हो । कसैलाई जर्बजस्ती गर्न सकिँदैन ।’ समयसँगै एमालेमा देखिएको विसंगति विस्तारै हराएर जानेमा उनी आसावादी छन् । पार्टीभित्र नेताले गल्ती गरे कार्यकर्ताले ठीक ठाउँमा ल्याएर सच्याउने उनको दाबी छ । सबै पार्टी र सबै नेता नराम्रा छैनन । ठूलो पार्टी र धेरै कार्यकर्ता भएपछि राम्रो–नराम्रो भइरहन्छ । यसको पहिचान गरेर सच्याउँदैअगाडि बढनु पर्ने उनको तर्क छ ।
संविधानसभामा निर्वाचित भए संविधान निर्माणको प्रक्रियामा आफूले अहम् भूमिका निर्वाह गर्ने उनको चाहना छ । तर, गएको संविधानसभामा सभासद्को भूमिका गौण र सीमित नेताको भूमिका मात्र सक्रिय देख्दा उनलाई त्यसो नहुनु पर्ने भन्ने लाग्छ । आउने संविधानसभामा सबै सभासद्को भूमिका जिम्मेवारीअनुसार हुनेमा उनी आशावादी छन् । निर्वाचनहरूमा जनता न्यायाधीश हुने उनलाई लाग्छ । समाजका लागि कसलाई कुन स्थानमा पुर्‍याउनु पर्छ भनेर जनतालाई थाहा छ । आउने निर्वाचनमा पनि जनताले उचित मूल्यांकन गरेर एमालेको स्थान नम्बर एक बनाइदिनेमा उनी आशावादी छन् ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया