आजका महिलाको आवाज : पहिचान, शक्ति र रुपान्तरण

razen_Asmitaराजधानीमा मंगलबार मात्रै एउटा महत्त्वपूर्ण महिला सम्मेलन सम्पन्न भयो । यसको उल्लेखनीय पक्ष के थियो भने सम्मेलनमा नेपाली जीवनका विविध पक्षहरूमा निर्वाध काम गरिरहेका अनेक अगुवा महिला यस अवसरमा एकसाथ उपस्थित थिए । सम्मेलनको आयोजना अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्था तथा एक्सन एड इन्टरनेसनलले संयुक्त रूपमा गरेका थिए । राजधानीको जावलाखेल ललितपुरमा सम्पन्न पहिचान, शक्ति र रूपान्तरणका लागि महिला सम्मेलन मंगलबार नै १७ बुँदे घोषणापत्र जारी गरी समाप्त भयो ।
घोषणापत्रमा राष्ट्र र राष्ट्रियताको पुनर्परिभाषा गर्दै भेदभावको अन्त्य र सारभूत समानताको प्रत्याभूतिका निमित्त पूर्णनागरिक पहिचानको अधिकार स्थापित गर्ने, असमान शक्ति–सम्बन्धको विनिर्माण गरी समान शक्ति–सम्बन्ध निर्माण गर्न महिलाको स्वतन्त्रताको सुनिश्चितता, निजी तथा सार्वजनिक तहमा पुरुषवादी सोच र एकाधिकारको अन्त्यलाई राज्यको पुनर्संरचनाको आधार बनाउन जोड दिइने, नेपालको प्रजातन्त्र र लोकतन्त्रसँग जोडिएका आन्दोलनपछिका सकारात्मक परिवर्तनलाई संस्थागत गर्न राज्यको मूलप्रवाहमा महिलाको विद्यमान असमान शक्ति सम्बन्धलाई रूपान्तरण गर्न शक्ति र स्रोतमा समान पहुँच र अवसरका लागि महिलालाई विकास प्रक्रियादेखि राज्यका हरेक तहको निर्णायक क्षेत्रमा समानुपातिक रूपमा महिला नेतृत्व सुनिश्चित गर्न जोड दिइने तथा उपेक्षित महिलाको जीवनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपले प्रभाव पार्ने हरेक सामुदायिक निर्णय प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता हुनसक्ने अवस्था सिर्जना गर्न विशेष व्यवस्था गर्न प्रतिबद्ध रहने कुरा उल्लेख छन् ।
त्यसैगरी, हरेक जातजाति, समुदाय, विभिन्न धार्मिक सम्प्रदायमा विद्यमान संस्कार र संस्कृतिको नाममा भएका पितृसत्तात्मक कुप्रथा र कुसंस्कारलाई अन्त गर्न धर्म र संस्कृतिलाई पुनर्परिभाषा गर्ने, सार्वजनिक र निजी क्षेत्रमा हुने महिला हिंसाको अन्त्यका लागि महिलाप्रतिको नकारात्मक सोच, ब्यवहार र विचारको अन्त्य गर्न लैङ्गिक समानता शिक्षा व्यापक रूपमा प्रदान गर्ने, आत्मविश्वास, सम्मान, आत्मसम्मान, स्वाधिकारको संरक्षण सम्वद्र्धनका लागि निजी तथा सार्वजनिक क्षेत्रमा स्वतन्त्रताको अधिकार सुनिश्चित गर्ने, लैंगिक सामाजिक न्यायको प्रत्याभूतिका लागि सारभूत समानतामा आधारित कानुनको निर्माण गर्नुपर्ने, कानुनको शासनको नाममा थोपरिएका असमानता, भेदभाव, शोषण, मानवताविरोधी कानुनको निरन्तरताको अन्त्यका निमित्त कानुनी शासनको वर्तमान परिभाषालाई पुनर्परिभाषित गर्ने, महिलाप्रतिको नकारात्मक सोच र त्यसमा आधारित असहिष्णुतालाई परास्त गर्न आर्थिक, सांस्कृतिक, सामाजिक, नागरिक र राजनीतिक अधिकारजस्ता सबै मानव अधिकारहरूको सुनिश्चित गर्ने बुँदा रहेका छन् ।
घोषणापत्रमा महिलाका समस्यालाई सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा लिई तिनको यथोचित निवारणका लागि बहुआयामिक विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रतिबद्ध रहने, महिलाप्रतिका असहिष्णुता विरुद्ध सम्पूर्ण मानव एक ढिक्का भएर प्रतिकार गर्ने, महिलाको यौनिकताको अधिकार महिलामै सुरक्षित गर्न आर्थिक, कानुनी पराधीनताको अन्त्यमा जोड दिइने, महिला स्वास्थ्यलाई प्रजनन स्वास्थ्यसित मात्र नजोडी समग्र महिला स्वास्थ्यअधिकारको सुनिश्चितता गर्न स्रोत, साधन र संस्थागत संरचनाको विकासमा जोड दिइने र सञ्चार क्षेत्रलाई महिलामैत्री बनाउने, महिला सशक्तीकरण र लैंगिक समानतालाई प्रवद्र्धन गर्ने सञ्चार सामग्रीको कभरेजलाई प्रोत्साहित गर्ने साथै महिलाअधिकार र समानताको प्रत्याभूतिका निमित्त जनमत निर्माण गर्न सञ्चार क्षेत्रसित सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बुँदाहरू पनि समाविष्ट छन् ।
यसैगरी घोषणापत्रमा सामाजिक सांस्कृतिक रूपान्तरणका लागि र त्यसपछिको व्यावहारीकरणको निश्चितताका लागि भाषिक, साहित्यिक माध्यमको निरन्तर उपयोग गर्न प्रतिबद्ध रहने, सीमान्तकृत, दलित, अपांगता भएका महिला, जनजाति एंव आदिवासी महिलालाई मूलधारमा ल्याउन आवश्यक कदम चाल्न राज्यलाई जिम्मेवार बनाउने कुरा पनि उल्लेख छन् ।
घोषणासभालाई सम्बोधन गर्दै अस्मिताका अध्यक्ष इन्दु तुलाधरले महिला अधिकारको व्यावहारिक उपभोग गर्ने अवस्था सिजना गर्न स्रोत, साधन एवं संरचनागत सुनिश्चिता हासिलका लागि राज्यलाई जिम्मेवार बनाउन आफूहरू प्रतिबद्ध भएको बताइन् । घोषणापत्र अस्मिताका कार्यकारी निर्देशक मञ्जु थापाले वाचन गरेकी थिइन् ।
घोषणासभामा शान्तालक्ष्मी श्रेष्ठ, रामकुमारी दास, धनकुमारी सुनार, मधु राईलगायत वक्ताले विभिन्न दृष्टिकोणबाट महिला आन्दोलनका विषयमा धारणा व्यक्त गरेका थिए ।
घोषणासभामा कलाकार अस्मिना रञ्जितको नेतृत्वमा अन्य एघार कला विद्यार्थीले कला प्रस्तुतिमार्फत रजस्वला भएको शरीरलाई अशुद्ध मान्ने पुरातनवादी सोचलाई उल्ट्याउने तथा रजस्वला भएकी महिलालाई अछुतका रूपमा व्यवहार गर्ने र निजी तथा सार्वजनिक क्षेत्रमा उनलाई बहिष्कार गरेर उनको मानवअधिकारको हनन गर्ने सामाजिक कुचलनको आलोचनासमेत गरेको थियो ।
यसअघि नेपाली डा. मीना पौडेलले नेपाली सन्दर्भमा यौनिकताको बहस विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने मोना शेर्पाले समतामूलक विकासको अर्थ, मर्म र महिला आन्दोलनसँग यसको सम्बन्ध, प्रतिभा सुविधा र जगत देउजाले आर्थिक स्रोत र साधनमा महिलाको पहुँच र नियन्त्रण, डा. अरुणा उप्रेती र विधान आचार्यले महिला स्वास्थ्य, राज्यनीति र अन्य आयाम तथा शुभेच्छा विन्दु तुलाधरले सञ्चारको विकास र महिलामा प्रभाव विषयक बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी, डा. इन्द्र अधिकारी र डा. प्रभा कैनीले सशस्त्र द्वन्द्वको परिणाम सकारात्मक नकारात्मक प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी, डा. मीना आचार्यले विनापारिश्रमिकको सेवामूलक काम र महिला, शान्तालक्ष्मी श्रेष्ठले नेपालमा शिक्षा र यसको प्रभाव र विन्दा पाण्डेले नेपाली समाजमा श्रम राजनीति विषयक बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रहरूमा जुलिया चित्रकार, डा. ऋतु गर्तौला, दीपा गौतम, डा. बाबु पण्डित, मोना शेर्पा, डा. सुसन आचार्य र अमुदा श्रेष्ठले टिप्पणी गरेका थिए भने लक्ष्मी कार्की, लिली थापा, सुम्निमा तुलाधर, निर्मला शर्मा र लक्ष्मी पौडेलले सहजीकरण गरेका थिए ।
सम्मेलनमा महिला लेखकहरूद्वारा विभिन्न विधामा लिखित पुस्तकहरू किक्री तथा प्रदर्शनका लागि राखिएको थियो । सो अवसरमा तीस जिल्लाका दुई सय पचहत्तर जना महिला अधिकारवादी, अभियन्ता, राजनीतिकर्मी तथा लेखकहरूको सहभागिता थियो । सहभागीहरू सम्मेलनको प्रतिफलबाट निकै उत्साही भएको प्रतिक्रिया दिइरहेका थिए ।
–सौर्य डेस्क

प्रतिक्रिया