राजेशले सुनाए रेस्टुराँका सास्ती

Dream-Bimochanकाठमाडौं, १६ असोज । गायक राजेशपायल राई मंगलबार कमलपोखरीस्थित रोदुङ रेस्टुराँमा भेटिए । राजेशका साथमा थिए कवि तथा गीतकार वीरेन्द्र राई । कन्सर्ट र स्टुडियोहरूमा स्वर दिन व्यस्त रहने गायक किन त रेस्टुराँमा ? प्रसंग थियो, नवगायक अनिल थुलुङको एल्बम ‘ड्रिम’ विमोचनको । कार्यक्रम रोदुङ रेस्टुराँमै आयोजना हुँदै थियो । एल्बमको विमोचन पनि राजेशपायलकै हातबाट गराउने कार्यक्रम थियो । तर, राजेशपायल कार्यक्रमको अतिथि भएकाले मात्र रेस्टुराँमा आएका होइन रहेछन् । उनी त करिब दुई महिनादेखि त्यही रेस्टुराँका सञ्चालक पनि बनेका रहेछन् । रेस्टुराँ सञ्चालक हुँदाको दु:ख पनि बाँड्न भ्याएका उनले रेस्टुरेन्ट चलाउन गाउनुजस्तो सजिलो नरहेको सुनाए ।

‘एउटा गीत गाउँदा १५/१६ हजार दिन्छन्, त्यो लियो अनि हिड्यो,’ उनले कुरा खोले, ‘तर, यो रेस्टुराँ सम्हालेपछि यहा अर्कै दु:ख बेहोर्दै छु ।’ उनले रेस्टुराँ मालिक हुनुको बाध्यतासमेत सुनाए ।
‘सुरुमा रेस्टुराँ बिक्रीको प्रसंग चल्दा गायक तथा संगीतकार सुरेश अधिकारीले ५० हजार बैना गर्नुभएको रहेछ,’ उनले भने, ‘उहाँ महिना दिन अन्तै व्यस्त हुनुभएपछि त्यो कुरो मसम्म आइपुग्यो । त्यस बेला रेस्टुराँ सञ्चालकले बैना पच हुने भनेपछि सुरेशजीले रकम सापटी माग्नुभयो अनि एक लाख रुपियाँ दिइदिएँ ।’
फेरि एक लाख रुपियाँ बैना पनि त्यत्तिकै पच हुने भएपछि आफूले रेस्टुराँ खरिद प्रक्रियाअघि बढाएको उनले उल्लेख गरे । रेस्टुराँ चलाएपछि उधारो खानेहरूले सताएको उनको भनाइ थियो ।

प्रतिक्रिया