ऊर्जा विकासमा सरकार प्रतिबद्ध

काठमाडौं, १६ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यले ऊर्जा क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् ।

ऊर्जा व्यवस्थापनका लागि फ्रेन्चवर्ग एसोसिएसन (एफएइएम) नेपालले आयोजना गरेको ‘जलवायु परिवर्तनको न्यूनीकरणको लागि नवीकरणीय ऊर्जाको प्रवद्र्धन’ विषयक चारदिने अन्तर्राष्ट्रिय कार्यशालाको मंगलबार उद्घाटन गर्दै उनले मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्न विविधतासहितको ऊर्जा क्षेत्रको विकास गर्न सरकार क्रियाशील भएर लागेको दावी गरे ।
सरकार जलविद्युत् क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ अघि बढेको जानकारी दिँदै उनले वैकल्पिक ऊर्जा क्षेत्रमा पनि उत्तिकै क्रियाशीलताका साथ अभियानलाई तीव्रता दिएको र आगामी केही वर्षमा मुलुकको ऊर्जा संकटको समाधान हुने बताए । जनताको जीवनस्तर उकास्न ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै उनले जनसहभागितासहितको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रमा विविधतासहितको अभियानमा जरुरत रहेकोमा जोड दिए ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलले मुलुकमा जारी ऊर्जा संकट समाधान गर्न वैकल्पिक ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताए ।
परम्परागत ऊर्जालाई विकास गरी वातावरणमैत्री बनाउनका लागि आफूहरू प्रयासरत रहेको समेत उनले जानकारी गराए ।
नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत फ्रयाङ्क माइकीले आर्थिक वृद्धि एवम् विकासका लागि ऊर्जा पहिलो सर्त भएको उल्लेख गर्दै आºनो मुलुकले नेपाललाई जलविद्युत्, नवीकरणीय ऊर्जा प्रविधि र ऊर्जा प्रभावकारिताको क्षेत्रमा सघाउँदै आएको बताए । आयोजक संस्थाका महासचिव कृष्णप्रसाद देवकोटाले कार्यशालाको उपादेयताबारे जानकारी गराएका थिए । एसियाली विकास बैंकका ऊर्जाविद् टीकाराम लिम्बू, विश्व बैंकका वरिष्ठ ऊर्जाविद् रवीन श्रेष्ठलगायतले नेपालमा ऊर्जाको विकासमा भए गरेका काम कारबाहीबारे प्रकाश पारे ।
आयोजक संस्थाका अध्यक्ष डा. नाराणणप्रसाद चौलागार्इंका अनुसार कार्यशालामा नेपाल भारत, बङ्गलादेश, फिलिपिन्स, चीन, इन्डोनेसिया, भियतनाम, केन्या, घाना, क्यामरुन, स्विट्जरल्यान्ड, मेक्सिको, अर्जेन्टिना, थाइल्यान्ड र युगान्डाका प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया