एमाओवादीमा विवाद चुलियो

mao officeकाठमाडौं, १६ असोज । एकीकृत माओवादीमा उम्मेदवार चयनका क्रममा नेता तथा कार्यकर्तामा बढेको असन्तुष्टिले आक्रोशको रूप लिन थालेको छ । विवादका कारण मंगलबारसम्ममा ८० क्षेत्रका लागि मात्र उम्मेदवार चयन गर्न सकेको एमाओवादीका असन्तुष्ट पक्षले बागीसमेत घोषणा गर्न थालेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशकी तेस्री श्रीमती विना मगरलाई कञ्चनपुर–१ बाट सिफारिसको निर्णयपछि केन्द्रीय सदस्यसमेत रहेका जिल्ला संयोजक खडक बस्नेतले राजीनामा दिएका छन् । बस्नेतले राज्य समिति र सुदूरपश्चिम ब्युरो इन्चार्जलाई राजीनामापत्र बुझाएका हुन् । उक्त क्षेत्रमा आफ्नो पकड रहे पनि केन्द्रले हस्तक्षेप गरेको भन्दै बस्नेतले राजीनामा दिएको स्रोतले जनाएको छ ।
गुटगत रूपमा उम्मेदवार छानिएको दाबी गर्ने बस्नेत भने राजीनामालाई बिनासँग मात्रै जोडेर हेर्न नहुने बताउँछन् । ‘उक्त क्षेत्र सुरुमा थारू समुदायका लागि भनेर छुट्याइएको थियो । तर, पछि एक्कासी बिनालाई उम्मेदवार बनाउने निर्णय भएको सुन्दा साथीहरूले चित्त दुखाएका छन्,’ उनले सौर्यसँग भने ।
उम्मेदवार चयनको बेला दुई/चार दिनका लागि टुरिस्टजस्तै कञ्चनपुर आएको व्यक्तिलाई पार्टीले टिकट दिएको भन्दै बागी उम्मेदवार दिने तयारीसमेत भएको छ । स्रोतका अनुसार
जसका लागि आज बिहानै असन्तुष्ट पक्षको बैठक बस्दै छ । बिनाको विरोध भए पनि आफूले संयोजकको हैसियतमा सक्दो मिलाउन प्रयास गर्ने बस्नेतले बताए ।
अभिनेत्री रेखा थापालाई पर्साबाट उठाउन लागेको भन्दै स्थानीय नेता कार्यकर्ताले पत्रकार सम्मेलन गरी विरोध जनाएका छन् । पत्रकार सम्मेलनमा उनीहरूले जिल्लाका सबै क्षेत्रमा नवप्रवेशीलाई उम्मेदवार बनाएर युद्धकालमा योगदान गरेका नेता तथा कार्यकर्तालाई हेला गरेको दुखेसो पोखेका छन् । त्याग र बलिदानी गरेकाहरूलाई उपेक्षा गरे बागी उम्मेदवारी दिने चेतावनीसमेत उनीहरूले दिएका छन् । भोजपुरा राज्य समिति सदस्य बालकृष्ण श्रेष्ठले पार्टी केन्द्रले नवप्रवेशीलाई उम्मेदवार बनाएर जनयुद्धमा साथ दिने नेता तथा कार्यकर्तामाथि धोका दिएको आरोप लगाए ।
कैलाली एमाओवादीमा पनि किचलो छ । क्षेत्र नम्बर २ मा माओवादी पूर्वबिग्रेड कमान्डर लालबहादुर चन्द सोडारी, रंगनाथ ढकाल, भीम कडायत, गोविन्द तिमिल्सेनालगायत १३ जनाले उम्मेदवारी दाबी गर्दै आएका छन् । एक व्यक्तिलाई टिकट दिए अर्कोले बागी उठ्ने चेतावनी दिँदै आएका छन् । क्षेत्र नम्बर १ बाट लीला भण्डारी र रमेश धामी टिकटको दौडमा छन् । कैलाली ४ को विवाद त केन्द्रमै आइसकेको छ । पूर्वसभासद कृष्णकुमार चौधरीले जिल्ला संयोजक तारा चौधरीलाई पार्टीले टिकट दिने पक्का भएपछि केन्द्रमा फरक मत दर्ता गरेका छन् । उनले आफूले टिकट नपाए आधिकारिक उम्मेदवारलाई सहयोग नगर्ने घुर्की देखाउँदै आएको स्रोत बताउँछ ।
एमाओवादी नेता लेखराज भट्टलाई पार्टीले डोटी २ बाट उठाउने भएपछि कार्यकर्ता अलमलमा परेका छन् । उनले कैलाली ५ बाट अघिल्लो चुनाव जितेका थिए । उनको विषयमा कतिपयले कैलालीबाटै उठ्नुपर्छ भने पनि कतिपयले विरोध गरेका छन् । संघीयताको बहसमा अखण्ड आन्दोलनलाई साथ दिएको भनेर उनी आलोचित हुँदै आएका छन् ।
अछाममा पनि विवाद उत्कर्षमा पुगेको छ । दीपक साउद र झंकर रावललाई पार्टीले टिकट दिएपछि जिल्ला संयोजकसहित दर्जनौँ नेता/कार्यकर्ताले विद्रोहको घोषणा गरेका छन् । विद्रोहको घोषणा गरेकामध्ये १ बाट झंकर साउद र २ बाट अक्कल रावलले बागी उम्मेदवारी दिने तयारीसमेत गरेको स्रोत बताउँछ । जिल्ला संयोजकलगायतले केन्द्रको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन् । त्यहाँका नेता कार्यकर्ताले अध्यक्ष दाहाललाई आएर जितेर देखाउन चुनौती दिन थालेका छन् ।
एमाओवादीमा मधेस, ताम्सालिङ, थारूवानमा बढी उम्मेदवार आकांक्षी रहेकाले टुंगो लगाउन मंगलबार बिहानदेखि राति ११ बजेसम्म बैठक बसे पनि अन्तिम टुंगो लाग्न सकेन । एमाओवादीले पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठको क्षेत्रसमेत टुंगो लगाउन सकेको छैन । श्रेष्ठले रोजेको गोरखा एक वा दुईमध्ये एक क्षेत्र नदिएपछि उनको क्षेत्र तोकिन नसकेको हो ।

प्रतिक्रिया