कांग्रेसले गोप्य रूपमा टिकट दिँदै पठाउँदै

congress_officeकाठमाडौं, १६ असोज । कांग्रेसले लामो समयको विवाद र छलफलपछि संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गरेको छ । प्रत्यक्षतर्फ मनोनयन दर्ताको दुई दिनअघि मात्र मंगलबार कांग्रेसले ६० जिल्लाका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

टिकटका आकांक्षीहरू पार्टी कार्यालय सानेपामा नाराजुलुसमा उत्रिएपछि प्रहरीको सुरक्षा घेरामा कांग्रेसले ६० जिल्लाको उम्मेदवारको टुंगो लगाएको छ । टिकट दिइएका व्यक्तिका नाममा विवाद हुने देखेपछि कांग्रेसले गोप्य रूपमा टिकटसमेत थमाएको छ । पार्टी कार्यालयमा बोलाएर उम्मेदवारलाई गोप्य रूपमा टिकट दिएर चुनाव क्षेत्रमा पठाउने गरेको एक नेताले जानकारी दिए । संसदीय समितिका अनुसार सभापति सुशील कोइराला चितवन ४ र बाँके १ बाट, नेता शेरबहादुर देउवा डढेलधुरा र कैलाली ६ बाट उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले काठमाडौंको विवाद अन्त्य गर्दै १० वटै क्षेत्रमा उम्मेदवार चयनसमेत गरेको छ । क्षेत्र नम्बर १ मा महामन्त्री प्रकाशमान सिंह, २ मा प्रतिमा गौतम, ३ मा चक्र ठकुरी, ४ मा गगन थापा, ५ मा नरहरि आचार्य, ६ मा भीमसेनदास प्रधान, ७ मा प्रमिलासिंह डंगोल, ८ मा नविन्द्रराज जोशी, ९ मा गोविन्द रञ्जित र १० मा राजन केसीले टिकट पाएका छन् ।
अर्काे विवादित जिल्ला कैलालीमा पनि उम्मेदवारको टुंगो लागेको छ । क्षेत्र नम्बर १ मा डा. रणबहादुर रावल, २ मा लोकबहादुर महतो र ३ मा नारायणदत्त मिश्र, ४ मा रामचरण चौधरी, ५ मा दीर्घराज भाट र ६ मा शेरबहादुर देउवा उम्मेदवार चयन भएका छन् । केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे गोरखा–२ बाट सिफारिस भएकोमा उनको नाम काटेर कांग्रेसले हरिकला खनाललाई
टिकट दिएको छ ।

पत्नीको नाम कटाएर पतिलाई टिकट
संसदीय समितिले प्युठानमा दुई महिलालाई उम्मेदवार बनाउने टुंगो लागेपछि पतिले विरोध गर्दा उनीहरूको नाम लिस्टबाट हटेको छ । पत्नीको नाम हटाई क्षेत्र नम्बर १ बाट हुकुमबहादुर बिष्ट र २ बाट देवीराम पुनले टिकट पाएका हुन् । कांग्रेस केन्द्रीय कार्यालबाट फोन गरेर बिष्ट र पुन पत्नीलाई टिकट लिन राजधानी बोलाइएको थियो ।

खुमबहादुरले रोके पत्नीलाई
भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जेल जीवन बिताइरहेका कांग्रेस नेता खुमबहादुर खड्काले पत्नी शिला (गौतम) खड्काको उम्मेदवारी अस्वीकार गरेका छन् । सदरखोर डिल्लीबजारबाट मंगलबार विज्ञप्तिमार्फत खड्काले पत्नी शिलाको नामको उम्मेदवारी अस्वीकार गरेको बताएका छन् ।
टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै खड्काले पत्नीको उम्मेदवारी अस्वीकार गरेका हुन् । संसदीय समितिले शिलालाई दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार चयन गरेको थियो । क्षेत्र र जिल्लाको सिफारिसमा संसदीय समितिले शिलालाई टिकट दिने निर्णय गरेको थियो । खड्काले आफूनिकट नेतालाई उम्मेदवार बनाउन संसदीय समितिले निषेध गरेको उल्लेख गरेका छन् ।
‘बिपी कोइरालाको विचारसँग वर्षौदेखि प्रतिवद्ध रहेका कार्यकर्तालाई पार्टीको तर्फबाट उम्मेदवार बन्नबाट वञ्चित गरिएको हुँदा मेरी श्रीमती शिला गौतम (खड्का)लाई दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ दिइएको उम्मेदवारी फिर्ता गरिएको छ,’ खड्काले विज्ञप्तिमा भनेका छन्,’ ‘उनी चुनाव नलड्ने व्यहोरा जानकारी गराउँछु ।’ कांग्रेस स्रोतका अनुसार शिलाको स्थानमा जानकी बस्नेतलाई टिकट दिने तयारी भएको छ ।

पार्टी कार्यालयमा आक्रमण
टिकट नपाएपछि असन्तुष्ट समूहले दाङ र चितवन पार्टी कार्यालयमा आक्रमण गरेका छन् । खुमबहादुर खड्कानिकट भरतबहादुर न्यौपानेले टिकट नपाएपछि दाङ पार्टी कार्यालयमा तोडफोड गराएका छन् । न्यौपानेले खड्काको सिफारिसमा आफूले टिकट पाउने दाबी गर्दै आएका थिए । तर, उक्त क्षेत्रमा संसदीय समितिले सभापतिनिकट राजु खनाललाई टिकट दिएपछि न्यौपानेले पार्टी कार्यालयमा आक्रोश पोखेका हुन । त्यस्तै, टिकट नपाएपछि असन्तुष्ट समूहले चितवनमा पनि पार्टी कार्यालय तोडफोड गरेको छ ।
कांग्रेसले समानुपातिकतर्फका तीन सय ३५ उम्मेदवारको नाम छनोट प्रक्रिया पनि अघि बढाएको छ । प्रत्यक्षतर्फका उम्मेदवारले टिकटको पत्र बुझेर जाने वित्तिकै समानुपातिकमा छलफल चलाइने कांग्रेसले जनाएको छ । संसदीय समितिका प्रवक्ता एवं महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्षतर्फका उम्मेदवारको नामावलीको अन्तिम टुंगो लागेपछि समानुपातिकतर्फको छलफल चलाइने जानकारी दिए ।

 

प्रतिक्रिया