शीर्ष नेतालाई कमजोर प्रतिद्वन्द्वी

3 dal ka neta ji 1काठमाडौं, १६ असोज । प्रमुख राजीतिक दलहरूले शीर्ष नेताहरूलाई चुनाव जिताउने रणनीति अख्तियार गरेका छन् । एकिकृत माओवादी, कांग्रेस र एमालेले शीर्ष नेताहरूलाई संविधानसभाको दोस्रो चुनाव जसरी पनि जिताउने रणनीतिअनुसार उनीहरू लड्ने क्षेत्रमा कमजोर प्रतिद्वन्द्वी खडा गर्दै छन् ।

स्रोतका अनुसार शीर्ष नेताहरूले एकअर्कालाई चुनावमा नहराउने रणनीतिअनुसार आफूहरू लडेको ठाउँमा कमजोर प्रतिद्वन्द्वी उठाउने भित्री सहमति गरेका हुन् । पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उठ्ने काठमाडौं क्षेत्र नम्बर १० र सिराहा ५ मा एमालेले क्रमश: सुरेन्द्र मानन्धर र लीलानाथ श्रेष्ठलाई उम्मेवदार तय गरेको छ । कांग्रेसले काठमाडौं १० मा राजन केसी र सिराहा ५ मा चन्द्रनारायण यादवलाई उठाउने भएको छ । मधेसी जनअधिकार फोरमले सिराहा ५ बाट डा. वीरेन्द्र महतोलाई टिकट दिएको छ । नेकपा माओवादी नेता मातृका यादवले पनि सोही ठाउँबाटै उम्मेदवारी दिने भएका छन् ।
त्यसैगरी, एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उठ्ने गोरखा क्षेत्र नम्बर १ मा एमालेले रामशरण बस्नेतलाई र रूपन्देही ५ मा पार्टी सचिव तथा पूर्वरक्षामन्त्री विष्णु पौडेललाई उम्मेवदार बनाउने निर्णय गरेको छ । एमाओवादी नेता नारायणकाजी श्रेष्ठको भने अहिलेसम्म टुंगो लागिसकेको छैन । अर्का नेता पोष्टबहादुर बोगटी नुवाकोट ३ बाट चुनावी मैदानमा उत्रेका छन् । एमालेबाट नुवाकोट ३ मा नारायण खतिवडा र कांग्रेसबाट बहादुरसिंह लामा चुनावी मैदानमा उत्रेका छन् ।
एमाओवादी नेता कृष्णबहादुर महरा यसपटक पार्टीको आधार क्षेत्र मानिने रोल्पाको क्षेत्र नम्बर १ बाट उम्मेवदार बन्दै छन् । उनी यसअघि दाङबाट विजयी भएका थिए । महरा उठ्ने क्षेत्रमा एमालेले हितबहादुर रोक्कालाई उम्मेवदार बनाउँदै छ । कांग्रेसले अझै उम्मेवदार तय गर्न सकेको छैन ।
माओवादी ‘जनमुक्ति सेना’का पूर्वप्रमुख नन्दकिशोर पुन पासाङ काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन् । उनीसँग कांग्रेसका युवा नेता गगन थापा भिड्ने भएका छन् भने एमालेले निर्मल कुइँकेललाई उम्मेदवार बनाएको छ ।
कांग्रेस सभापति सुशील कोइराला बाँके ३ र चितवन ४ बाट उम्मेवदार बन्ने भएका छन् । एमाओवादीले कोइराला उठ्ने दुवै क्षेत्रमा उम्मेवदार तय गरेको छैन । एमालेले चितवन ४ मा दिलकुमारी रावल र बाँके ३ मा विजया धिताललाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेस वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा र कैलाली ६ बाट उम्मेवदारी दिने भएका छन् । डडेल्धुरामा एमाओवादीका केन्द्रीय सदस्य तथा सेती–महाकाली राज्यका संंयोजक खगराज भट्ट चुनावी मैदानमा उत्रिएका छन् भने कैलालीमा अझै एमाओवादीले उम्मेदवार तोक्न सकेको छैन । भट्ट यसअघिको चुनावमा देउवासँग थोरै मतले पराजित भएका थिए । देउवासँग एमालेले डडेल्धुराबाट डा. तारा जोशीलाई उम्मेदवार बनाएको छ भने कैलाली ६ बाट महेश्वर पाठकलाई मैदानमा उतार्दै छ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल तनहुँ २ बाट चुनाव लड्दै छन् । उक्त क्षेत्रमा एमालेले प्रतापलाल श्रेष्ठलाई उम्मेदवार तोकेको छ भने एमाओवादीले अहिलेसम्म उम्मेदवार छनोट गर्न सकेको छैन । कांग्रेस महामन्त्री प्रकाशमान सिंह काठमाडौं १ बाट चुनावी मैदानमा उत्रेका छन् । उक्त क्षेत्रमा एमाओवादीले पार्टी अध्यक्ष दाहालपुत्री रेणुलाई उठाउने भएको छ भने एमालेले नायक भुवन केसीलाई मैदानमा उतारेको छ ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि दुई ठाउँबाट उम्मेदवार बन्दै छन् । खनाल इलाम १ र सर्लाही १ बाट चुनावी मैदानमा उत्रिएका छन् । एकीकृत माओवादीले इलाम १ बाट युवराज पौडेललाई उम्मेवदार बनाउँदै छ भने सर्लाहीमा अझै उम्मेदवार तय गरेको छैन । कांग्रेसले इलाम १ मा हिमालय कर्माचार्यलाई टिकट दिएको छ भने सर्लाहीमा उम्मेदवार तोकेको छैन ।
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि काठमाडांै २ र रौतहट १ दुई क्षेत्रबाट उम्मेवदार बन्ने भएका छन् । एमाओवादीले काठमाडांै २ मा नेता लीलामणि पोखरेललाई उम्मेदवार बनाएको छ भने रौतहटमा कसलाई उठाउने भन्ने अझै टुंगो लागेको छैन् । कांग्रेसले काठमाडौं २ मा प्रतिमा गौतमलाई उम्मेदवार बनाएको छ भने रौतहट १ मा उम्मेवदार छान्न सकेको छैन ।
एमाले नेता केपी ओली झापा ७ बाट उम्मेदवार बनेका छन् । उनको क्षेत्रमा कांग्रेस र एमाओवादी दुवैले उम्मेवदार घोषणा गरेका छैनन् ।
एमाले उपाध्यक्ष वामदेव गौतम पनि बर्दिया १ र प्युठान १ बाट उम्मेदवार चयन भएका छन् । एमाओवादीले प्युठान १ मा नवराज सुवेदीलाई उम्मेवदार बनाएको छ भने बर्दियामा अझै उम्मेवदार घोषणा गरेको छैन । कांग्रेसले प्युठान १ मा हुकुमबहादुर बिष्टलाई उम्मेदवार बनाएको छ भने बर्दियामा उम्मेवदार छनोट गरेको छैन् ।
एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बनेका छन् । कांग्रेसले उक्त क्षेत्रमा नरहरि आर्चायलाई र एमाओवादीले महेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया