काठमाडौंको फोहोर व्यवस्थापनको समस्या

Suraj-Prashad-Bhattaraiनेपाली समाजमा फोहोरमैलाप्रतिको सोच अत्यन्त सतही छ । आफैँद्वारा उत्सर्जन भएको फाहोरले कतिसम्म हानि पुर्‍याउँछ भन्ने समेत हामीलाई थाहा छैन । साथै हावा, पानी र जमिन के कारणले दूषित हुन्छन् र मानिसमा त्यसको प्रभाव कुन प्रकारको पर्छ भन्ने ज्ञानको अभावमा हाम्रो समाजले फोहोरलाई बेवास्ता गरेको पाइन्छ । जसका कारण फोहोरजन्य रोगले धेरै व्यक्ति बिरामी बन्ने गरेका छन् । घरमै उत्सर्जन भएको फोहोर उचित व्यवस्थापन गर्न नसक्दा लाग्ने रोगबारे पनि नेपाली समाज अनविज्ञ छन् । यही कारणले जतासुकै फोहोर फाल्ने चलन हट्न सकेको छैन । उद्योग, कलकारखाना र अस्पतालबाट उत्पादित घातक फोहोरसम्बन्धी जनचेतना जाग्न सकेको पाइँदैन । जसका कारण घातकखालका रोग भित्रिने द्वार खुल्ने सम्भावना रहिरहन्छ ।
नेपालीको परम्परा नै भन्नुपर्छ आफूले उत्पादन गरेको सामान्यखालको फोहोरसमेत सरकारी निकायले व्यवस्थापन गरिदियोस् भन्ने मानसिकता छ । जतासुकै फोहोर फालिदिने, ठीक समयमा, ठीक ठाउँमा फोहोर नल्याउने, फोहोर व्यवस्थापनका लागि आएको बाहन गइसकेपछि फोहोर ल्याएर कुठाउँमा फाल्ने लगायतका समस्याले उपत्यका आक्रान्त बनेको छ । समुदायमा रहेका यसखालका बानी हटाउन समुदाय नै लाग्नुपर्ने अवस्था छ । कमसेकम आफूद्वारा सिर्जित फोहोर आफैँले उचित व्यवस्थापन गर्नुपर्छ भन्ने ज्ञान सबैमा हुनु जरुरी छ । अहिले फोहोर व्यवस्थापनको कठिनाइ उपत्यकाले बढी भोग्नु परेको छ । मुख्यतया सडकमा फोहोर थुपार्नुपर्ने बाध्यता, अस्वाभाकिव रूपले बढेको जनघनत्वले जतासुकै उत्सर्जन गर्ने अव्यवस्थित फोहोर, प्रत्येक पसलमा प्रयोग गरिने प्लास्टिकका झोला र सडेका सामान मिल्काउने चलन समस्याका रूपमा रहेका छन् । हेर्दा झिनामसिना लाग्ने यस्ता फोहोरले कति प्रकारका रोग व्याधी फैलाउँछन् भन्ने ज्ञान नहुनु अर्को समस्या देखिन्छ । फाहोरको समस्याभन्दा डरलाग्दो समस्या भनेको समाजमा रहेको फोहोरसम्बन्धी अज्ञानता देखिन्छ । यो अज्ञानता हटाउन सक्ने हो भने फोहोरमैलासम्बन्धी समस्या समाधान हुने थियो । अर्कोतर्फ सरकारी निकायको मुख ताक्ने परमपराले पनि फोहोर व्यवस्थापनमा कठिनाइ थपेको छ । प्रत्येक टोलले आफ्नो घरआँगन सफा राख्न, भान्छा र चर्पीबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न साथै प्लास्टिकका झोला भरसक प्रयोग नगर्न र गरे पनि उचित ठाउँमा व्यवस्थापन गर्न लगाउने एउटा समिति गठन गर्नैपर्छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाविस वा फाहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको मुख ताकेर बस्ने परमपरा तोड्नका लागि पनि सहरमा बस्ने सचेत नागकिरले सचेतनामूलक गतिविधि गर्न पहल गर्नुपर्छ ।
सहरका प्रत्येक घरबाट फोहोर उत्सर्जन हुन्छ, होटल, कल–कारखाना, उद्योग, अस्पताल, स्कुल, खालि मैदान र पसलहरूबाट पनि फोहोर उत्पादन हुनु स्वाभाविक हो । घातक फोहोर उचित व्यवस्थापन नहुँदा ज्यानमारा रोग फैलन सक्छ । अस्पताल र उद्योगबाट उत्पादन हुने फोहोर मानव स्वास्थ्यका लागि सबैभन्दा घातक हुने ठहर भएको छ । यो फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकायनै लाग्नुपर्छ । अहिलेसम्म नेपालका अस्पताल र उद्योगहरूले आफ्नै पहलमा फोहोरमैला व्यवस्थापन गरेको दोखिँदैन । सरकारी निकायले उपलब्ध गराएको स्थानमा फोहोर व्यवस्थापन नहुँदा पनि जनताले निकै ठूलो समस्या बेहोर्नु परेको छ ।
२०६८ सालमा फोहोर मैला व्यवस्थापन ऐन बनेको छ । उक्त ऐनका प्रावधानअनुसार हानिकारक फोहोर मैला उत्पादन गर्ने व्यक्ति वा संस्थाले तोकिएबमोजिम व्यवस्थापन नगरे कारबाही हुने व्यवस्था गरेको छ । तर, अहिलेसम्म कसैमाथि कारबाही भएको थाहा भएको छैन । जथाभावी फोहोर फाल्ने माथि पनि कारबाही हुन सक्छ । यी र यस्ता विषय लागू गर्न पनि जनचेतनाकै खाँचो पर्छ ।
काठमाडौं उपत्यकाले ल्यान्डफिल साइटको समस्या बारम्बार भोग्ने गरेको छ । ल्यान्डफिल साइट भएको स्थानका जनताले बारम्बार अवरोध गर्ने र फोहोरमैला व्यवस्थापन गर्ने निकायको स्रोत र सधानलने भ्याउन नसक्ने माग राख्ने चलनलाई स्थापित गर्दै लगेका छन् । फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्रले धान्न नसक्ने माग राखेर फोहोर व्यवस्थापनमा अवरोध पुर्‍याउनेहरूले निकै दु:ख दिएको अवस्था छ । अस्थिर राजनीति, आर्थिक अभव, जनचेतनाको कमी, फोहोरमैलाबाट उत्पन्न हुने रोगव्याधी प्रतिको अनविज्ञता र प्रचारप्रसारको कमीले पनि व्यवस्थापनप्रति मानिसले गम्भीरतापूर्वक नसोचेको हुन सक्छ । फोहोरमैला व्यवस्थापनसम्बन्धी अवधारणा सबै राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्नुपर्छ र आफूले गरेको फोहोरमैला उचित र तोकिएको स्थानमा व्यवस्थापन नगर्नेलाई कार्यकर्ता नबनाउने नीति लिनुपर्छ । वास्तवमा फोहोरमैला व्यवस्थापनमा अस्थिर राजनीतिले पनि केही हदसम्म अवरोध पुर्‍याएको छ । दिगो र व्यवस्थित सरकाले मात्र दिगो र व्यवस्थित काम गर्न सक्छ भने जस्तै सम्बन्धित निकायलाई पनि त्यसैगरि काम गर्ने वातावरण मिल्छ । तर, अस्थिर राजनीति, अस्थिर सरकार र अव्यवहारिक कार्यशैलीले जतासुकै अवरोध पुर्‍याउन सहयोग गर्छ । फोहोरमैला व्यवस्थापनकै सवालमा पनि कतिपय स्थानमा यस्तै देखिएको छ । यस्ताखाले मानवजन्य प्रवृत्ति हटाउन पनि राजनीतिक दलहरू अग्रसर हुनुपर्ने अवस्था छ ।
सभ्य मानिसको पहिचान सफा र स्वच्छ वातावरण निर्माण गर्नु पनि हो । यदि हामीले आफू र आफ्नो वरिपरिको वातावरण सफा राख्न सकेनौँ भने हामी सभ्य मानव बन्न सक्ने छैनौँ । वास्तवमा सरोकारवालाहरू नै अग्रसर भएर कार्य थालनी नगर्ने हो भने स्वच्छ, सफा, हराभराको अवधारणा अपूरै रहनेछ । काठमाडौं उपत्यकामा बग्ने नदी साँच्चै स्वच्छ बनाउने हो भने पहिला काठमाडौं बासीको मन (आत्मा) स्वच्छ हुनुपर्छ । प्रत्येक मानिसले गरेको फोहोरमैला बाग्मती र विष्णुमतीले बोकी दिनुपर्ने अनि नदी सफा भएन भन्ने भावना त्याग्नुपर्छ । फोहोरमैला व्यवस्थापनको कार्य सफल बनाउन नीतिदेखि थितिसम्म परिवर्तन गर्नुपर्ने अवस्था छ । जलवायु परिवर्तनले मावन स्वास्थ्यमा पार्ने असरदेखि भान्छा र चर्पीको फोहोरले पार्ने असरसममको ज्ञान नभएसम्म व्यवस्थित रूपमा फोहोर व्यवस्थापन हुन निकै कठिन छ । सार्वजनिक निजी साझोदारी कार्यक्रम, जनचेतना अभिवृद्धि कार्यक्रम, प्रचारप्रसार कार्यक्रमलगायतका कर्यक्रमबाट सम्बन्धित निकायले आफ्ना राम्रा काम प्रस्तुत गर्न थालेका छन् । मुख्य रूपमा मानिसमा चेतनाको अभावनै अहिले खड्किएको विषय हो । अर्को पक्ष भनेको नीति लागू गर्न दबाब सिर्जना गर्न नसक्ने अवस्था पनि हो । तेस्रो पक्ष भनेको फोहोरमैलालाई स्रोतमै पहिचान साथ छनोट गरी व्यवस्थित गर्न नसक्ने नै हो । यसका लागि पनि विशेष गरी विभिन्न माध्यमद्वारा प्रचारप्रसार नै गरिनुपर्छ ।
उपत्यकाको फोहोर व्यवस्थित हुन नसक्दा राज्यलाई निकै ठूलो घाटा हुन्छ । पहिलो पर्यटन आगमनमा असर पुर्‍याउँछ । दोस्रो जनस्वाथ्यमा गम्भीर समस्या, उत्पन्न गराउँछ र अन्यखालका बाधा उत्पन्न गराउँछ । तसर्थ, उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न जरुरी छ । त्यसका लागि जनस्तरबाट पनि सम्बन्धित निकायलाई सहयोग हुनुपर्छ । यदि नेपालीको सोचमा परिवर्तन आयो र फोहोरले पुर्‍याउने हानि बारे जनचेतना फैलाउन सकियो भने अति सुन्दर ढंगले फोहोर मैला व्यवस्थापन हुन सक्छ ।

प्रतिक्रिया