नेपालको उत्कृष्ट प्रदर्शन

Karate1काठमाडौं : भुटानको थिम्पुमा जारी दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै दस स्वर्ण जितेका छन् । प्रतियोगिताअन्तर्गत जुनियर महिलाको ५० केजीमुनि सुनीता लामाले भुटानी खेलाडीलाई ६–४ ले पराजित गरी स्वर्ण जितिन् । त्यस्तै, महिला सिनियरतर्फ स्वर्ण हात पार्ने क्रममा ५० केजीमुनि सुभद्रा श्रेष्ठले भारतीय खेलाडीलाई ४–३ ले हराइन् । ४५ केजीमुनि अर्मिला डिसीले भुटानी खेलाडीलाई ६–४ हराएर स्वर्ण जितिन् । ५५ केजीमुनि सपना लामाले स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई ३–२ पराजित गरिन् । ६१ केजीमुनि सुनीता महर्जनले बंगलादेशी खेलाडीलाई ४–० ले हराएर स्वर्ण कब्जा गरिन् । ६८ केजीमुनि स्वर्ण जित्ने क्रममा रिता कार्कीले भारतीय खेलाडीलाई ४–२ ले हराइन् । त्यस्तै, ६८ केजीमाथि कल्पना बस्नेतले भुटानी खेलाडीलाई ३–२ ले हराउँदै स्वर्ण चुमिन् ।
पुरुषको ५० केजीमुनि लक्ष्मण तामाङले भारतीय खेलाडीलाई ३–० ले हराएर स्वर्ण जिते । ६७ केजीमुनि स्वर्ण जित्ने क्रममा मन्डेकाजी श्रेष्ठले भुटानी खेलाडीलाई ६–२ ले हराए । ८४ केजीमुनि भीमबहादुर तामाङले भुटानी खेलाडीलाई ६–५ ले पाखा लगाउँदै स्वर्ण कब्जा गरे । प्रतियोगिताअन्तर्गत एकल कातामा दुई नेपाली खेलाडी सेमिफाइनलमा पुगेका छन् । पुरुषमा पुरुषोत्तम बाँस्तोला र महिलामा चञ्चला दनुवारले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । दुईदिने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटानसमेत गरी चार राष्ट्र सहभागी छन् ।

प्रतिक्रिया