बर्सेनि चार लाख नयाँ मुटुरोगी

mutuकाठमाडौं, १४ असोज । नेपालमा वर्षेनी चार लाख मुटु रोगी थपिने गरेको पाइएको छ । मुटु रोग दिवसको अवसरमा आइतबार ‘हार्ट टु हार्ट’ नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक तथ्यांकले मुटुरोगीको संख्या वर्षेनी बढ्दै गएको देखाएको हो ।

विश्व मुटु महासंघका अनुसार करिब ४० लाख नेपाली मुटु रोगबाट पीडित छन् । १० वर्षअघि सन् २००३ मा नेपालमा चार लाख नेपालीमा मात्रै मुटुको रोग थियो । महासंघले नेपालमा मुख्यत: उच्चरक्तचाप, कोरोनरी मुटुको रोग, वाथ मुटुको रोग र जन्मजात मुटुको रोग मुख्य समस्या रहेको जनाएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयष्कलाई उच्चरक्तचाप, २० प्रतिशतलाई कोलेस्टोरल, ६ प्रतिशतलाई मधुमेह र एक प्रतिशत नेपालीलाई वाथ मुटुको रोगको समस्या छ ।
सौखिन जीवनशैली, अस्वस्थ खानपान, शारीरिक अभ्यासको अभाव, मानसिक तनाव, मासु धेरै खाने बानी, सागसब्जी र फलफूल कम खानु, जंकफुड, चिल्लो, नुनिलो र गुलियो धेरै खाने बानीले मुटु रोगी बढिरहेको अध्ययनले देखाएको छ । ‘मुटु रोगबाट बच्न घरबाटै सुरु गरौँ’ भन्ने नारा मनाइएको दिवसमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले सौखिन जीवनशैलीमा परिवर्तन ल्याउन जनस्तरमा चेतना वृद्धि गरिनुपर्ने धारणा व्यक्त गरे ।
विश्वभर वर्षेनी एक करोड ७३ लाखभन्दा बढीको मृत्युको कारण बनेको मुटुरोगबाट जोगिन सन्देशमूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया