काव्य सम्मेलन सम्पन्न

धरान : धरानमा उत्सवमा ‘कविता र क्यानभास’ नामक अन्तरदेशीय काव्य सम्मेलन सम्पन्न भएको छ ।
कलरव धरानको आयोजनामा उक्त सम्मेलन सम्पन्न भएको हो । दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा त्रिभूवन विश्वविद्यालयका अंग्रेजी प्राध्यापक महेश पौड्यालले ‘आगतमा नेपाली कविताको बाटो’ शीर्षकको कार्यपत्र प्रस्तुत गरका थिए । कार्यपत्रमा मौलिक कृति अथवा भावना लेख्ने कविहरूलाई नयाँ शिराबाट अध्ययन गर्नुपर्ने सुझाव दिइएको थियो ।
सम्मेलनमा उनले हतारिएर कवि बन्ने सपना सजाउनुभन्दा पनि आफ्नो पहिचान दिनसक्ने कवित्त्वपूर्ण र गुणात्मक आसयका कविता सिर्जना गरी कविताको उन्नयन तर्फ लाग्नु पर्ने सुझाए । सकारात्मकभन्दा नकारात्मक प्रवृत्तिलाई समकालीन नेपाली कविताले बढी समेटने गरेकाले भाषिक सरलता कवितामा हहुनुपर्ने जिकिर गरे । कवितामा सरलताका नाममा सपाट वर्णनमात्र देखिनु, विचारको आधिक्यले कलापक्ष शिथिल हुँदै जानु, विद्युतीय र छापा माध्यमबाटसमेत स्तरहीन रचनाको प्रचारप्रसार हुनु, प्रयोगको अग्रहस्वरूप मानकलाई भत्काउने प्रयास गर्नु, राजनीतिक आग्रह बढी देखिनु समकालीन नेपाली कविताका नराम्रा पक्ष भएको उनले बताए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा भएको सम्मेलनमा काठमाडांै, पोखरा, चितवन, धरान र भारतको दार्जिलिङ, कालेम्पोङका गरी डेड सय साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा २०६९ सालको मदन पुरस्कार विजेता राजन मुकारुङले वाइट हाउसमा सम्मानित हुँदा शीर्षकको कविता वाचन गरेका थिए । सम्मेलनमा ४० जना कविहरूले कविता वाचन गरेका थिए । तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलन फ्यान क्लब अफ रमेश क्षितिज र विद्यार्थी कल्याण समाज, विपिकेआइएचएसको सहआयोजनामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन हेमन यात्रीले गरेका थिए ।

प्रतिक्रिया