दिने भए गास, बास र आँखा देऊ

Lila-Tharu--Bardiyaबर्दिया, १४ असोज । आफ्ना साथी विद्यालय जाँदा सोरहवा गाविस–३ मानकिनार गाउँकी १२ वर्षीया बालिका लीला थारू र ७ वर्षीय बालक राजु थारू भने आफ्ना दृष्टिविहीन आमाबुबालाई डोर्‍याएर गाउँमा माग्न जान्छन् ।

घर नजिकैको ज्ञानज्योति माविमा भर्ना भएका यी दुवै दिदीभाइ साथीहरू किताबको झोला बोकेर विद्यालय गइरहेकै बेला उनीहरू भने आफ्ना दृष्टिविहीन वृद्ध बुबाआमालाई डोर्‍याएर माग्न जाने गर्छन् । यस्तो उनीहरूको दैनिकी भएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण घरमा खाने खर्च जोहो गर्न लीला र राजु दैनिक आमाबाबुसंग गाउँ डुल्छन् । उनीहरू विद्यालय गएको दिन घरमा साँझ चुल्हो बल्दैन । त्यसैले रहरले भन्दा पनि करले नै उनीहरू गाउँमा भिख माग्न बाध्य छन् । ७ कट्ठा ऐलानी जग्गा र एउटा झोपडी मात्र भएको उनीहरूको परिवारमा बाबुआमा दृष्टिविहीन भएपछि दुवै दिदीभाइ विद्यालय जान छाडेर माग्न जान थालेका हुन् ।
राम्रोसँग ओत लाग्ने झोपडी पनि छैन उनीहरूको नत पूरा जीउ ढाक्ने कपडा नै छन् । बाआमा दुवै दृष्टिविहीन र कमजोर आर्थिक अवस्थाका कारण घरको सबै जिम्मेवारी सम्हालेकी १२ वर्षीय लीलाले भनिन्, ‘विद्यालय जाँदा घरमा चुल्हो नै बल्दैन । माग्न नगए भोकै परिन्छ ।’ मागेर दृष्टिविहीन बाबुआमा र दुइभाइको स्याहारसुसार गर्नुपर्छ लीलाले । उनले भनिन्, ‘पढ्न साह्रै मन लाग्छ, पढ्न जाउँकी माग्न ? भगवान्ले पनि हामीलाई नै ठगे । झरीपरेर माग्न निस्कन नपाउँदा कैयाँै दिन भोकै सुत्नुपरेको पीडा सुनाउँदै भनिन् । हामीलाई दुईछाक खाने गाँस, घामपानी छेक्ने घर र बाआमालाई आँखा दिए पुग्छ ।’
लीला र राजु दुवै स्थानीय विद्यालयमा २ र १ कक्षामा पढ्ने गर्छन् । लीलाका दृष्टिविहीन बुबा राजाराले भने, ‘स्कुल भर्ना त गरिदिएकै छु तर हामीलाई डोर्‍याएर माग्न नहिँडे साँझ बिहान सबै जना भोकै हुन्छौँ । लीलाका बुबा राजारामले आँखा देख्न छोडेको ६ वर्ष भयो भने आमा फुलकुमारी जन्मँदै दृष्टिविहीन हुन् । उनलाई डोर्‍याउने काम भने राजुले गर्छन् । राजु कक्षा एकमा पढ्ने भए पनि पढाइ छोडेर आमालाई गाउँतिर माग्न लैजानुपर्ने बाध्यता छ । ‘पढ्न त मन लाग्छ तर आमालाई माग्न नलगे खान पाइँदैन ।’ ७ वर्षीय राजु बताए ।
राजाराम र उनीकी पत्नी फुलकुमारी दृष्टिविहीन भए पनि हालसम्म उनीहरूको अपांगता परिचाय पत्रसम्म बनेको छैन । राज्यबाट पाउने कुनै पनि सेवा सुविधा नपाएका राजारामले आाफूलाई परिचय–पत्रको बारेमा हालसम्म थाहा नभएको र कसैले पनि परिचय पत्र बनाएमा सामाजिक सुरक्षा भक्ता पाइन्छ भन्ने कुरा नबताएको बताए । ‘जान पनि सक्तिन, कसैले भनेको पनि छैन ।’ उनले भने ।
पूर्णरूपमा दृष्टविहीन भए पनि अपांगता परिचय–पत्र नपाएका उनीहरूले आफूहरूलाई सहयोग गर्न कोही पनि नआएको बताए । जिल्लामा अपांगता भएका व्यक्तिको अधिकारका लागि काम गर्ने संस्था बर्दिया अपांग पुन:स्थापना केन्द्रका अध्यक्ष दलबहादुर सुनारले उनीहरूको अपांगता परिचाय–पत्र बनाउनका लागि तत्काल पहल गर्ने बताए ।

प्रतिक्रिया