सुरुङमार्गको आवश्यकता

एउटा मात्र त्यो पनि अत्यन्त घुमाउरो सडक प्रयोग गरेर अहिले काठमाडौं आवत–जावत गर्नुपर्छ । यदि, पृथ्वी राजमार्ग अवरुद्ध भएमा वैकल्पिक सडक निर्माण भएको छैन । र, त्यो समयमा काठमाडौं उपत्यकाको जनजीवन अस्तव्यस्त बन्न सक्छ । बिपी राजमार्ग र त्रिभुवन राजपथ विश्वासिलो बनेका छ्रैनन् । साथै, ती राजमार्गले यातायातका साधनको भार थेग्न सक्ने अवस्था पनि छैन । अहिले पूर्व जाने यातायातका साधन पश्चिमतर्फ घुमेर गन्तव्यतिर लाग्नुपर्ने अवस्था छ । यसले गर्दा इन्धनको खपत अत्यधिक भइरहेको छ भने लामो यात्राका कारण मानिसको समय त्यसै खेर जाने गरेको छ । वास्तवमा भन्ने हो भने नेपालको राजधानी एउटा सडक अवरुद्ध हुनासाथ अनकन्टार दुर्गम क्षेत्रमा परिणत हुने अवस्था छ । यिनै कारणले गर्दा थोरै समयमा छिटो गन्तव्यमा पुग्नका लागि वैकल्पिक मार्गको आवश्यकता परेको हो । अहिले सुुन्नमा आएको छ वैकल्पिक मार्गका रूपमा सुरुङमार्ग निर्माण गर्ने लक्ष्यसाथ निजी क्षेत्र अगाडि बढेको छ । यदि, नेपाल पूर्वाधार विकास कम्पनीले काठमाडौं –हेटौंडा सुरुङमार्गको थालनी गर्ने हो भने ठूलो जनमसर्थन प्राप्त गर्न सक्छन् । अब आउने २५ कात्तिकबाट निर्माण प्रक्रिया थालनी भएमा त्यसलाई सबै क्षेत्रले नैतिक समर्थन गर्ने देखिन्छ । तर, यो संस्थाप्रति लगानीकर्ताको विश्वास कति रहन्छ निर्माणकार्य त्यसैमा भर पर्छ । यसतर्फ भने सम्बन्धित सबै पक्षले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
निकै ठूलो पुँजी खर्च हुने यो सुरुङमार्ग निर्माणमा नेपाली जनताको नैतिक समर्थन रहे पनि आर्थिक सहयोग रहने सम्भावन न्यून छ । नेपाल पूर्वाधार विकास कम्पनीको साधारणसभाले कम्पनीको अधिकृत पँुजीसमेत बढाएर १८ अर्ब पुर्‍याए पनि निर्माणमा लाग्ने पुँजी कहाँबाट जुटाउने भन्ने विषय स्पष्ट भइसकेको पाइँदैन । जसले गर्दा निर्माण कम्पनीको क्षमताप्रति पूर्ण विश्वस्त हुने आधार अहिलेसम्म भेटिएको छैन । निर्माण सुरु हुनासाथ आत्मविश्वास बढ्ने र पँुजी संकलनले तीव्रता पाउने भनिए पनि आधार नभएका कारण पत्याइहाल्ने अवस्था देखिँदैन । परियोजना सन् २०१६ को डिसेम्बरमा पूरा गर्ने महत्त्वाकांक्षी लक्ष्य कम्पनीले लिएको देखिन्छ । यो लक्ष्य पूरा गर्न ऊसँग प्रशस्त सञ्चित पँुजी हुन जरुरी छ । जब कि कम्पनी आफैँले पँुजी संकलन चुनौतीपूर्ण रहेको स्विकारिरहेको अवस्था छ । वास्तवमा हतार गरेर निर्माण थाल्नुभन्दा पनि यति ठूलो परियोजना सुरु गर्नुअगावै पँुजी संकलनको काम गरिनुपर्छ । नेपालको हकमा सुरङमार्ग विकास कार्यको एउटा ठूलो फड्को हुने देखिन्छ । इन्धनको खपत निकै घट्नेछ भने यात्रुको समय पनि बचत हुनेछ । साँच्चै भन्ने हो भने यो सुरुङमार्ग निर्माणले काठमाडौं उपत्यकामा बस्ने जनतामा समेत परिवर्तन आउनेछ । सामानको मूल्य घट्नेछ भने इन्धनको रकम बचत हुनेछ । यातायातका साधनको पार्टपुर्जा र टायर खपतमा निकै कमी आउनेछ । यसरी सुरुङमार्ग निर्माणपछि धेरै कुरामा राहत मिल्ने निश्चित छ । यस मार्गलाई जनताको साथ–सहयोग पनि रहनेछ । तर, निर्माण प्रक्रिया थालनीअगावै कम्पनीको विश्वसनियता कायम गर्ने, पँुजी जुटाउने र लगानीकर्तासँग कुरा टुंग्याउने कार्य सक्नुपर्ने हुन्छ । अन्यथा सन् २०१६ सम्ममा होइन, ०२५ मा पनि सुरुङमार्गको काम सम्पन्न हुने छैन । साह्रै राम्रो, असल र ठूलो कार्य थालनी गर्नुअगावै सम्भावित समस्यामाथि गहन र गम्भीर रूपमा छलफल हुन जरुरी छ ।

प्रतिक्रिया