जबर्जस्ती निर्वाचन गर्न खोजिए मुलुकमा अर्को द्वन्द्व : वैद्य

Mohan-Baidhyaकाठमाडौ, १३ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफूलाई बाहिरै राखेर जबर्जस्ती संविधानसभाको निर्वाचन गर्न खोजिए मुलुकमा अर्को द्वन्द्व सिर्जना हुने चेतावनी दिएका छन् ।

कवयित्री सुशीला गिरीद्वारा लिखित ‘ज्वाला’ कविता संग्रहको शनिबार विमोचन गर्दै अध्यक्ष वैद्यले जनयुद्धको एक पक्षलाई पाखा राखेर गरिने निर्वाचनले शान्ति प्रक्रियामा पूर्णता नपाउने धारणा व्यक्त गरे । उनले उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलहरू, राष्ट्रपति र मन्त्रिपरिषद्का अध्यक्ष सबैले अहिलेको राजनीतिको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने सुझाब दिँदै उच्चस्तरीय राजनीतिक समितिमा आफ्नो निर्णयलाई पुनर्विचार गनसमेत आग्रह गरे । उनले हरेक पार्टीमा ३३ दलीय मोर्चालाई सहभागी गराएर निर्वाचनमा जानुपर्छ भन्ने धारणा भएको बताउँदै सहमतिबाटै समस्याको समाधान निकाल्न आग्रहसमेत गरे ।
त्यस्तै, कार्यक्रममा अध्यक्ष वैद्यले कवितामा शोषण, उत्पीडन, दमन तथा अन्यायको विरोध र मुक्तिका स्वरहरू सशक्तरूपमा आएको बताए ।
लेखक तथा साहित्यकारहरू नरेन्द्रजंग पिटर, प्रेम कैदी र खेम थपलियाले कविता संग्रहबारे टिप्पणी गर्दै नारी संवेदनादेखि राष्ट्रिय संवेदनासम्मका विषयलाई उत्कृष्ट ढंगले कवयित्री गिरीले कवितामार्फत प्रस्तुत गरेको धारणा राखे । कविता संग्रहकी लेखिका गिरीले बाल्यकालदेखि नै आफूले कविता लेख्ने गरेको बताइन् ।

प्रतिक्रिया