रेग्मीबारे एमाओवादीमा दुई धार

maobadiकाठमाडौं, १३ असोज । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउने विषयमा एमाओवादी नेताहरू दुई धारमा देखिएका छन् ।

नेता नारायणकाजी श्रेष्ठले रेग्मीलाई प्रधानन्यायाधीश पदबाट हटाएर मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई संविधानसभा चुनावमा ल्याउनुपर्ने भन्दै गृहकार्य थालेपछि एमाओवादीमा स्पष्ट दुई धार देखापरेको हो । श्रेष्ठले देशलाई द्वन्द्वबाट जोगाउन माओवादी नेतृत्वको मोर्चालाई पाखा लगाउन नहुने भन्दै थालेको अभियानमा डा. बाबुराम भट्टराई पक्षधर सकारात्मक देखिएका छन् भने अध्यक्ष पुष्पकमल दाहाल विपक्षमा उभिएका छन् ।
शनिबार साँझ दुई माओवादीका शीर्ष नेतृत्वबीच भएको भेटमा नेकपा–माओवादीले अहिलेको निर्णयमा एकपटक सोच्नुहोस् भन्दै सचेत गराएका थिए । जवाफमा दाहालले ४ मंसिरमै सहभागी हुन आग्रह गर्दै रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउन र चुनाव सार्न नसकिने बताएको माओवादी सचिव देव गुरुङले जानकारी दिए ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले पनि चुनाव सार्ने र रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गर्न लगाउने पार्टीको सोच नभएको स्पष्ट पार्दै श्रेष्ठको पहल पार्टीको आधिकारिक लाइन नभई व्यक्तिगत भएको प्रतिक्रिया दिए । पार्टी कार्यालय पेरिसडाँडामा नियमित पत्रकार सम्मेलनमा सापकोटाले वैद्य चुनावमा आउनुभन्दा पनि त्यसको बहानामा चुनाव भाड्ने खेलमै रहेको आरोप लगाए ।
नेता डा. भट्टराईले भने सामाजिक सञ्जालमार्फत यसअघि नै वैद्य माओवादी पनि चुनावको बाटोमा आएको भन्दै यसलाई सकारात्मक मान्नुपर्ने बताइसकेका छन् । यही बेला रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिँदा चुनावमा सबैको सहमति जुट्ने भए राजीनामा गराउनुपर्ने भन्दै श्रेष्ठले अन्य दलका नेताहरूसँग छलफल थालेका छन् ।
छलफलमा दाहालले चुनावमा आफ्नो असहमतिका बीच सेना परिचालन गर्ने निर्णय भएको पनि बताएका थिए । शनिबार साँझ भएको दुई माओवादीका शीर्ष नेताहरूको गोप्य भेटमा मोहन वैद्य नेतृत्वसँग यस्तो बताएका हुन् । एमाओवादी अध्यक्ष दाहाल, नेता डा. भट्टराई तथा माओवादी अध्यक्ष वैद्य र सचिव देव गुरुङबीचको भेटमा उनले सेना परिचालनको विषयमा आफ्नो पनि असहमति रहेको बताएको स्रोतको दाबी छ ।
बैठकपछि सौर्यसँग कुरा गर्दै माओवादी सचिव गुरुङले वार्ताको ढोका खुलै रहेकाले एकपटक निर्णयमा विचार गर्नुहोस् भनेर छलफल गरेको बताए । स्रोतका अनुसार भेटमा माओवादी नेताले दाहाललाई अब हामीविरुद्ध सेना लगाउने हो भनेर प्रश्न गरेका थिए । प्रतिउत्तरमा त्यसो होइन, अलिअलि सहयोग गर्नुहोस् भनेर भनेको मात्रै हो भनेका थिए ।

प्रतिक्रिया