‘प्रधानन्यायाधीशको राजीनामा प्रस्तावित छैन’

Narayankaji shrethaकाठमाडौं, १२ असोज । एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले ३३ दलीय मोर्चालाई चुनावमा सहभागी गराउन पहल थालेका छन् ।
नेता श्रेष्ठले ललितपुरस्थित आफ्नै निवासमा शुक्रबार बेलुका कांग्रेस, एमाले र ३३ दलीय मोर्चाका दोस्रो तहका नेताहरुसँग चुनावका विषयमा छलफल गरेका हुन् । ३३ दलीय मोर्चाका नेता मणि थापाका अनुसार नेकपा–माओवादीसहितको शक्तिलाई बाहिर राखेर गरिने चुनावको अर्थ नहुने बताए ।
नेकपा–माओवादीलाई पनि चुनावमा भाग लिने वातावरण बनाउन सकिन्छ की भनेर नेता श्रेष्ठले आफूहरुलाई बोलाएर छलफल गरेको उल्लेख गरे । ‘३३ दलीय मोर्चालाई बाहिर राखेर गरिने चुनावको औचित्य छैन, उनले भने, ‘ठूला दलका शीर्ष नेताहरु नै गम्भीर छैनन् ।’
नेता श्रेष्ठले वार्ताका लागि ३३ दलीय मोर्चाले पुन: वार्तामा बस्न ईच्छुक रहेको औपचारिक जानकारी गराउनुपर्ने प्रस्ताव गरेका थिए । मोर्चाको प्रस्ताव पछि मात्रै सरकार उच्चस्तरीय राजनीतिक समितिले वार्ता आह्वान गर्ने सहमति भएको थापाले उल्लेख गरे ।
मोर्चाले अघि सारेका मागका विषयमा राजनीतिक समितिमा गम्भीर छलफल नै नभएको निष्कर्ष पनि दोस्रो तहका नेताहरुले निकालेका छन् । ‘प्रधानन्यायाधीश पदबाट राजीनामा दिने प्रस्ताव शीर्ष नेताहरुले खिलराज रेग्मीसँग गरेका छैनन्,’ नेता श्रेष्ठको भनाई उदृत गर्दै थापाले भने, ‘राजनीतिक समितिले प्रस्ताव गर्ने हो भने रेग्मीले मान्न सक्छन् ।’
३३ दलीय मोर्चाले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने र चुनावको मिति सार्न प्रस्ताव गरेको छ । सो प्रस्तावलाई समितिमा रहेका दलका शीर्ष नेताहरुले अध्यक्ष रेग्मीसँग छलफल नै गरेका छैनन् ।
छलफलमा एमाओवादी नेता श्रेष्ठ, कांग्रेसबाट प्रदीप गिरी, एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, ३३ दलीय मोर्चाबाट थापा, पासाङ शेर्पा, खग्रेन्द्र माखिम र प्रकाश अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया