त्यो धुम्म परेको दिन

Santosh-Regmiमंसिरको एक दिन । मौसम उति सफा छैन । धुम्म परेको छ । काठमाडौंको एउटा घरको छतमा बसिरहेकी प्रविनाको अनुहार पनि चम्किलो छैन । रंग उडेजस्तो फुंग उनको अनुहार । हिजो देखेको जो कसैले आज उनलाई देखेमा अचम्म मान्नै पर्ने थियो । आज अनुहारमा निकै परिवर्तन आएको महसुस उनले पनि गरेकी छन् । सायद मौसमको प्रभाव हुन सक्छ ।
उनको अनुहारमा एक प्रकारको बेचैनी देखिएको छ । उनी यताउति गर्छिन्, टोलाउँछिन् । केही हराएर खोजेकोजस्तो गर्छिन, फेरि टोलाउँछिन् । बारम्बार दोहोरिने एकैखालको क्रियाकलापले उनको मनमा ठूलै भुटभुटी चलेको छ भन्ने बुझ्न कठिन थिएन । एकैछिन पछि उनी पुरानो स्मृतितिर फर्किइन् । सायद विस्मृतितिर ।
केही वर्षअघिको मंसिर । पश्चिम नेपालको प्रमुख नगरी नेपालगञ्जमा पार्टीले खटाएको काममा व्यस्त थिइन प्रविना कुँवर । उनको पार्टीले चलाएको कारबाही चरममा थियो । पुरानो राज्यसत्ताका अवशेषसमेत नष्ट गर्ने अभियानमा उनी सम्मिलित भएकी थिइन् । पार्टीमा कमरेड नमूना उपनाम पाएकी उनले निकै चतुराईपूर्ण ढंगले कारबाही सम्पन्न गर्ने कार्यकर्ताको रूपमा छवि बनाएकी थिइन् । उनी आफैँ बन्दुक पनि चलाउँथिन् । त्यसैले उनलाई त्यही प्रकारको जिम्मेवारीहरू दिइन्थ्यो । समाजको अन्यायपूर्ण संरचनामा बाँच्न विवश गरिब, पहुँचबाट टाढा रहेका समुदायलाई पुरानो भत्काउँदै समान र न्यायपूर्ण संरचना स्थापना गर्ने, गरिबहरूलाई सम्पन्न, धनी बनाउनेजस्ता विभिन्न सपना देखाएर पार्टीमा आकर्षित गर्ने काममा पनि प्रविना निकै खट्थिन् । उनी आफू त्यही सपना पूरा गर्न पार्टीमा लागेकाले पनि उनको बोलीमा दम थियो । बोलेको कुरा पुर्‍याइ छाड्ने दृढता झल्किन्थ्यो, जसले गर्दा पार्टीमा प्रवेश गर्नेहरू पनि निकै थिए ।
आजको जस्तै दिन । घाम छैन । हुस्सु र शीतलहरले ड्याम्म ढाकेको छ । माओवादी गतिविधिका कारण भन्दै नेपालगञ्जमा स्थानीय प्रशासनले दिउँसैदेखि कफ्र्यु लगाएको आज सात दिन भइसकेको छ । मानिसहरूको जनजीवन कष्टप्रद बनिरहेको छ । उसै त छोटो दिन त्योमाथि दिउँसैदेखि कर्फ्यु । कर्फ्यु सुरु नहुँदै घर पुग्न मानिसहरू निकै हतारो गरिरहेका हुन्छन् । त्रासपूर्ण वातावरण छ । सेना, प्रहरी, प्रशासन र सीमित मानिसलाई कफर््यु पास दिइएको छ । नेपालगञ्ज–गुलरिया सडकको खजुरा खण्डमा असई शशी भण्डारीको कमान्डमा प्रहरी टोली सुरक्षार्थ तैनाथ छ । भोलिदेखि माओवादीले गर्ने साताव्यापी नेपाल बन्दको पूर्वसन्ध्यामा आवतजावत गर्ने सवारी साधनको चाप निकै नै छ । सम्भावित माओवादी गतिविधिलाई रोक्ने उद्देश्यले होला चेकजाँच तीव्र छ । मोटरसाइकल र साइकलवालाहरूलाई झरेर डोर्‍याउँदै सुरक्षा केन्द्र पार गर्नु पर्ने व्यवस्था मिलाइएको छ । त्यसलाई अधिकांश मानिस अनावश्यक तनावका रूपमा लिन्थे तर बोली भने कसैको फुट्तैनथ्यो ।
सोही बाटो भएर एउटा मोटरसाइकलअगाडि आयो । एउटी स्त्री मोटरसाइकल हाक्दै थिइन् । उनी प्रविना थिइन् । पछाडि एउटा केटामान्छे बसेको थियो । मोटरसाइकल असई भण्डारीको अगाडि आएर रोकियो । भण्डारी र प्रविनाबीच भलाकुसारी भयो । लाग्थ्यो उनीहरूबीच निकै गहिरो सम्बन्ध थियो । त्यसैले होला अरूलाई जस्तो उनलाई ओर्लेर मोटरसाइकल डोर्‍याउन परेन । भलाकुसारी सकाएर मोटरसाइकल हाक्दै गर्दा प्रविनाको मुखबाट आवाज निस्कियो यी सबैको चेकजाँच चाहिँ कडै गर्नुस् है, शशीजी । कसको निधारमा लेखेको हुन्छ र… ।’
त्यो दिन बुधबार थियो सायद । झमक्क साँझ परिसकेपछि सबैतिर हल्ला भयो । खजुरा सडकमा रहेको प्रहरी सुरक्षा पोस्टमा माओवादीले आक्रमण गरेछन् । असई भण्डारीसहित पाँच प्रहरी मारिएछन् । हल्लासँगै सेना र प्रहरीका गाडीको आवतजावतमा आएको वृद्धिले घटनाको पुष्टि गरिरहेको थियो ।
प्रविनाले डायरीमा लेखिन् आज पाँच जना शाही जल्लादको सफाया गरियो । हाम्रो क्रान्ति छिटै सफल हुनेछ…।’
प्रविना दैनिक डायरी लेख्छिन् । उनको डायरीमा शाही जल्लादहरूको सफाया भनी लेखिएको यो पहिलोपटक होइन । कैयौँ शाही जल्लाद’ उनको सिकार भइसकेका छन् । सुराकीका आरोपमा अन्य दलका नेता, कार्यकर्ता, केही शिक्षक र पत्रकार पनि उनको हातबाट मारिएका छन् । उनलाई त्यो पनि थाहा छ ‘कुकुरलाई हान्दा ढुकुरलाई’ भनेझैं कतिपय बेला झुक्किएर लिस्टमै नभएकाहरू पनि मारिएका छन् । ती सबैको हत्याको घटना उनको डायरीमा विजय वा उन्मादपूर्ण अवस्थाका रूपमा लेखिएका छन् । तर, आज लेखेको डायरीको केही अंश अलि फरक छ । उनले लेखेकी छन् मैले नै चलाएको गोलीबाट शशी पनि मारियो । वास्तवमा उ निकै असल मान्छे थियो । बर्दियाको जमुनीमा कक्षा ८ पढ्नेताकादेखि नै उसले मलाई निकै सहयोग गथ्र्यो । १० मा पुग्दा त उप्रति ममा माया पलाएको थियो । उ पनि मलाई माया दर्शाउथ्यो तर हामी दुवैले मुख खोल्न सकेनौँ । आज घटना गराउनुअघि मलाई चेकजाँच नगर्नु, मोटरसाइकल चलाएरै जान दिनु सायद उसको त्यही माया/आत्मियता थियो होला । उसले त्यसो नगरिदिएको भए म र मेरो साथी पक्राउ पर्न पनि सक्थ्यौँ । पाँच जनालाई मेसै लगाएर ढाल्न कहाँ सम्भव हुन्थ्यो र …। एसएलसीपछि म मामाघर जान्छु भनी भूमिगत भएँ । उ नेपालगञ्जमा आइए पास गरी भर्खरै असई भएको रहेछ । उसँग आजै भेट भएको थियो । विचरा जीवन काका, सपना काकी, बिहे भएको भए श्रीमती, छोराछोरी ….बुढेस कालको सहारा एउटा मात्र छोरो गुमाउनु पर्दा …। तर, के गर्नु ? क्रान्ति सफल पार्ने महान लक्ष्य बोकेर हिँड्दा भावनामा बग्नु भएन । जिम्मेवारी निर्वाह गर्नै पर्ने ।’
भोलिपल्टको पत्रिकामा एक महिनाको काखेनानी बोकेर भक्कानिएकी शशीकी श्रीमती, बूढा बा, ख्याउटी आमाको तस्बिरसहितको उक्त घटनाको हृदयविदारक समाचार छापिएको हेरेर फेरि उनले नराम्रो मानेकी थिइन् ।
दिनहरू बदलिए । माओवादी शान्तिपूर्ण बाटोमा आयो । अरू दलहरूसँग मिलेर जनआन्दोलनमा सहभागिता जनायो । राजतन्त्र समाप्ति र गणतन्त्रको स्थापना भयो । संविधानसभाको निर्वाचनमा सहभागी भै ठूलो दलका रूपमा उसले सरकारको नेतृत्व गरिरहेको छ । करिब तीन वर्षयता प्रविना पनि संविधानसभाको सदस्य छिन् । तर, अरू खासै परिवर्तन भएको छैन । गरिब र धनीबीचको खाडल झन् बढ्दै गएको छ । भ्रष्टाचार, महंगी चुलिँदो छ । बेरोजगारी समस्याले आकाश छुन थालिसकेको छ । सर्वत्र असमानता व्याप्त छ । गरिबलाई देखाएको सपनाको छटपटी छ । भएका सन्तान पनि राज्य र विद्रोही पक्षमा विभाजित भएर मारिएपछि बूढाबूढी, विधवा, टुहुराहरूको बिचल्ली हेरिनसक्नु छ ।
तत्कालीन समयमा दलाल, सामन्त, पुँजीवादी भनेका धेरैजसो व्यक्ति आफ्नै दलमा नेता, ठेकेदार भएका छन् । प्रविना अत्तिएकी छिन्, छटपटिएकी छिन् । सायद आफूले विगतमा गरेको कार्य वा क्रान्तिको बाटो ठीक थियो/थिएन ठम्याउन नसकेकाले होला ।
उनी शशीलाई सम्झन्छिन् । अहिलेसम्म उ इनिस्पेक्टर त हुन्थ्यो होला । जीवन काका छोरा इनिस्पेक्टर भएको देख्न पाउँदा कति दंग हुन्थे होला । काकीले मेलापातमा छोराको चर्चा चलाउँथिन होला । छोराछोरी हाम्रा नेताका छोराछोरीजस्तै राम्रो स्कुलमा पढ्थे होलान् । विचरी विधवा के गर्दै होलिन् ? आदि आदि । आफ्ना गोलीका सिकार भएका शिक्षकले कति विद्यार्थीलाई शिक्षित बनाउँथे ? ती पत्रकारले जनसूचनामा कति भूमिका खेल्थे ? नेता कार्यकर्ताले मुलुकको हितमा केही भूमिका खेल्थे कि वा उनीहरूको परिवारमा अहिले के बितेको होला भन्नेबारे पनि उनले मनमा कुरा खेलाउन थालिन् । अपरिचित उनीहरूको तस्बिर पनि उनको आँखामा घुम्न थाल्यो । आजभन्दा पहिला यस्तो किन भएन वा आज किन यसो भइरहेको छ उनले सोच्न भ्याइनन् ।
आज खै किन प्रविना तिनै घटनाबारे सोचिरहेकी छिन् । यताउती गरिरहेकी छन् । मंसिरको महिना अनि त्यस्तै मौसमको संयोगले याद दिलाएको हो कि । उनको मनमा भुटभुटी छ
‘आज किन उदास हुनुहुन्छ ? के भयो ?’ पिए बनेको दाइको छोरा समीरको बोलीले प्रविना झस्किइन्, उनलाई त्यो समीर हो भन्ने ख्याल भयो वा भएन । तर, उनी बर्बराइन शशीको आत्माले मलाई के भन्यो होला । जीवन काका, काकी, उनका लालाबाला, त्यो शिक्षक, त्यो पत्रकार…’ उनी बर्बराइ रहिन…..। समीरले कुरो केही बुझेन ।
समीरले खल्तीको मोबाइल फोन झिक्यो । डायल गर्‍यो र भन्यो, ‘हेलो ..डाक्टर विजय हुनुहुन्छ ।’

प्रतिक्रिया