राप्रपा नेपालको चुनावी कार्यक्रम

Kamal Thapaकाठमाडौं, १२ असोज । राप्रपा नेपालले संविधानसभाको दोस्रो चुनावका लागि घोषणापत्र तयार पारेको छ । राष्ट्रप्रमुखका रूपमा संवैधानिक राजसंस्था र कार्यकारी प्रमुखका रूपमा बालिग मताधिकारका आधारमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरूपसहितको चुनावी घोषणापत्र उक्त पार्टीले सार्वजनिक गरेको छ ।

राजधानीमा शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै उक्त पार्टीले सकारात्मक परिवर्तनलाई मुख्य नाराका रूपमा अघि सारिएको जानकारी दियो । उसले कहिले पनि नेपाल बन्द नगर्ने विषयलाई प्राथमिकताका साथ घोषणापत्रमा समेटेको छ । त्यस्तै, पाँच वर्षभित्र देशलाई लोडसेडिङ मुक्त बनाउनुका साथै अवैध सम्पत्तीलाई उच्चस्तरीय सम्पत्ति छानबिन आयोग बनाएर जफत गरिने पनि घोषणापत्रमा उल्लेख छ ।
उसले २ सय ७ सदस्यीय जनप्रतिनिधिसभा र ६० सदस्यीय राष्ट्रियसभा हुने दुई सदनात्मक व्यवस्थापिका–संसद्को प्रस्ताव गरेको छ । देशलाई समानता एवं पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र बनाउनुपर्ने पनि प्रस्ताव गरेको छ । उसले पार्टी अध्यक्ष कमल थापालाई भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेको छ ।
चुनावका लागि उक्त पार्टीले प्रत्यक्षतर्फ १ सय ९६ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष थापा र शीर्ष नेताको उम्मेदवारी खुलाइएको छैन । पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङ स्याङ्जा क्षेत्र नम्बर १, उपाध्यक्ष राजीव पराजुली पर्सा २, सहअध्यक्ष पदमसुन्दर लावती पाँचथर २, सहायक महामन्त्री बाबुकाजी प्रधान ललितपुर ३, गायिका मीरा राणा काठमाडौं ३, संगीतकार सञ्जय श्रेष्ठ काठमाडौं ६, चलचित्रकर्मी उद्धव पौडेल काठमाडौं ४ र अधिवक्ता भरत जंगम काठमाडौं १ बाट चुनाव लड्ने राप्रपा नेपालले जनाएको छ ।

प्रतिक्रिया