बाजुरालाई खुला दिसामुक्त बनाउन जुटे महिला

Sauchalaya-Bajuraबाजुरा, १२ असोज । जुकोट गाविसका महिला यतिबेला शौचालय निर्माण अभियानमा सक्रिय देखिएका छन् । बाजुरालाई सन् २०१५ मा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको छ । खुला दिसा–पिसाबका कारण लाग्ने सरुवा रोगबाट बच्न भन्दै जुकोटका स्थानीय महिला शौचालय निर्माण अभियानमा सक्रिय देखिएका हुन् ।

गाउँमा गठन भएका आमा समूह, महिला अधिकार मञ्च, महिला सशक्तीकरण सञ्जालमा आबद्ध महिलाले ‘घरघरमा चर्पी, सफा राखौँ धर्ती’ भन्ने नाराका साथ चर्पी निर्माण अभियानमा जुटेको स्थानीय लोविना शाहीले बताएकी छन् । उनीहरूले समूह सञ्जाल गठन गर्दा सञ्चालन गरेका कोषको रकमबाट प्यान, पाइप र सिमेन्ट किनेर शौचालय निर्माण गर्न थालेका छन् । चर्पी निर्माण अभियानले जुकोट गाविस वडा नं.१,२, ५, ६ र ८ मा बढी वयापकता पाएको छ । उनीहरूलाई घरको भन्दा बढी चटारो शौचालय निर्माणको परेको छ । चुल्होचौको र घरपरिवारको काममा मात्र सीमित हुने महिला अहिले आफैँ घरघरमा चर्पी निर्माणमा लागेपछि पुरुषले पनि साथ दिने गरेको जुकोट महिला अधिकार मञ्चका अध्यक्ष ईश्वरी शाहीले बताइन् । बाजुरा जिल्ला सबभन्दा कम चर्पी भएको तथ्यांक सार्वजनिक भइरहदा जुकोटका महिला भने एक घर एक चर्पी निर्माणमा जुटेका छन् । उनीहरू बिहान ४ बजे उठेर चर्पी निर्माणका लागि ढुङ्गा बोक्ने गरेका छन् । अभियानले जुकोट गाविस वडा नं. १,२ ,५, ६ र ८ मा मात्र ४ सय भन्दा बढी चर्पी निर्माण भइसकेको गाँउ दलित नेटवर्क जुकोटका अध्यक्ष जसी कडाराले बताए । गाँउ दलित नेटवर्क जुकोटले दलित बस्तीमा चर्पी निर्माणका लागि २ लाख रकम विनियोजन समेत गरेको जनाइएको छ । दलितबस्तीमा जनचेतना कमीका कारण स्थानीय खोला, खोल्सा र जंगलमा दिसा गर्ने गरेका थिए, जसको कारण पनि चर्पी निर्माणका लागि सञ्चालन गरेका विभिन्न प्रयास जिल्लामा असफल भएका थिए । जिल्लामा हाल १२ वटा गाविस खुलादिसा मुक्त घोसणा भई सकेको सेबक नेपाल गिप्ट बाजुराका तेज राजपाध्याले बताए । बाँकीले खोला र जंगलमा मात्र दिसापिसाब गर्ने गरेको जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजनको तथ्यांकमा उल्लेख गरिएको छ । यतिखेर बाजुरावासी दिन रात शौचालय निर्माण अभियानमा जुटिरहेका छन् ।

प्रतिक्रिया