चलचित्र ‘पिरेम पर्‍या छन्’को निर्माण पूरा

pirim-praya-chhaकलाकार पुरन थापा क्षेत्रीलाई नचिन्ने सायदै होलान् । हास्यकलाकारका रूपमा सानो पर्दामा निकै नै चलेका क्षेत्रीले ठूलो पर्दाका चलचित्रको निर्देशनमा समेत हात हालेर आफ्नो परिचय बदलेका छन् । उसो त उनले सानो पर्दाका टेलिसिरियल निर्देशन गरिसकेका छन् । हास्यकलाकारका रूपमा स्थापित क्षेत्रीले चलचित्र ‘पिरेम पर्‍या छन्’ को निर्देशन गरेका हुन् । उक्त चलचित्रको निर्माण कार्य सम्पन्न भएको चलचित्र निर्माण पक्षले जनाएको छ । चलचित्र आगामी मंसिर २८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
मेरी बास्सै, जीवनचक्र, झ्याँईकुटी झ्याँईलगायत दर्जनभन्दा बढीका सानो पर्दाका चलचित्रमा अभिनय गरेका थापाको निर्देशनमा निर्माण भएको यो पहिलो चलचित्र हो । ‘पिरेम पर्‍या छन’् विशुद्ध नेपाली विषयवस्तुलाई कमेडीमा ढालेर निर्माण गरिएको चलचित्र हो । दिलीप रायमाझी, जय किसन बस्नेत, शोभित बस्नेत, राजाराम पौडेल, रमेश बुढाथोकी, सुभाष मेचे, लय संग्रौला, मुकुन्द किशोर भट्टराई, सुरवीर पण्डित, शुभेच्छा थापाका साथमा नयाँ प्रस्तुति चाँदनी र उमा कार्कीको अभिनय चलचित्रमा रहेको छ ।
अहिले नयाँ चलचित्र ‘कान्छी मट्याङ ट्याङ’ को तयारीमा रहेका निर्देशक थापाले चलचित्र पिरेम पर्‍या छन् विशुद्ध कमेडी चलचित्र रहेको बताए । उनले भने, ‘अहिले चलचित्रको नाममा छाडापन भित्रिएको छ । तर मैले चलचित्रमा पूर्ण पारिवारिक विषयवस्तु समेटेको छु ।’
लय संग्रौला, पुरन थापाको गीत, सुरेश चौधरीको नृत्य रहेको यस चलचित्रको संगीत विकास चौधरीले दिएका छन् । अञ्जु निरौला र रेनु थापाको संयुक्त कार्यकारी निर्माणमा निर्मित यस चलचित्रको प्रस्तुतकर्ता निर्देशक थापा आफैँ रहेका छन् । (सौस)

प्रतिक्रिया